खेल


एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १६:३०, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ।

यस संस्करणमा 'प्लेयर अफ द सिरिज' घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउनेछन्। एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो।

सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा. लि. का प्रमुख कार्यकारी रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन्।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको परिदृश्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने बताए।

ब्रान्ड लजिकका सीईओ रोशन निरौलाले 'प्लेयर अफ द सिरिज'का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको बताए।

उनले शारडा समूहसँगको सहकार्यको लागि धन्यवाद दिँदै यस पुरस्कारले नेपाली क्रिकेटरहरूको मिहिनेत र समर्पणको कदर गर्दै प्रतियोगिताको स्तर र नेपाली क्रिकेटप्रतिको लगावलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

साथै एसपीजी अटोमोबाइल्सको 'ओमोडा एन्ड जेईकोले एनपीएलको पहिलो संस्करणमा 'ड्रिभन बाई' सहप्रायोजकको रूपमा साझेदारी गरेको छ।

एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad