खेल


‘दसौँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा’

‘दसौँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा’

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १५:४७, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन्।

पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मंसिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए। उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए।

‘खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन सकेन। अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ,’ मन्त्री चौधरीले भने।

पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उनको भनाइ थियो।

नेपालमा सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले उल्लेख गरे।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको थियो। आइसीसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो।

पोखरामा खेलकुदको धेरै सम्भावना रहेको र खेल पूर्वाधार समेत अन्यत्र भन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने मन्त्री चौधरीको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad