ad ad

खेल


‘ओलम्पिकमा पदक जित्न सकिँदैन भन्ने अवस्था रहेन, अझै धेरै गर्न बाँकी छ’

‘ओलम्पिकमा पदक जित्न सकिँदैन भन्ने अवस्था रहेन, अझै धेरै गर्न बाँकी छ’

नेपालखबर
भदौ १९, २०८१ बुधबार १४:४५, काठमाडौँ

नेपालका लागि ऐतिहासिक पदक विजेता पलेसा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेसाले पेरिस पारालिम्पिकमा कास्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन्।

अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन्। आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन्। 

पलेसाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कास्य पदक जितेकी थिइन्। यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो। नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ।

पलेसाले यो पदक आफ्नो मात्र नभइ देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अझै धेरै बाँकी रहेको बताएकी छिन्।

प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्नसक्छ भन्ने प्रमाणित भएको बताए। प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि शुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन्।

यद्यपि यसपल्ट रिपाचेजमा कास्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ।

प्रशिक्षक लामाले पलेसाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए। उनले मिहिनत गर्‍यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौँ भन्ने पलेसाले प्रमाणित गरेको बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै संघर्ष रहेको धारणा व्यक्त गरे।

ओलम्पिकमा पाइला चालेको दशकपछि पलेसाले नयाँ इतिहासक रचेको उनले उल्लेख गरे।

पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुनी नै निर्माण गरेको र सो अनुरूपमा पलेसाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ। 

सदस्यसचिव घिसिङले राज्यलाई पलेसाले मायाको चिनो स्वरूप पदक दिएको र त्यसबापत देशलाई उनलाई यो पुरस्कारबाट सम्मान हुने उल्लेख गरे।

उनले अहिले पलेसा र एरिका गुरुङ (एसियाली खेलकुदमा रजत पदक विजेता) युवाहरूका हिरोको रूपमा चर्चा गरे। उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरेका छन्।

घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै तयारी सुरु भैसकेको बताए। ओलम्पिकमा पदक जित्ने इतिहासमा पलेसाले खाता खोलेको उनको भनाइ छ। यो खाता पदक थप्न कयैन् खेलाडी लाग्ने उनको विश्वास छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेसाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले लर्को लगाएर विदेश जानुभन्दा पनि खेल विकासमा ध्यान दिन संघहरूलाई आग्रह गरे। मन्त्री चौधरीले पलेसाका प्रशिक्षक कविराज नेगी लामाले स्वयम् सेवक प्रशिक्षक अहिलेसम्म काम गर्नु दुःखको क्षण रहेको बताए।

एकतवाद्ध भएर काम गर्नसके खेलकुदले देशलाई धेरै दिनसक्ने उनको विश्वास छ। त्यसअघि पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेसा गोवर्धनको भव्य स्वागत गरिएको थियो। 

त्रिभुवन विमानस्थलमा पदक विजेता पलेसा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना श्रेष्ठ मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेसाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौँ खेलकर्मीले उनीहलाई स्वागत गरेका थिए। 

बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेसा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .