खेल


५ पटकको उपविजेता नेपाललाई साफमा इतिहास रच्ने अवसर (भिडिओ)

१४ वर्षयता ११ पटक ठूला प्रतियोगिताको फाइनलमा नेपाल
५ पटकको उपविजेता नेपाललाई साफमा इतिहास रच्ने अवसर (भिडिओ)

लक्ष्मी जि.सी
कात्तिक १४, २०८१ बुधबार ७:२१, काठमाडौँ

भनिन्छ, १२ वर्षमा खोला पनि फर्कन्छ। नेपाली राष्ट्रिय महिला टोलीका लागि यो संयोग घरेलु मैदानमा नै जुरेको छ। 

महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ। त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।  

अघिल्ला ११ फाइनलमा उपविजेतामा मात्रै सिमित भएको नेपाली महिला टोली हरेकपटक उपाधिको दाबेदार टोली मानिन्थ्यो। तर फाइनलमा भने नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन। 

तर आज (बुधबार) बंगलादेशविरुद्ध नेपाली टोली मैदान उत्रदा ति सबै विगतलाई बिर्सेर नयाँ इतिहास लेख्न चाहन्छ। 

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ। 

साफको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै छैटौँ पटक फाइनलमा स्थान बनाएको हो। उता बंगलादेशले भने भुटानमाथि ७–१ को फराकिलो जित दर्ता गर्दै तेस्रोपटक उपाधि नजिक पुगेको हो। 

साफको सेमिफाइनल र फाइनलमा अघिल्लो संस्करणको इतिहास नै दोहोरिएको छ। तर नेपाली टोली भने यो पटक साफको फाइनलमा अघिल्लो चरणको नतिजालाई बिर्सेर नयाँ सुरुवात गर्न चाहन्छ। बंगलादेश भने अघिल्लो संस्करणको नतिजा नै दोहोराउने योजनामा हुनेछ।
 
अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो। दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो। 

फाइनलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षकले आजको खेलमा मैदानमा जसको म्यानेज राम्रो छ उपाधि उसले नै जित्ने बताएका छन्। मैदानमा टिम म्यानेजबिना कुनै पनि टोलीले राम्रो खेले पनि नतिजा ल्याउन नसक्ने बताएका छन्।

 

२०१० यता ११ पटक ठूला प्रतियोगिताको फाइनल नेपाल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०१० यता ११ पटक ठूला प्रतियोगिताको फाइनलमा खेलेको छ। तर ती सबै प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको छ। त्यसैले नेपाली टोलीले  स्थायी उपविजेताको छवि बनाएको छ। 

साफमा मात्र नेपाल छैटौँ पटक उपाधिका लागि स्पर्धा गर्दै गर्दा पाँच पटकको उपविजेता टोली हो। 

तर घरेलु मैदानमा यो पटक नेपाली टोली त्यो छविलाई मेटाउँदै नयाँ किर्तिमान लेख्न प्रतिवद्ध छ। नेपालले यसअघि सन् २०१०, २०१२,२०१४,२०१९ र २०२२ मा मात्र साफको उपविजेतामा सिमित बनेको छ। 

यस्तै सन् २०१०, २०१६ र २०१९ मा दक्षिण एसियाली खेलकुद (साग) को उपविजेता बनेको छ। सन् २०१८ को हिरो गोल्डकप र २०१९ को नादेझ्दा कपमा पनि नेपाल उपविजेता बनेको थियो। त्यसपछि सन् २०२४ मा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा पनि नेपाल उपविजेतामा नै सिमित बनेको थियो। 

वाफ च्याम्पियनसिपमा उपविजेता बनेर स्वदेश फर्किएको महिला टोली २ साताको तयारीमा साफका लागि मैदानमा भिडिरहेका छन्। 

यो पटक पनि टोलीले उपाधि जित्न नसके टिम बनाउन अझै ५ देखि १० वर्ष लाग्ने भएकाले महिला टोलीका लागि उपाधि जित्न आवश्यक रहेको टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले बताइन्। अहिले टोलीको स्प्रिट अनुसार आफुहरुले उापधि जित्नुपर्ने कप्तान सुब्बाको भनाई छ।

साफको फाइनलमा बंगलादेशविरुद्ध मैदान उत्रदै गर्दा महिला टोली केही समस्यामा भने पक्कै हुनेछ। साफको पहिलो खेलमा भुटानविरुद्ध नै नेपाली टोलीले मुख्य दुई खेलाडीलाई गुमाएको छ। टोलीकी फरवार्ड हिरा कुमारी भुजेल र मिडफिल्डर दिपा शाहीले चोटका कारण च्याम्पियनसिप नै गुमाएका छन्।

यस्तै टोलीकी अर्की फरवार्ड रेखा पौडेलले पनि सेमिफाइनलमा दोहोरो पँहेलो कार्ड पाएसँगै फाइनल खेल गुमाएकी छिन्। 

मुख्य तीन खेलाडीले फाइनलमा बाहिर हुँदा नेपालको बेन्च भने केही कमजोर देखिएको छ। तर भएका खेलाडीलाई नै भरपुर प्रयोग गर्दै उपाधिका लागि बंगलादेशलाई कडा टक्कर दिने रणनीतिमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ छन्। 

मुख्य फरवार्ड साम्बामाथि सबैको नजर
बंगालदेशविरुद्ध फाइनल खेल्दै गर्दा सबैको नजर मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा माथि हुनेछ। 

हाल फ्रान्समा युरोपियन लिग खेलिरहेकी सावित्राले भारतविरुद्ध आक्रमक प्रर्दशन गर्दै आफूलाई फेरि एकपटक साम्बा भएको सावित गरेकी छिन्। सनसनीपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालका लागि सावित्राले भारतविरुद्ध गोल गर्दै खेललाई टाइब्रेकरसम्म पुर्याएकी थिइन्। 

भारतविरुद्धको गोलपछिको साम्बाको सेलिब्रेसनको अझै पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। 

सावित्रालाई सविता राना मगर र प्रिती राईले राम्रो साथ दिइरहेका छन्। मिडफिल्डमा रेनुका नगरकोटे, सरु लिम्बु लगायतका खेलाडीले उच्च प्रर्दशन गर्दै आएका छन्।

नेपालको डिफेन्स लाइनमा गीता रानाको विकल्प छैन। नेपाली टोलीको रक्षाका लागि खम्बा बनेर उभिएकी गितालाई अमृता जैसीले राम्रो साथ दिइरहेकी छिन्। बंगलादेशविरुद्ध हिरा र दिपाको अभाव महसुस भने पक्कै हुनेछ। 

चोटका कारण साफकै केही खेलमा बेन्चमा रहेका पुजा राना, अमिसा कार्की लगायतका खेलाडी अहिले पूर्ण रुपमा फिट छन्। त्यसैले टोलीमा अभावलाई बिर्सेर नयाँ इतिहास लेख्न नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रदैछ। 

घरेलु समर्थकको राम्रो साथ पाएको महिला टोली यो पटक उपाधि जित्दै सबै नेपालीलाई तिहारको उपहार दिन चाहन्छ। त्यसैले नेपाली टोली एक भएर बंगलादेशविरुद्ध मैदान उत्रदैछ। घरेलु मैदानमा पहिलो पटक उपाधि जित्दै नेपाली महिला टोली नयाँ युगको सुरुवात गर्ने योजनामा छ।  

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad