खेल


नेपाल प्रिमियर लिग :  चर्चित विदेशी अनुहारदेखि बदलिएको त्रिवि मैदानसम्म

‘प्लेयर अफ दि सिरिज’ले पाउनेछ कार
नेपाल प्रिमियर लिग :  चर्चित विदेशी अनुहारदेखि बदलिएको त्रिवि मैदानसम्म

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १२:२४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) १५ गतेदेखि सुरु हुँदै छ। एनपीएलको मिति नजिकिँदै गर्दा यसको तयारी पनि तीव्र रुपमा भइरहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) आफैँले आयोजना गर्न लागेको लिगमा सहभागी ८ फ्रेन्चाइज टोलीले टिममा विदेशी खेलाडी अनुबन्ध गरेसँगै तयारीलाई पनि अन्तिम रुप दिइरहेका छन्। 

घरेलु मैदानमा पहिलोपटक हुनलागेको एनपीएलमा विश्व क्रिकेटमा तहल्का मच्चाएका ठूला नामहरु आउँदै छन्। 

लिगको मिति नजिकिँदै जाँदा विदेशी खेलाडीहरु आउने क्रम पनि जारी छ। 

नेपाली क्रिकेट आईसीसीको नियन्त्रणमा हुँदा घरेलु मैदानमा हुँदै आएका एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग क्यानमा नयाँ नेतृत्व आएपछि पूर्णरुपमा बन्द भए। 

यसअघि नेपाल क्रिकेट संघ (क्यान) आफैँले लिग सञ्चालन गर्ने भनेर नेपाल टी–२० लिग आयोजना गरेको थियो। तर क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिग स्पट फिक्सिङदेखि खेलाडी र पुरस्कार रकम समेत नदिएपछि विवादको भुमरीमा फसेको थियो। 

पछि क्यान नेतृत्वले पत्रकार सम्मेलन गर्दै नेपाल टी–२० लिगको जिम्मा भारतीय कम्पनीलाई दिनु आफूहरुको गल्ती भएको स्वीकार समेत गरेको थियो। अघिल्लोपटक नेपाल टी–२० लिगमा भएका कमजोरीबाट पाठ सिक्दै क्यानले यो पटक एनपीएललाई सफल बनाउन लागिपरेको छ।

चर्चित विदेशी अनुहार
एनपीएलका फ्रेन्चाइज टोलीलाई क्यानले एक टोलीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न दिएको छ। तर मैदानमा भने चार विदेशी खेलाडी मात्र उतार्न पाइने प्रावधान राखेको छ।

त्यसैले पनि नाम चलेका विदेशी खेलाडी अनुबन्ध गर्न ८ टोलीको होडबाजी नै चलेको थियो।

परिणामतः एसोसियट क्रिकेटका बादशाहदेखि विश्वक्रिकेटमा चर्चा पाएका खेलाडीसम्मलाई यो पटक घरेलु मैदानमा नै नेपाली समर्थकले देख्न पाउने भएका छन्। 

एनपीएलमा भारतका चर्चित खेलाडी शिखर धवनदेखि न्युजिल्यान्डका मार्टिन गुप्टिल, नामिबियाका जान निकोल लफ्टी इटोन, स्कटल्यान्डका माइकल लिस्कलगायतका चर्चित अनुहार सहभागी हुँदै छन्।

एनपीएलका ५ टोलीले विदेशी प्रशिक्षक अनुबन्ध गरेका छन्। 

बदलियो मैदानको स्वरुप
पूर्वकप्तान पारस खड्का सचिव बनेर आएपछि क्यानले नयाँ फ्रेन्चाइज लिग अर्थात् नेपाल प्रिमियर लिगको घोषणा गरेको हो।

एनपीएलको नाममा आफ्नो स्वामित्व रहेको भन्दै पूर्वक्रिकेटर आमिर अख्तरले अदालतमा मुद्दा समेत दायर गरे। तर क्यानले यसलाई गम्भीर रुपमा लिएन। र आफ्नो योजनालाई अगाडि बढाइरह्यो।

अहिले क्यानका सचिव खड्का र क्यानको पूरै शक्ति एनपीएललाई सफल बनाउन लागिपरेको छ। जसको कारण क्यानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्वरुप नै बदलेको छ। 

एनपीएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेट बनाइएको छ। एनपीएलपछि त्रिवि मैदानको अन्य काम पुनः सुरु हुनेछ। 

एनपीएल आयोजनाले नेपाली समर्थक मात्रै हैनन खेलाडी पनि उत्तिकै उत्साहित छन्। मार्की खेलाडीदेखि अक्सनमा खेलाडीलाई लिनका लागि हानाथाप नै भएको थियो। एनपीएलका लागि फ्रेन्चाइज टोली पनि उत्साहित छन्।

८ टिमका ८ मार्की
पहिलो पटक हुनलागेको एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, काठमाडौ गुर्खाज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र चितवन राइनोज गरी आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्। 

सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी, कर्णालीमा सोमपाल कामी, काठमाडौंमा करण केसी, विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, पोखरामा कुशल भुर्तेल र चितवनमा कुशल मल्ल मार्की खेलाडीका रुपमा रहेका छन्।

टिकट दर र छुट
एनपीएलका लागि क्यानले टिकट दर समेत सार्वजनिक गरिसकेको छ। क्यानले उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ।

अन्य लिग खेलका लागि ३ सय र पाँच सय तथा प्लेअफ खेलको दिन ५ सय र ७ सय रुपैयाँ टिकट दर तोकेको छ। फाइनल खेलका लागि भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्नेछ। 

दर्शकका आकर्षणका लागि क्यानले सिजनल पासमा २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४ सय ८० रुपैयाँ राखेको छ। भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकेको छ। 

‘प्लेयर अफ दि सिरिज’लाई कार
एनपीएलको सर्वोत्कृष्ट खेलाडीले एउटा कार प्राप्त गर्नेछ। ‘प्लेयर अफ दि सिरिज’लाई शारडा समूहले कार दिनेछ। 

एनपीएलको मार्की खेलाडीदेखि अक्सन र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दा नेपाली क्रिकेटरको आर्थिक स्थिति बलियो बन्ने आशा सबैले गरेका छन्।

खेलाडीको आर्थिक स्थिति सुधार भएसँगै भौतिक संरचना निर्माण र नियमित रुपमा प्रतियोगिताहरु आयोजना भए नेपाली क्रिकेटले नयाँ उचाइ लिने विश्वास छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad