खेल


यूएईलाई हराउँदै नेपाल यू–१९ महिला विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यू–१९ महिला  विश्वकपमा छनोट

लक्ष्मी जि.सी
कात्तिक २८, २०८१ बुधबार १७:५४, काठमाडौँ

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको छ। 

बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको हो। युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

६ खेलबाट समान १० अंक भएपनि युएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो। अंक तालिकामा नेपालको नेट रनरेट ३.९३५३ छ। युएईको भने ३.७४०३ रहेको छ।

विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। 

लिग चरणमा नेपाल र युएईले समान एक खेलमा हार भोग्दा ५ खेलमा जित निकालेका छन्।

नेपालका सना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहे। कप्तान पुजा महतो २१ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। ओपनर सावित्री धामी १२ रनमा क्याच आउट भईन्। 

त्यसअघि अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको थियो।

समाइरा धार्निधार्काले बनाएको ३१ रन नै युएईका लागि सर्वाधिक रह्यो। रिनिथा रजिथले २० रन थपिन्। लावन्या केनी र इन्दुजा नन्दकुमारले समान १० रन बनाए। चार ब्याटर शून्य रनमा नै पेभेलियन फर्के। 

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १७ रन दिईन्। रिया शर्मा र सिमा केसीले समान २ विकेट झारे। रचना कुमारी चौधरीले एक विकेट आफ्नो नाममा गरिन्। 

नेपाल अघिल्लो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो। आजको जितसँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदला समेत लिएको छ। छनोटमा नेपाल युएईसँग मात्र पराजित भएको थियो। 

लिग चरणमा नेपालले थाइल्यान्डलाई पहिलो खेलमा ६७ तथा दोस्रो खेलमा १ सय ६ रनले हराएको थियो। 

कुवेतमाथि पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा १ सय ६५ रनको फराकिलो जित दर्ता गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad