खेल


आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डलाई

आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डलाई

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ५:३६, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले उचालेको छ। 

आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको हो। 

तेस्रो पटक विश्वकपको फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो। 

यसअघि न्युजिल्यान्ड सन् २००९ र २०१० मा फाइनलमा पुगेको थियो। 

महिला र पुरुष क्रिकेटमा न्युजिल्यान्डको टोलीले एकैदिन ठूलो सफलता दिलाएका छन्। 

न्युजिल्यान्डको पुरुष क्रिकेट टोलीले देशलाई सफलता दिलाएको केही घण्टामा महिला टोलीले पनि उपाधि दिलाउन सफल भएका हुन्। तीन टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै १–० को अग्रता बनाएको छ। 

महिला विश्वकपमा दक्षिण अफ्रिका भने दोस्रोपटक पनि उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो। 

न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो। 

कप्तान लौरी ओलिभर्टले बनाएको २७ रन नै दक्षिण अफ्रिकाका लागि सर्वाधिक रह्यो। तज्मिन ब्रिट्सले १७ तथा चालो ट्राइअनले १४ रन थपे। 

न्युजिल्यान्डका अमेलिया केर र रोजमेरी मेरले समान ३ विकेट झारे। इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि दुवई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो। 

अमेलिया केरले सर्वाधिक ४३ रनको योगदान दिईन्। ब्रुकी हलिडेले ३८ तथा सुजि बेट्सले ३२ रन थपे। दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट झारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad