खेल


नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १६:१२, नेपालगञ्ज

आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन्।

लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो र सिम्रिक रातो रङ्ग समेटिएको छ।

फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागिता रहनेछ।

महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन्।

लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुने उनले बताए।

आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्ने प्रतिवद्धता जाहेर गर्दै पश्चिम नेपालको गौरवको रुपमा सुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यको लागि शाहले अपिल गरेका छन्।

अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए।

प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उनले स्पष्ट पारे।

नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताइन्।

उनले भनिन्, ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो। यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ। देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ।’

नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई  सफलताको शुभकामना दिएकी छन्।

उनले भनिन्,  ‘नेपालमा महिला फुटबल सुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ’ कप्तान सिंहले थपिन्, ‘यसले निरन्तरता पाओस्। सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad