ad ad

खेल


घरेलु मैदानमा नेपाल फेरि एकपटक स्तब्ध, बंगलादेश पहिलो पटक च्याम्पियन

घरेलु मैदानमा नेपाल फेरि एकपटक स्तब्ध, बंगलादेश पहिलो पटक च्याम्पियन

नेपालखबर
भदौ १२, २०८१ बुधबार १६:३१, काठमाडौँ

नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधि नजिक पुगेर पनि टाढिएको हो। 

साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई हराउँदै पहिलो पटक उपाधि उचालेको हो। 

सन् २०१७ मा नेपालसँग हेड टू हेडमा पछि पर्दै बंगलादेश उपविजेता बनेको थियो। यस्तै, सन् २०१९ र २०२२ को फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको हो। 

सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध भयो।

एकै समूह चरणमा रहेको नेपालले बंगलादेशलाई २–१ ले हराउँदै समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो। तर फाइनलमा भने नेपाल बंगाली टोलीसँग पराजित भयो। फाइनलमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगाली टोलीले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ। 

यसअघि उमेर समूहको प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको नेपाल तेस्रो पटक फाइनलमा पुगेको थियो। 

दक्षिण एसियाली फुटबलको उमेर समूहमा नेपालले सन् २०१५ मा नेपालमै भएको पहिलो र सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको उपाधि जितेको थियो। 

सन् २०१७ मा राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपाल र बंगलादेशको समान ९ अंक भएपनि हेड टू हेडको आधारमा नेपाल च्याम्पियन बनेको थियो। 

तर यो पटक घरेलु मैदानमा भएको खेलमा नेपाल पराजित हुँदै फेरि एकपटक उपाधिबाट टाढियो। 

खेलको पहिलो हाफमा नेपालले खेलमा पकड जमाएपनि दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन। 

बंगलादेशले भने पाएको मौकालाई सदुपयोग गर्दै नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै पहिलो पटक उपाधि उचाल्यो। 

खेलको इन्ज्युरी समयमा बंगलादेशले अग्रता बढायो। त्यसअघि खेलको ८१ औँ मिनेटमा समिर तामाङको गोलमा खेललाई ३–१ को अवस्थामा ल्याएपनि निकै ढिला भइसकेको थियो। 

नखेलको ७० औँ मिनेटमा राहुल हुसैनको गोलमा बंगलादेशले नेपालविरुद्ध अग्रता फराकिलो पारेको हो। 

त्यसअघि ५४ औँ मिनेटमा नेपाल २–० ले पछि परेको हो। मिराजुल इस्लामले गोललाईनबाट हेडर गोल गोल गर्दै बंगलादेशकोअग्रता दोब्बर पारे। 

पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलाजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। इस्लामको फ्रिकीक प्रहारले पहिलो बारमा लाग्दै पोष्टको जाली चुमेको थियो। 

त्यसअघि नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन। बगंलादेशले पाएको अवसरलाई सुदपयोग गर्दै अग्रता बनायो। 

खेलको ३१ औँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसअघि २९ औँ मिनेटमा सिमान्त थापाको फ्रिकीक क्रसबारको माथिबाट आकाशियो। 

पहिलो हाफको २१ औँ मिनेटमा निराजन धामीले बंगलादेशका दुई डिफेन्डरबाट बललाई खोस्दै दिएको क्रसलाई अविनास स्याङ्ताङले पोस्टको गति दिन सकेनन्। 

खेलको १६ औँ मिनेटमा निराजनको लामो पासलाई नियन्त्रणमा लिदै समिर तामाङले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन भने सकेनन्। 

पहिलो हाफको नवौँ मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .