श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट मंसिर १५ गतेदेखि काठमाडौँमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा खेल्ने भएका छन्।
एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमिसँग परिचित छन्।
नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारबाट खेलेका थिए। अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३ सय ४९ रन बनाएका थिए।
उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए। मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए।
‘लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो। लाहिरुको नेपालमा खेल्ने अघिल्लो अनुभव एउटा ठूलो सम्पत्ति हो, जसले उनलाई स्थानीय अवस्था र प्रशंसकको अपेक्षाहरूबारे अद्वितीय अन्तरदृष्टि दिन्छ। त्यो अनुभवलाई आफ्नो कौशलसँग मिलाएर, हामी विश्वास गर्छौं कि उनले टोली र नेपाल प्रिमियर लिगमा हाम्रो समग्र प्रदर्शनमा महत्त्वपूर्ण मूल्य ल्याउनेछ,’ जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने।
आउँदो एनपीएलका लागि ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन्।
बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेका छन्। बोल्ट्सका अर्का दुई विदेशी खेलाडीमा जोशुआ ट्रम्प र मोहम्मद मोहसनी छन्। लाहिरुजस्तै ट्रम्प र मोहसिन पनि अमेरिकन बेस क्रिकेटर हुन्।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन्।
Shares

प्रतिक्रिया