खेल


काठमाडौँ महानगरले सानो गौचरनमा बनाउन थाल्यो १५ सय दर्शक क्षमताको रंगशाला

काठमाडौँ महानगरले सानो गौचरनमा बनाउन थाल्यो १५ सय दर्शक क्षमताको रंगशाला

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको चित्र


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार २२:१७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सानो गौचरन रंगशाला पुनःनिर्माण थालनी गरेको छ।

महानगर उपप्रमुख सुनिता डंगोलले बिहीबार रंगशाला पुनःनिर्माणको शिलान्यास गरेकी छन्। 

२२ करोड ९५ लाख ९३ हजार ९९९ रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिस्पर्धाको प्रक्रियाबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पाएको छ। 

पुनःनिर्माणको शिलान्यास गर्दै उपप्रमुख डंगोलले महानगरपालिकाले सन्तुलित विकासका लागि खेल पूर्वाधारमा लगानी बढाइएको बताइन्।उनले भनिन्, ‘सन्तुलित विकासका लागि भौतिक निर्माणका साथै आर्थिक र सामाजिक विकास पनि सँगै लैजानुपर्छ। यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ।’

विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यस प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने विश्वास व्यक्त गरिन्। 

रंगशाला पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिको धारणा थियो। ‘टोलहरू र चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ। यहाँ व्यवस्थित फुटबल ग्राउन्ड निर्माण हुन्छ। भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ।’

रंगशालाको ड्रइङ्, डिजाइन र लागत अनुमान महानगरपालिकाकै सहरी योजना आयोगले तयार पारेको हो। यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो। 

रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दाम क्षेत्रफलमा निर्माण हुनेछ। यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ। 

रंगशालामा ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदान हुनेछ। मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ। वरिपरि सीमा पर्खाल हुनेछ। यसमा २८ वटा चारपांग्रे र १७८ वटा २ पांग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ।

भुईं तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन्। पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन्। 

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन्। 

महानगरपालिकाले २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो। यसबाट १६ वटा आवेदकले प्रस्ताव पेस गरेका थिए। 

छनोट भएको निर्माण पक्षलाई कात्तिक २५ गते कार्यादेश दिइएको छ। यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad