खेल


ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्वकै सातौँ उत्कृष्ट खेलाडी

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्वकै सातौँ उत्कृष्ट खेलाडी

नेपालखबर
फागुन २८, २०७६ बुधबार ११:१,

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन्।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्। यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए। प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उकृष्ट नतिजा हो। नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो।

हालै जर्मनीमा सम्पन्न जर्मन इन्टरनेशनल सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनको बरियतामा उल्लेख्य सुधार आएको हो। प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अंक जोडेका छन्। प्रिन्सले हालै सम्पन्न डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए। डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जित र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जित तथा एउटामा हार व्योहोरेका थिए।

यसअघि महासंघले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व बरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन्।

दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छन्। हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आवद्ध छैनन्। प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन्। विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ।

विश्व जुनियरतर्फको बरियताको शीर्षस्थानमा फ्रान्सका क्रिस्टो पोपोभ, दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेशियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौ र फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad