खेल


नेपाललाई विश्वकपमा पुर्‍याएर घर फर्केकी क्रिकेटर पूजालाई पुरस्कार थाप्न भ्याईनभ्याई

नेपाललाई विश्वकपमा पुर्‍याएर घर फर्केकी क्रिकेटर पूजालाई पुरस्कार थाप्न भ्याईनभ्याई

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १०:३८, महाेत्तरी

शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित घरमा पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ।

यू-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई गृहजिल्ला महोत्तरीमा सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ छ। हालै यू१९ महिला टी-२० विश्वकपमा छनोट भएर घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको हो।

काठमाडौँ हुँदै आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागिरहेको छ। 

शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए। सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए।

यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लागेको थियो। विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यू१९ महिला टी२० एशिया कप र विश्वकपको शुभकामना दिएका थिए।

गत सोमबार पूजालाई एनपीएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’का रूपमा सार्वजनिक गरेको थियो। उक्त टोलीले उनलाई ५० हजार पुरस्कार प्रदान गरेको थियो। सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरे। विशेष रूपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो। 

मंगलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो। नगरप्रमुख डा.दीपेन्द्र महतोले १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेका थिए। सोही दिन मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए। ‘प्रदेश सरकार खेलाडीको साथमा छ, हामी खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहेका छौँ,’ मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने। 

बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम थियो। रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकको टोलीले उनको घरमै पुगेर ११ हजार पुरस्कार प्रदान गरेको थियो। 

‘विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष हो,’ बधाई दिन आउनेसँग पूजा भन्छिन्, ‘अहिले हामीप्रति दर्साइएको सकारात्मक चासोले अब झन् राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ। सबैको प्रेम र हौसलाले उर्जा थपेको छ।’

पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुशी छन्। ‘पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन्,’ उनले भने।

रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन्। जेठी छोरी अन्जुबाहेक सबै क्रिकेट खेलाडी हुन्। पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad