ad ad

खेल


महिला लिगः एपीएफ यात्रा यादगार बनाउने योजनामा सावित्री किसान

दोस्रोबाट बनिन् पहिलो रोजाइकी गोलरक्षक
महिला लिगः एपीएफ यात्रा यादगार बनाउने योजनामा सावित्री किसान

गोलरक्षक सावित्री किसान। तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
भदौ २४, २०८१ सोमबार ९:१८, काठमाडौँ

कुनै बेला नेपालखबरसँगको कुराकानीमा गोलरक्षक सावित्री किसानले भनेकी थिइन्- राष्ट्रिय र एपीएफकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा मलाई मनपर्ने गोलरक्षक हुन्। विभागीय टोलीमा आर्मी र एपीएफ मन पर्छन्।

चार वर्षअघि महिला लिग खेलिरहँदा सावित्रीको सपना थियो- राम्रो प्रदर्शन गर्दै विभागीय टोलीको नजरमा पर्ने र त्यसमा आबद्ध हुने। नभन्दै उनको सपना छिट्टै पूरा भयो। स्याङ्जाको वालिङ नगरपालिकाबाट महिला लिग खेलिरहँदा उनी एपीएफको नजरमा परिन् र क्लबमा आबद्ध भइन्। 

वालिङमा रहँदा पहिलो रोजाइकी सावित्री एपीएफमा पुग्नेबित्तिकै दोस्रो रोजाइकी गोलरक्षक बन्न पुगिन्। पहिलो रोजाइमा थिइन्- राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा। 

एन्जिलाको उपस्थितिमा सावित्री हरेक खेलमा बेन्चमा सीमित हुन पुगिन्। तर धैर्य गर्न सक्नुपर्छ, हरेकको समय आउँछ भनेझैँ ललितपुरमा एन्फा महिला लिग चलिरहँदा सावित्रीको समय आएको छ।

लिगअन्तर्गत अहिले तेस्रो चरणका खेल भइरहेका छन्। जसमा कोसी प्रदेश अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल पुलिस क्लब दोस्रो र एपीएफ फुटबल क्लब तेस्रो स्थानमा छन्।

एपीएफले तेस्रो राउन्डमा सोमबार चन्द्रपुर नगरपालिकाविरुद्ध खेल्दै छ। एपीएफले यसपटक लिगमा आक्रामक सुरुवात गर्न सकेको छैन।

एपीएफकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा र पहिलो रोजाइकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा लिगमा सामेल छैनन्। उनीहरूको अभाव खेलमा प्रस्ट देखिएको छ।

यद्यपि जारी लिगमा एपीएफ अपराजित छ। लिगमा दोस्रो रोजाइकी गोलरक्षक सावित्री किसान पहिलो रोजाइमा खेलिरहेकी छन्। 

महिला लिगमा सावित्री दोस्रोपटक खेलिरहेकी हुन्।

यसअघि एपीएफले अग्रता लिएपछिको खेलमा सावित्रीले एन्जिलाको स्थान लिँदै लिगमा डेब्यु गरेकी थिइन्। त्यसयता उनी निरन्तर बेन्चमा थिइन्। 

तर यसपालि टोलीकी पहिलो रोजाइकी गोलरक्षक एन्जिला ग्रिसको वुमन्स सुपर लिग क्लब निस एट्रोमिटोउमा २०२४/०२५ का लागि अनुबन्ध भइन्। एन्जिलाले युरोपियन लिग खेल्ने पक्का भएसँगै यता सावित्री पहिलो रोजाइमा परेकी हुन्। 

यसअघि लगातार बेन्चमा रहेकी सावित्रीलाई यो लिग अवसरसँगै चुनौती पनि हो।

उनले पाएको अवसरको कसरी सदुपयोग गर्लिन्, त्यो त लिगका आगामी खेलले देखाउने नै छन्। 

तर घरेलु लिगमा सफल टोली एपीएफको गोलपोस्टको जिम्मेवारी सम्हाल्दै आफूलाई अब्बल साबित गर्न सावित्री तयार छिन्। 

नेपालखबरसँगको कुराकानीमा उनले भनिन्- पहिलोपटक सेटमा खेल्न पाएको छु, केही डर त लागिरहेको छ। पहिला पनि लिगमा एकपटक खेल्न पाएकी थिएँ, त्यो बेला कमजोर टोलीसँग जब हाम्रो टोलीले गोल धेरै हान्छ तब मात्र मैले खेल्न पाउँथेँ। तर यो पटक दिदी (एन्जिला) बाहिर जानुभएकाले मैले मौका पाएको छु। 

सावित्रीले टोलीमा खेल्ने मौका नपाए पनि सधैँ टोलीसँगै हुन्छिन् अनि अभ्यास गर्छिन्। अनुभवी खेलाडी साथमा हुँदा उनले सिक्ने मौका पाउँथिन्। सावित्री एएफसी महिला च्याम्पियनसिपअन्तर्गत छनोट खेल खेल्न टोलीसँगै मलेसिया पनि पुगेकी थिइन् तर तेस्रो रोजाइको गोलरक्षक भएर।

