खेल


सेमिफाइनलमा नेपालले १ घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने

सेमिफाइनलमा नेपालले १ घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने

कात्तिक ११ गते साँझ दशरथ रंगाशालामा नेपाल–भारतबीच भएको सेमिफाइनलमा विवाद भएपछि। तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १६:६, काठमाडौँ

अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा उजुरी गर्ने भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यही कात्तिक ११ (अक्टोबर २७) मा भारत-नेपालबीचको सेमिफाइनलमा भएको विवादप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै एआईएफएफले यसविरुद्ध साफमा पत्र पठाउने निर्णय गरेको हो।  

एआईएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एआईएफएफले यो घटनाबारे साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यो मुद्दा उठाउनेछ। भारतको अन्डर–१९ महिला टोलीले पनि भर्खरको साफ प्रतियोगितामा झन्डै यस्तै अवस्थाको सामना गर्नुपरेको थियो र एआईएफएफले यस क्षेत्रको फुटबलको विकासका लागि यस्ता कुरा राम्रो नहुने ठानेको छ।’ 

गत आइतबार साँझ काठमाडौँस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलको ७१औँ मिनेटमा संगिता बासफोरले गरेको गोलमा भारतले सुरुवाती अग्रता लिएको थियो। 

तर लगत्तै नेपालकी प्रिती राईले गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि केही बेर तनाव भएको थियो। भुटानी रेफ्री ओम चुकीको निर्णयविरुद्ध नेपाली पक्षले विरोध गर्दा खेल एक घण्टाभन्दा बढी समय रोकिएको थियो। 

सहमतिपछि पुनः सुरु भएको खेलमा १० खेलाडीमा सीमित भएको नेपाली टोलीले गोल फर्काएपछि खेल टाइब्रेकरमा गएको थियो। जसमा भारतलाई ४–२ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो। 

अब नेपाल बुधबार दशरथ रंगशालामै हुने फाइनलमा बंगलादेशसँग भिड्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad