खेल


लुम्बिनीविरुद्ध जनकपुर १ रनले विजयी

चौथो जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो, संकटमा लुम्बिनी
लुम्बिनीविरुद्ध जनकपुर १ रनले विजयी

लक्ष्मी जि.सी
मंसिर २३, २०८१ आइतबार १२:१२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको छ। 

नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ। 

एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ। 

एनपीएलको चार खेल खेल्दा जित विहिन हुने लुम्बिनी एक्लो टोली हो। लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ। बाँकीका तीन खेलमा जित निकालेपनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ। 

यता लगातार चौथो जित दर्ता गरेको जनकपुरको भने प्ले अफ सम्भावना बलियो बनेको छ। ४ खेलबाट ८ अंक जोडेको जनकपुर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ। 

आइतबारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गर्दै लगातार चौथो जित निकालेको हो।
 
जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो। 

अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो। 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो। ३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाएका रोहित हर्ष ठाकेरको बलमा जेम्स निसमको हातबाट क्याच आउट भए। 

टोम मोरिसले ३१ रन थपे। अर्जुन साउद २० रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए। 

लुम्बिनीलाई रोक्न जनकपुरका हर्ष ठाकेरले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २३ रन दिए। किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरलेक निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो। 

अघिल्ला तीन खेलमा कमजोर बलिङ र फिल्डिङका कारण हार भोगेको लुम्बिनीले तेस्रो खेलमा खराब ब्याटिङका कारण लय गुमाएको थियो। तर एनपीएलको चौथो खेलमा आएर केही हदसम्म लुम्बिनीको बलिङ देख्न पाइएको छ। एनपीएलमा लुम्बिनीले पहिलो पटक विपक्षीको ९ विकेट लिएको हो। तर फिल्डिङमा देखिएको समस्या भने खासै सुधार हुन सकेको छैन। 

एनपीएलमा डेब्यु खेल खेलिरहेका अविशेष गौतमले १३ औँ ओभरमा लगातार तीन विकेट लिर्दै लुम्बिनीलाई ठुलो राहत दिए। अविशेषले १३ औँ ओभरको दोस्रो बलमा २४ रन बनाएका लाहिरु मिलान्थलाई विकेट किपर अर्जुन साउदको हातबाट आउट गराए। सोही ओभरको चौथो बलमा हर्ष ठाकेरलाई १ रन बनाउँदा दुर्गेस गुप्ताको हातबाट क्याच आउट गराए। 

ओभरको अन्तिम बलमा जेम्स निसमलाई पनि विकेट किपरको हातबाट आउट गराउँदै लुम्बिनीलाई राहत दिएका थिए। पाचौँ ओभरमा बलिङमा आएका अविशेषले आफ्नो पहिलो ओभरमा नै १३ रन खान पुगे। पुरै चार ओभर बलिङ गरेका अविशेषले २० रन दिए। 

कप्तान रोहित पौडेल र सादविन जफरले समान दुई विकेट झारे। सन्दीप जोराले एक विकेट आफ्नो नाममा गरे। 

जनकपुरले पहिलो विकेटका रुपमा छैटौँ ओभरको तेस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। १० बलमा २ चौका र १ छक्का हानेका आशिफ १६ रन बनाउँदा साद विन जफरको बलमा विवेक यादवको हातबाट क्याच आउट हुन पुगे। 

कप्तान अनिल शाह ४५ रन बनाउँदा सन्दीप जोराको बलमा विवेक यादवको हातबाट क्याच आउट भए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए। 

कप्तान रोहितले १६ औँ ओभरको दोस्रो बलमा मोहम्मद मोहसिनले ३ र चौथो बलमा शेर मल्ललाई शुन्य रनमा नै एलबीडब्लु धरापमा पारेका थिए। 
शुभ कंसाकार २२ रनमा नटआउट रहे।

लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेटेल पराजित भएको थियो। 

दोस्रो खेलमा पोखरासँग १० विकेटले तथा तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो।

यता जनकपुरले भने पहिलो खेलमा विराटनगरलाई ८ विकेटले तथा दोस्रो खेलमा कर्णाली याक्सलाई ५ विकेटले हराएको थियो। 

तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad