सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको उपाधिका लागि मगंलबार रुस्लान थ्रीस्टार र आयोजक सुदूरपश्चिम–११ भिड्दैछन्।
धनगढी रगंशालामा हुने फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ। आजको खेलसँगै यो संस्करण खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउँदैछ।
थ्रीस्टार लगातार दोस्रो पटक गोल्डकपको फाइनल पुगेको हो भने आयोजक सुदूरपश्चिम–११ पहिलो पटक फाइनल पुगेको हो। चौथो संस्करणसम्म आइपुग्दा दुवै टोलीले उपाधि जित्न सकेका छैनन्।
फाइनल अघि सोमबार बिहान भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि हात पार्ने दाबी गरे। थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘फाइनल खेल ५०–५० को हो। दुवै टिम युवा खेलाडीले भरिएको छ। जसले मौका बनायो, मेहनत गर्यो उसैले जित्ने हो’
झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लबसँग पराजित थ्री स्टार सुदूरपश्चिम–११ लाई कमजोर आक्ने छैन। डिफेन्स लाइनमा बलियो रहेको थ्री स्टारलाई फाइनलमा आफ्नो अग्रपंक्तिले सताउने छ। उसले गोललाइन र डिफेन्समा राम्रो खेल देखाए पनि अट्याकमा भने चुकिरहेको छ। मुख्य फिनिसर नहुँदा फाइनलमा थ्री स्टारले यसैको सामना गर्नुपर्नेछ।
यता, पहिलो पटक घरेलु दर्शक माझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम–११ थ्री स्टारलाई पराजित गर्दै अर्काे इतिहास बनाउने दाउमा छ। सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले भने, ‘फाइनल खेल हामीलाई गाह्रो पर्छ। थ्री स्टार राम्रो टिम हो तर हाम्रा खेलाडीहरु पनि अनुभवी भएको भन्दै घरेलु दर्शकलाई निरास नबनाउने विश्वास गरिएको छ।’
यस्तै सुदूरपश्चिम–११ क कप्तान गजेन्द्र शाही र थ्री स्टारका कप्तान विक्रम लामाले पहिलो पटक आफ्नो टिमले उपाधि जित्ने दावी गरे।
सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले २१ लाख १ रुपैयाँ तथा उपविजेताले १० लाख १ रुपैँयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ। विधागत उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाउँनेछन्।
प्रतियोगिताको पहिलो संस्करण मनाङ–मस्र्याङदी, दोस्रो त्रिभुवन आर्मी र तेस्रो संस्करण नेपाल पुलिस क्लवले उचालेको थियो।

प्रतिक्रिया