ad ad

खेल


दुईपटकसम्म भारतले दिएको ‘चोट’ बिर्साउन स्वर्ण जित्ने दाउमा नेपाली टोली

दुईदुईचोटि मौका गुमायौँ, अब हराउनुपर्छ : कप्तान शाही

लक्ष्मी जि.सी
साउन ४ , काठमाडौँ

साउन तेस्रो साता घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिप अघि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। 

आइतबार र सोमबार रसियन टोलीसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली काभाको तयारीमा जुट्नेछ। नेपालले लगातार दोस्रोपटक काभा च्याम्पियनसिप आयोजना गर्न लागेको हो। 

काभाको तयारीका लागि नेपाली टोली वैशाखमा सम्पन्न एनभीए लिगपछि प्रशिक्षणमा जुटेको हो। यसपटक सिनियर भलिबल टोलीमा मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक स्थान बनाएका छन्। 

न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट भलिबल खेल्न सुरु गरेकी सुमित्राले छोटो समयमा नै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन्। 

यस्तै, सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे पनि आरतीले अन्तिममा स्थान बनाउन सकेकी थिइनन्। मोफसल हुँदै एपीएफमा ३ वर्ष बिताएकी आरती अहिले त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन्। 

अघिल्लोपटक काभा खेल्ने टोलीमा रहेका रिमा कुँवर र पुजा चौधरी भने यो पटक टोली बाहिर रहे। 

नेपाली टोली नियमित कप्तान अरुण शाहीको कप्तानीमा हुनेछ। अघिल्लो संस्करण तेस्रो बनेको नेपाली टोली यो पटक स्वर्ण जित्ने लक्ष्यमा छ। 

पहिलो सहभागितामा नै स्वर्ण पदक जितेको नेपाल साविक विजेताको रुपमा अघिल्लो संस्करण घरेलु मैदानमा नै सेमिफाइनलबाट अघि बढ्न सकेन। 

तर यो पटक भने राम्रो तयारी रहेकाले स्वर्ण पदक जित्ने लक्ष्यमा नै रहेको टोलीकी कप्तान अरुणा शाहीले बताइन्। ‘पहिलाको तुलनामा राम्रो भइरहेको महसुस भएको छ। हाइट राम्रो भएको खेलाडी छन्। ब्लक र डिफेन्स पनि राम्रो भइरहेको छ। नतिजाको हिसाबमा स्वर्ण पदक जित्ने लक्ष्यमा छौँ,’ नेपालखबरसँगको कुराकानीमा उनले भनिन्।

यो पटक काभा खेल्ने टोलीमा ५ टोली सहभागी हुँदैछन्। सबै टोली उस्तै रहेकाले आफूहरू घरेलु मैदानमा नै स्वर्ण जित्ने योजनामा रहेको कप्तान अरुणाले सुनाइन्। 

अघिल्लो संस्करण नेपाल र भारत एकै समूहमा थिए। १९ औँ दक्षिण एसियाली खेलकुद र काभा च्याम्पियनसिपमा भारतलाई हराउन नसकेको नेपाली टोली यो पटक त्यो मौका खेर जान दिने पक्षमा छैन। 

कप्तान अरुणा भन्छिन्, ‘हामी पनि स्वर्णको लक्ष्यमा छौँ, भारतलाई हराउने राम्रो मौका दुई पटक गुमायौँ। यो पटक हराउनुपर्छ भन्ने छ।’
एनभिए लिगमा सहभागी एभरेष्ट भलिबल क्लबले भारतीय टोलीका नियमित ३ खेलाडीलाई आबद्ध गरेको थियो। भारतीय खेलाडी सहभागी टोलीलाई नेपालको घरेलु टोलीले पराजित गर्न सक्छ भने नेपालको टोलीले पनि सक्छ भन्ने विश्वासमा महिला टोली छ। 

अघिल्लो पटक घुँडाको चोटका कारण दर्शकदिर्घामा रहेकी प्रतिभा मालीका लागि यो पटक पनि उस्तै हुने भएको छ। चोटकै कारण प्रतिभा यो पटक पनि दर्शक दिर्घामा नै रहेर खेलाडीको हौसला बढाउनेछिन्। प्रतिभाको अनुपस्थितिमा टोलीमा केही फरक पर्ने भएपनि अहिले पुरै टोली राम्रो रहेको अरुणाको बुझाइ छ। 

उनी भन्छिन्, ‘प्रतिभा हुँदा अपेक्षा फरक हुन्थ्यो। उसलाई मात्र फोकस गरेर खेलाइन्थ्यो, उनलाई सपोर्ट गर्ने कोही थिएन। तर अहिले पूरै टोली नै राम्रो छ। त्यसैले राम्रो गर्नेछौँ।’

टोलीको मुख्य प्रशिक्षणको जिम्मा जगदीश भट्टलाई छ। उनको साथमा सहायक प्रशिक्षक भरत यादव र रुपेश विष्ट छन्। 

अघिल्लो संस्करण काभाका लागि झण्डै साढे २ महिना अभ्यास गरेको महिला टोलीले अभ्यास खेलको भने कुनै मौका पाएन। त्यसैले यो पटक टोलीले घरेलु मैदानमा नै रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेलले केही सहयोग पुग्ने आशा छ। नेपालसहित ५ राष्ट्र सहभागी हुने

प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद्को कभर्ड हलमा हुनेछ। 

नेपाली टोलीः 
अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ

फोटो/भिडिओ : सरोज नेपाल

साउन ४, २०८१ शुक्रबार ११:१२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .