हङकङमा चिल्ने, डस्ने कीराहरूको आक्रमणपछि एक पैदल यात्रीको मृत्यु भएको छ।
हङकङको ताइ पो क्षेत्रमा चार जना हाइकर्सलाई डस्ने कीराहरूले आक्रमण गरेपछि ६३ वर्षीय ती व्यक्तिको मृत्यु भएको हो।
दुई पुरुष, दुई महिला गरी चार जना हाइकर्स मंगलबार अपराह्न ४ बजे तिर विल्सन ट्रेलको पात सिन लेङ क्षेत्रमा हाइकिङ गरिरहेका थिए। त्यही बेला उनीहरूलाई उड्ने कीराहरूले आक्रमण गरे।
समूहले तत्कालै आश्रय खोज्दै त्यस ठाउँबाट भागे।
ती समूहकी एक महिलाले, जसलाई टाउकोमा डसिएको थियो, प्रहरीलाई खबर गर्दै आफूहरूलाई मौरीजस्तै कीराले आक्रमण गरेको जानकारी दिइन्।
उद्धारकर्ताहरूले समूहका तीन जनालाई लाई पेक सान नजिकै भेट्टाए र हराइरहेका चौथो व्यक्तिको खोजी थाले। हराएका ती पुरुष करिब चार घण्टापछि फेला परे, तर त्यसबेला उनी बेहोस थिए।
६३ वर्षीय ती व्यक्ति हेलिकप्टरमार्फत चाई वानस्थित पामेला युदे नेथरसोल इस्टर्न अस्पताल पुर्याइए, जहाँ उनलाई चिकित्सकले मृत घोषित गरे।
Shares

प्रतिक्रिया