करिब ६ दशक लामो गर्विलो इतिहास बोकेको नेपाली महिला भलिबलले शनिबार अर्को एउटा कीर्तिमानी खुसी थपिदिएको छ।
आफ्नै कभर्डहलमा समेत खेल्न नपाएका नेपाली टोलीका महिला खेलाडीले शनिबार चुनौतीपूर्ण मानिएको छिमेकी मुलुक भारतसँग ऐतिहासिक जित दर्ता गरेको छ।
पटक पटक दक्षिण एसियाली पावर हाउस भारतसँग यसअघि स्तब्ध बनेको नेपाली टोलीले घरेलु मैदान र दर्शकको साथमा कीर्तिमानी जितको खुसी दिएको हो।
जारी काभा महिला भलिबल नेसन्स लिग अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गर्यो।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो।
तेस्रो सेटमा नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट भने नेपालले २५–१८ ले गुमायो।
प्रतिस्पर्धात्मक पाँचौ तथा अन्तिम सेट १५–१३ ले नेपालले आफ्नो पक्षमा पार्दै ऐतिहासिक जित निकाल्यो।
खेलपछि नेपाली टोलीका कप्तान अरुणा शाहीले भारतीय टोलीविरुद्ध डरले सुरुवात गरेपनि खेल जित्ना साथ स्तब्ध भएको बताइन्। उनले भनिन्, ‘सुरुवातमा राम्रो गरेपनि दोस्रो सेटमा केही कमजोरी हुँदा अंक गुमाउन पुग्यौँ। भारतविरुद्ध रिसिभ र डिफेन्स राम्रो गर्नुपर्छ भनेका थियौँ त्यसमा सफल भयौँ।’
भारतविरुद्धको जित नेपाली महिला भलिबलका लागि ऐतिहासिक भएपनि इरान र माल्दिभ्ससँग खेल्न बाँकी रहेको स्मरण गर्दै त्यति धेरै खुसी हुनु नपर्ने सुनाइन्।
भारतलाई हराउँदा नेपाली समर्थकलाई पनि ठूलो अर्थ राख्ने भएकाले यसले आफूहरूलाई पनि खुसी मिलेको सुनाइन्। कप्तान अरुणाले यो जित भलिबललाई माया गर्ने सबैलाई समर्पण गरिन्।
आउने दिनमा पनि यस्तै साथ दिन आग्रह गरिन्।
नेपालले अब लिग चरणमा इरान र माल्दिभ्सविरुद्ध खेल्न बाँकी छ। टेक्निकल रुपमा बलियो इरानलाई नेपाली टोलीले पावर गेम खेलेर जित्ने रणनीतिमा हुनेछ। काभामा इरान बलियो टोली हो।
नेपालले भारतविरुद्ध आफ्नै गल्तीमा अंक दिइरहेको थियो। सर्भिस र रिसिममा नेपालले अंक गुमाउँदा भारतले केही समय नेपालमाथि दबाब बढाएको थियो। अन्य खेलमा नेपालले यो गल्तीलाई सुधार गर्नु जरुरी छ।
भारतविरुद्धको जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले पछिल्लो १० वर्षमा महिला भलिबलका लागि संघले काम गरिरहेकाले त्यसको नतिजा स्वरुप भारतलाई हराउन सफल भएको बताए।
उनले भने, ‘सन् २०१६ सम्म नेपाल भारतसामु निरीह बन्दै आएपनि पछिल्लो समय संघले महिला भलिबलको विकासका लागि काम गरिरहेकाले अहिले जित्छौँ भन्ने हिसाबले काम गरेको छ।’
भारतविरुद्ध जित निकाल्दै इतिहास रच्ने हिसाबले नै आफूहरूले प्रशिक्षण गरेकाले आज इतिहास रच्न सफल भएको पनि उनले बताए।
रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले खेलाडीको मनोबल बढेकाले पनि नतिजा ल्याउन सफल भएको मुख्य प्रशिक्षक भट्टले बताए।
भारतविरुद्धको जितले महिला भलिबको स्तरवृद्धी भएको अुनभव गरेको उनको बुझाइ छ।
उनले भने, ‘भारतविरुद्धको जितले खुसी हुनुभन्दा पनि उपाधि जित्न अझै संर्घष गर्नुपर्नेछ।’
स्पाइकर सरस्वती चौधरीले सन् २०१४ मा आफुहरुले डेब्यु गरेपछि भारतलाई पहिलो पटक जित्न सफल भएको बताइन्। पहिलाको जस्तो नतिजा नआओस् भनेर आफूहरू पहिलाबाट नै मानसिक रुपमा तयार भएर आएको उनी भन्छिन्।
पहिलो सेट जितेपछि जित्न सक्छौँ भन्ने मनोबल बढेपछि दोस्रो सेटमा पराजित भएपछि खेल सोझो सेटमा नजितेपनि जित्नुपर्छ भनेर सबैले मिलेर खेल्दा नतिजा आफ्नो पक्षमा आएको सरस्वतीले सुनाइन्।
भारतविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गरेकी टोलीकी अर्की स्पाइकर निरुता ठगुन्नाले सबैले आफ्नो जिम्मेवारी पूरा गरेकाले बताइन्। प्रशिक्षकले आफूमाथि विश्वास गरेकाले त्यसमा खरो रुपमा उत्रन सफल भएको उनी बताउँछिन्।
सन् २०१९ मा भएको सागमा डेब्यु गरेकी अर्की स्पाइकर उषा भण्डारीले टिम वर्क राम्रो भएकाले जित्न सफल भएको सुनाइन्। बेस्ट अफ ५ खेलेर सागको बदला लिन सफल भएको उनको जिकीर थियो।
लगातारको अन्तर्राष्ट्रिय अभ्यास खेलका कारण पनि नतिजामा फरक पार्ने भएकाले रसियाविरुद्धको खेलले भारतलाई हराउन सफल भएको भण्डारी बताउँछिन्।
टोलीकी लिबेरो सलिना श्रेष्ठले भारतलाई हराउनु आफुहरुको ठुलो लक्ष्य रहेकाले उसलाई हराउन पाउँदा खुसी लागेको सुनाइन्। भारतलाई हराउने सपना लामो समयदेखि रहेकाले त्यसमा सफल भएकाले यो लयलाई कायम राख्न सके उपाधि जित्न सकिने विश्वास सलिनाको छ।
भारतविरुद्ध कीर्तिमानी जित निकाल्दा भलिबल कोर्टमा कोचिएर रहेका समर्थकसँगै खेलाडीहरू भावुक भए। सबैको आँखामा आँसु बगिरहे पनि त्यसको महत्त्व भने बेग्लै थियो।
कारण भारतले लगातार दिएको ‘चोट’को जवाफ महिला टोलीले घरेलु कोर्टमा बदला लिएर दिएका थिए। खेल सकिएको लामो समयसम्म पनि खेलाडीहरू रोइरहे। समर्थकको अथक साथ महिला खेलाडीमाथि थियो।
सानो भलिबल कोर्ट भएपनि भलिबलका हरेक प्रतियोगिता हुँदा समर्थकहरू खेलाडीको हौसला बढाउन कभर्डहल पुगिरहेका हुन्छन्।
भारतविरुद्धको खेलमा नपुग्ने कुरै भएन। भलिबल कोर्टमा उपस्थित मात्र हैन प्रत्यक्ष प्रसारण हेर्ने लाखौँ समर्थक यो ऐतिहासिक जितको साक्षी भए।
अहिले सामाजिक सञ्जालमा खेलाडीलाई बधाइको ओइरो छ।
भारतविरुद्ध नेपालले सुरुवातबाट नै दबाब बनाइरहेको थियो। सेटमा पराजित हुँदा पनि महिला खेलाडी संयमित भएर कोर्टमा डटिरहे।
जसको फल नेपालले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
भारतविरुद्ध यसअघि भएको तीन भेटमा नेपाल लगातार पराजित भएको थियो। घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा नेपाल भारतविरुद्ध नै पराजित भएको थियो।
पहिलो पटक सागको फाइनल खेलेको नेपालले भारतलाई कडा चुनौती दिएको थियो। भारतसामु निरीह देखिँदै आएको नेपालले पहिलो पटक २ सेटमा हराएको थियो।
गत वर्ष घरेलु मैदानमा भएको काभा नेसन्स लिग र चीनको हाङझाओमा भएको एसियन गेम्समा पनि नेपाल भारतसँग पराजित भएको थियो। यद्यपी नेपालले यो पटक घरेलु मैदानमा त्यो हारको बदला लिएको छ।
बारम्बार भारतसामु निरीह बन्दै आएको नेपालका लागि यो पटक भारतलाई हराउन चुनौतीसँगै अवसर पनि थियो। त्यसमा महिला टोली खरो रुपमा उत्रेका छन्। काभाको तयारीका लागि नै नेपाल भलिबल संघले रसियाको महिला टोलीसँग २ मैत्रीपूर्ण खेलको व्यवस्था गरेको थियो।
रसियन टोलीसँग दुबै खेलमा पराजित भएपनि महिला टोलीले त्यसको अनुभव काभामा प्रयोग गरे।
ठूला टोलीसँगको अन्तर्राष्ट्रिय एक्स्पोजरको प्रभाव भारतविरुद्धको खेलमा देखियो। महिला भलिबलमा थुप्रै सम्भावना देखिएकाले संघले पनि सके अनुसारको लगानी गरिरहेको छ।
खेलाडीहरूले पनि दिनरात अथक मेहनत गरिरहेका छन्।
अब पालो भने सरकारको आएको छ। पर्याप्त र सुविधासम्पन्न भलिबल कोर्टको अभावमा महिला टोली दैनिक एक समय मात्र अभ्यास गर्न बाध्य छन्।
सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर आफ्नो जिम्मेवारी पूरा भएको महसुस गरिरहेको छ। राष्ट्रिय खेल भलिबल हुन चाहिने न्युनतम मापदण्ड अथवा भनौँ, भौतिक पूर्वाधार कुनैमा पनि पर्याप्त ध्यान दिन गएको छैन।
यतिसम्म कि राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल छैन। भलिबलको आफनै कभर्डहल नहुँदा अन्तर्राष्ट्रिय खेलका लागि त्रिपुरेश्वरमा रहेको राखेपको बहुउदेश्यीय कर्भडहलको भर पर्दै आएको छ। अन्तर्राष्ट्रिय खेलका लागि राखेपको कभर्डहलको विकल्प छैन।
पूर्वाधार र लगानीमा सरकारको चरम लापरबाहीका बावजुद पनि संघ र खेलाडीको आफ्नै अथक मेहनतले भलिबलले विस्तारै कीर्तिमानको सिँढी उक्लिरहेको छ।
पूर्वाधार अभावका बीचमा भारतविरुद्धको जितले पनि सरकारलाई एकपटक झस्कायो मात्र भने पनि भलिबलले आफ्नै भलिबल कोर्ट पाउने थियो की?
जितको नतिजामा मात्र बधाइ र पुरस्कार घोषणा गर्ने सरकारले राष्ट्रिय खेलको पूर्वाधारमा पनि एकपटक ध्यान दिने की?
यस्तो थियो काभामा नेपालको तयारी :
Shares
प्रतिक्रिया