एपीएफले च्याम्पियनसिपका लागि नेपाल पुलिस क्लबकी उषा नाथलाई दोस्रो रोजाइको गोलरक्षकका रूपमा टोलीमा अनुबन्ध गरेको थियो। त्यसैले सावित्री तेस्रो रोजाइमा परिन्।

मलेसियाबाट फर्किएको केही दिनमै घरेलु मैदानमा लिग सुरु भयो। अनि लिगको पहिलो खेल पुलिस क्लबविरुद्ध नै थियो। साविक विजेता एपीएफले लिगको सुरुवातमै विभागीय टोलीको सामना गर्नुपर्‍यो। 

लिगको दोस्रो चरणमा विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नुपर्‍यो। पहिलो खेलमा पुलिससँग बराबरी खेलेको एपीएफले दोस्रो खेलमा आर्मीलाई हराउँदै लिगमा पहिलो जित दर्ता गर्‍यो। 

अंकतालिकाको तेस्रो स्थानमा रहेको एपीएफलाई शीर्ष स्थानमा रहँदै च्याम्पियन छवि कायम राख्न चुनौती पनि छ।

सुरुवातमै विभागीय टोलीको सामना गर्नुपर्दा भने सावित्रीले केही डर महसुस गरिन्।

त्यो क्षण सम्झँदै सावित्री भन्छिन्- आफू जिल्लाको टोलीबाट खेल्दा त कमजोर टोलीलाई जित्नपर्छ भन्ने हुन्थ्यो, एपीएफ, आर्मीसँग खेल्दा गोल खाए पनि आफ्नो खेल देखाउनुपर्छ भन्ने हुन्थ्यो। अहिले एपीएफको पहिलो रोजाइको गोलरक्षक भएर खेल्न पाएको छु। आफ्नो खेल देखाउने बेला यही हो भन्ने लाग्यो। 

एपीएफमा पुगेको लामो समय सावित्रीले आफ्नो समय पर्खिरहिन्। यसैले यो लिगलाई उनले आफ्नो क्षमता देखाउने अवसर ठानेकी छन्। घरेलु फुटबलमा एपीएफको बेल्दै शान छ। राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको एपीएफ आफैँमा बलियो र हरेक संस्करणको उपाधि दाबेदार टोली पनि हो। त्यसैले पनि सावित्रीलाई केही दबाब महसुस हुनु स्वाभाविक हो। 

लिग सुरु हुनुअघि सावित्रीले सोचिरहेकी थिइन्- सुरुवातमा केही कमजोर टोली प्रतिद्वन्द्वी पर्‍यो भने पछि विभागीय टोलीसँग खेल्दा आत्मविश्वास बढ्थ्यो। तर जारी लिगमा यसको ठीकविपरित भयो अर्थात् एपीएफले सुरुवातमै विभागीय टोलीविरुद्ध खेल्नुपर्‍यो। जसले गर्दा सावित्रीको मनमा केही डर थियो। तर अहिले उनी हरेक खेलमा टोलीलाई जित दिलाउँछु भन्ने आत्मविश्वासमा छिन्। 

लिगको तेस्रो चरण चलिरहँदा सावित्रीले प्रशिक्षक र टोलीबाट राम्रो साथ पाएकी छन्। सुरुवातको खेलपछि प्रशिक्षकबाट उनले केही सुझाव पनि पाइन्। जसलाई उनले अर्को खेलमा अवलम्बन गर्दै जाने सोच बनाएकी छन्।

सिनियर खेलाडीको साथ र हौसलाले पनि सावित्री एपीएफको गोलपोस्टमा खम्बाझैँ बन्न उत्साहित छिन्।

एपीएफको सुरुवाती ११ मात्र हैन, बेन्च पनि उत्तिकै बलियो छ। फरवार्ड लाइनदेखि डिफेन्ससम्म अनुभवी र सिनियर खेलाडी छन्।

त्यसैले पनि एपीएफका गोलरक्षकलाई केही सहज छ। एपीएफको गोलपोस्टअघि डिफेन्समा गीता राना र हीराकुमारी भुजेल बलियो खम्बाका रूपमा डटिरहन्छन्।

राष्ट्रिय टोली होस् वा क्लब- गीता र हीरा मैदानमा हुँदा मुस्किलले मात्र विपक्षीको प्रहार गोलपोस्टसम्म पुग्छ। त्यो बेला भने गोलरक्षक पनि चनाखो हुन जरुरी छ। 

यो कुरालाई सावित्रीले राम्रोसँग मनन गरेकी छन्। त्यसैले उनी आफ्नो प्रदर्शनमा कुनै कमी हुन नदिई एपीएफको यात्रालाई यादगार बनाउने योजनामा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .