उनीहरू अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दिनचर्यामै बित्यो। पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरूका पाइला कतिबेला दौडिन थाले उनीहरू आफैँले मेसो पाएनन्।
गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरूका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन्। कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरू अहिले यसैमा करिअर खोजिरहेका छन्। त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन्।
धावकका रूपमा करिअर बनाउँदै गरेका उनीहरूलाई थप प्रतिस्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूमिका निर्वाह गरिरहेको छ, मञ्जुश्री ट्रेल रेसले। मञ्जुश्रीले विभिन्न आयोजनामार्फत उनीहरूलाई विभिन्न अवसर प्रदान गर्नुका साथै थप प्रतिस्पर्धी पनि बनाउँदै लगेको छ। आज हामी केही नेपाली महिला धावकबारे चर्चा गर्दै छौँ।
निर्मला राई, खोटाङ
खोटाङकी ३३ वर्षीया निर्मला राईले नेपालको सबैभन्दा लामो मञ्जुश्री ट्रेल रेस एक सय माइल अर्थात् एक सय ७० किलोमिटरको दूरी ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा पूरागरी कीर्तिमानी जीत दर्ता गरिन्। उनले यस रुटमा कायम यसअघिको कीर्तिमानलाई बिना कुनै प्रशिक्षण एक घन्टाभन्दा बढी समयले तोडेकी हुन्। उनी अब आफूलाई अन्तर्राष्ट्रिय धाविकाका रूपमा स्थापित गर्ने योजनामा छिन्।
निर्मलाले अल्ट्रा रेस दौडन थालेको धेरै समय भएको छैन। तर छोटो समयको अथक प्र्रयासमा उनले कैयौँ दौड जितेकी छन्। यस क्षेत्रमा लाग्नुको श्रेय भने उनी अन्तर्राष्ट्रिय धाविका प्रिया राईलाई दिन्छिन्। प्रियाले नै आफूलाई दौडन जहिल्यै हौसाएको उनको भनाइ छ।
गाउँबाट काठमाडौँ आएकी उनी दौडामा लाग्नुअघि जीविकोपार्जनका लागि कहिले मार्केटिङ त कहिले सुरक्षागार्डको पनि काम गरिन्। विभिन्न पसल चाहर्दै फाइनान्सका लागि पैसा उठाउनेदेखि होटेलमा भाँडासमेत माझिन्।
निर्मलाले पहिलोपटक नुवाकोटको झिल्टुङ क्रस कन्ट्री दौडमा भाग लिइकी थिइन्। बाह्र दशमलव पाँच किलोमिटर दौडमा उनी चौथो भएकी थिइन्। उनी आफूलाई पहिलो सहभागिताबाटै अपेक्षाकृत सफलता मिलेपछि थप हौसला मिलेको हो भन्छिन्।
उक्त दौडपछि प्रियाले विभिन्न प्रतियोगितामा भाग लिन थालिन्। वीर गणेशमान दौड प्रतियोगितामा शीर्ष दशमा परेपछि उनको तारिफ भयो। निर्मलाले गत वर्ष अप्रिलमा एक सय ३० किलोमिटरको मनास्लु ट्रेलमा सहभागी भइन् तेस्रो भइकी थिइन्।
धावकका लागि मुख्य सहयोगी जुत्ता नै हो। जति राम्रो जुत्ता भयो दौडनका लागि त्यति नै सहज हुन्छ। धावनका लागि जुत्ता किन्न निकै महँगो हुने गरेको उनको भनाइ छ। त्यसैले विदेशी प्रायोजक भएका प्रतियोगितामा दौडन सहज हुने उनले सुनाइन्। दौडलाई निरन्तरता दिन पनि राम्रो प्रायोजकको साथ आवश्यक भएको उनको बुझाइ छ।
अनिता राई, भोजपुर
भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईलाई सुरुमा मानिस किन दौडिन्छन् भन्ने थाहै थिएन। पोखरामा पर्यटक पथप्रदर्शकका रूपमा कार्यरत रहँदा कहिलेकाहीँ धावकहरू भेटिन्थे। तर उनलाई यी धावकहरूको यो दौडाइको उद्देश्य बुझ्दिनथिन्। तर सन् २०११ मा अरु कसैले उक्साएकै भरमा दौडने योजना बनाइन्।
उनी आफ्नो पहिलो प्रतियोगिताको अघिल्लो दिन आयोजकको सम्पर्कमा आइकी थिइन्। आयोजकले दौडनुपर्छ मात्रै भनिदिए। भोलिपल्ट दौड सुरु हुने ठाउँमा पुगिन्। अरु धावकले सोहीअनुसारको पोसाक र जुत्ता लगाए पनि उनी भने सामान्य टिसर्ट, हाफ पाइन्ट र चप्पलमै पुगिन्। रातको समय पनि दौडन लाइट हुनुपर्ने भए पनि उनीसँग केही थिएन। थियो त केवल शक्ति र आत्मबल।
उनी ५० किमीको उक्त दौडमा तेस्रो भइन्। पुरस्कारस्वरुप पाँच हजार पाइन्। आफू कार्यरत अफिसबाट पनि सम्मान पाएपछि भने दौडको महत्त्व बुझ्न थालिन्। उनले त्यसपछिका प्रायः दौडमा भाग थालिन्। केही दौडमा विजयी पनि भइन्।
उनी सन् २०२१ मा दौड प्रशिक्षणका लागि काठमाडौँ आइन्। नौ महिना प्रशिक्षण लिएर मञ्जुश्री ट्रेल रेसमा सहभागी भइन्। उक्त दौडमा उनी दुई पटकसम्म एक सय माइलको महिलातर्फ पहिलो र तेस्रो पटक दोस्रो भइन्।
मञ्जुश्री ट्रेल रेसमा दुई पटकसम्म प्रथम हुँदा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाइन्। दौडकै सिलसिलामा स्विट्जरल्यान्ड, थाइल्यान्ड, फ्रान्सलगायतका मुलुक पुगिन्। अहिले उनी आफ्नो दौडलाई निरन्तरता दिँदै अरुलाई प्रशिक्षण पनि दिँदै आएकी छन्।
आङ फुर्बा शेर्पा, सोलुखुम्बु
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जन्मिएकी आङ फुर्बा शेर्पा स्नातक अध्ययन गरिरहेकी छन्। विद्यालयमा छँदै दौड प्रतियोगितामा भागि लिएकी उनले अहिले पनि दौडलाई निरन्तरता दिएकी छन्। उनले साढे दुई वर्षअघि दाईको सुझावमा एभरेस्ट ट्रेलमा भाग लिइन्। त्यसपछि २५ किमीको दौडमा उनले दुई वर्षसम्म लगातार उपाधि जितिन्।
शेर्पा गत वर्षको एभरेस्ट म्याराथनमा विजेता बनिन्। बेसक्याम्पदेखि नाम्चेसम्मको ७० किमि दौडको महिला धावकमा उनी उत्कृष्ट ठहरिन्। त्यति मात्रै होइन, उनले आर्मी र पुरुषहरूसँगको दौडसमेत भाग लिएकी छन्। जहाँ उनले दुवैतर्फमा १०औँ स्थानमा परेकी थिइन्।
सोलुखुम्बुमै रहँदा उनी आमाबुबासँगै चौँरी चराउन जान्थिन्। विद्यालय जान मात्रै दुई घण्टा लाग्थ्यो। उनी भन्छिन्, ‘सायद त्यही बेलादेखि नै दौडने बानी परेको थियो। उकाली ओराली गर्दा दौडने बानी परेको हुनसक्छ।’
विगतमा भलिबल, फुटबललगायतका खेलमा सक्रिय उनी अहिले आफूलाई दौडमा मात्रै सीमित गरेकी छन्। उनी हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा पहिलोपटक सहभागी हुँदै एक सय माइलतर्फ तेस्रो भइन्। उनी अब दौडको प्रशिक्षण पनि लिने योजनामा छिन्। त्यसपछि अन्तर्राष्ट्रिय दौडमा भाग लिने सपना पनि देखेकी छन्।
पदमकुमारी सुनुवार, ओखलढुङ्गा
ओखलढुङ्गाकी पदमकुमारी सुनुवारलाई सामान्य दौड प्रतियोगितामा भाग लिए पनि ट्रेल रेसबारे जानकारी नै थिएन। दौडमा रुचि राख्ने उनले अन्तर्राष्ट्रिय धाविका मिरा राईलगायतको नाम भने सुनेकी थिइनन्।
उनले सन् २०२१ उनले आफूले देखेको सपना पूरा गर्ने अवसर पाइन्। गाउँमै सम्पन्न ४२ किमि दूरीको दौडमा भाग लिएकी उनी पाँचौँ भइन्। सो प्रतियोगिताको अतिथिमा मिरा राईलगायत खेलाडी थिए। सुनुवारले देखाएको उत्कृष्ट प्रदर्शनपछि उनीहरूले नै प्रशिक्षणको अवसर दिएका थिए। प्रशिक्षणका लागि सुनुवार काठमाडौँ आइन्। केही समय प्रशिक्षण लिएपछि दौडलाई निरन्तरता दिइन्।
उनले हालै सम्पन्न मञ्जुश्री ट्रेलको एक सय किमिको दौड २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा पूरा गरी महिलातर्फ प्रथम भइन्। उक्त प्रतियोगितामा भाग लिने रहर पूरा भएकामा उनी निकै खुसी देखिन्थिन्।
पछिल्लो समय उनी काठमाडौँमै रहेर दौडलाई निरन्तर अगाडि बढाएकी छन्। हालै मात्र पनि उनले २८ दिनमा नौ सय किलोमिटर दौडिइन्। जसमा उनी महिला तथा पुरुष दुवैमा पहिलो भइन्। अन्तर्राष्ट्रिय मुलुकमा समेत दौडिसकेकी उनले आगामी दिनमा पनि दौडलाई नै अगाडि बढाउने योजनामा छिन्।
अनिता राई, सोलुखुम्बु
सोलुखुम्बु महाकुलुङकी अनिता कुलुङ राई पोखरामा दिदीसँग बस्दै गर्दा आम्दानीका लागि साइकल सर्भिसिङको काम गर्थिन्। साइकल सर्भिसिङका क्रममा उनी साइकल दौडाउन सिपालु भइसकेकी थिइन्। यही क्रममा उनले नेपालका विभिन्न स्थानमा जस्तै भारतका केही स्थानमा साइकल कुदाउँदै पुगिन्। यसै क्रममा उनले साइकल चलाएर केही प्रतियोगिता पनि जितिन्।
तर उनी यतिमा मात्रै सीमित हुन चाहन्नथिन्। उनको मनमा अझै केही गर्न पाएहुन्थ्यो लागिरहेको थियो। सोही समयमा पोखरामा दौड प्रतियोगिता आयोजना हुँदै छ भन्ने समाचार उनको कानमा पर्यो। विद्यालयमा अध्ययनरत उनको परीक्षा पनि नजिकिँदै थियो। यस्तो अवस्थामा शिक्षकहरूले पनि उनलाई उक्त प्रतियोगितामा भाग लिन सुझाव दिए। उनले शिक्षकको सुझाव ग्रहण गरिन्। चार हजार मिटरको दौडमा पहिलो पटक भाग लिएकी उनी विजेता बनिन्।
त्यहाँबाट पाएको हौसलाले उनलाई दौडलाई निरन्तरता दिन हौसल दियो। तर घर परिवारले भने दौडेर जीवन खर्च गर्नुभन्दा विदेश गएर पैसा कमाउन भनिरहेका थिए। परिवारको उक्त सुझावविपरीत भाइले भने दौडनका लागि उत्सह भरिदिए। सोही समयदेखि दौडमा होमिएकी उनले हालसम्म दौडेरै कैयौँ सफलता पाइसकेकी छन्। केही समयअघि सम्पन्न काठमाडौँमा सम्पन्न मञ्जुश्री ट्रेल रेसअन्तर्गतको एक सय माइलको दौडमा उनी दोस्रो भइन्। यो सफलताले उनलाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडनका लागि ऊर्जा थपेको छ।
प्रिया राई, खोटाङ
खोटाङकी प्रिया राई कक्षा ९ पढ्न काठमाडौँ आइन्। अध्ययनका क्रममा उनले तेक्वान्दो प्रशिक्षण लिइन्। तेक्वान्दो प्रशिक्षणका क्रममा उनलाई अब यही क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेको थियो। तर यसैबीच उनलाई कसैले ट्रेल रनिङबारे सुनाइदिएको थियो। तेक्वान्दोमा रमाइरहेकी उनले एक्कासी भोजपुरमा आयोजना भइरहेको ट्रेल रनिङमा पहिलो पटक भाग लिन पुगिन्। उनका अनुुसार त्यो बेलासम्म दौडमै पनि करिअर बनाउन सकिन्छ भन्ने थाहा थिएन रे।
‘पहाडका उकालो र ओरालोमा दौडनुपर्ने रहेछ। उक्त प्रतियोगितामा भाग लिइसकेपछि उनले अब तेक्वान्दो नभई यसै क्षेत्रलाई करिअर बनाउँछु भन्ने लागेको हो’, उनले भनिन्। हाल उनी यसै क्षेत्रमा निरन्तर क्रियाशील छिन्।
रसिला तामाङ, धादिङ
धादिङकी सन् २०१५ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरको जाउलाखेलस्थित आयोजना गरिएको एउटा तालिममा रसिला तामाङले भाग लिने अवसर पाइन्। कार्यक्रममा सँगै गएकी दिदीले त्यो कार्यक्रम छाडेर अर्को कार्यक्रममा जान कर गरिन्।
दिदीले भनेको अर्को कार्यक्रम दौड प्रतियोगिता रहेछ। सोही दिवसको आयोजनामा महिलाबीच दौड प्रतियोगिता आयोजना गरिएको रहेछ। तर सहभागीले अधिकांश जिन्स पाइन्ट र जुत्ता पहिरिएका थिए। उनी तुरुन्तै कोठामा पुगिन् र सोही पोसाकमा पुनः कार्यक्रममै फर्किइन्।
लाइनमा करिब चार सय महिला दौडन तयारी अवस्थामा थिए। उनी पनि त्यही भीडमा मिसिइन्। दौडने सङ्केत पाएसँगै उनी पनि भीडमा दौडिइन्। त्यो दौड रसिलाका लागि पहिलो थियो। पाँच किलोमिटर दूरीको उक्त दौडमा रसिला दोस्रो भइन्। पहिलो दौडमै सफलता पाएकी उनले त्यसपछि दौडमै आफूलाई केन्द्रित गरिन्। पछि विस्तारै अन्य प्रतिस्पर्धामा पनि भाग लिन थालिन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन थालिन्।
हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा ५० किलोमिटरतर्फ उनी दोस्रो भइन्। उनले दौडकै सिलसिलामा एक दर्जनभन्दा बढी मुलुक पुगिसकेकी छन्। हाल उनी दौडमै करिअर बनाउनेगरी सक्रिय छन्।
छोकी शेर्पा, ओखलढुङ्गा
ओखलढुङ्गाकी छोकी शेर्पा एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौँ आइन्। गाउँकै साथीहरू दौड प्रतियोगितामा भाग लिएको देखेर उनी पनि यसमा आकर्षित भएकी रहिछन्। साथीहरूको सङ्गतले उनी पनि यसैमा जोडिँदै गइन्।
सन् २०१८ मा उनले पहिलोपटक औपचारिक रूपमा दौड प्रतियोगितामा सहभागी भइन्। उनको पहिलो दौड तीन सय किमीको अन्नपूर्ण सर्किटमा थियो। सात किलोसम्मको भारी बोकेर १२ दिनमा पूरा गर्नुपर्ने सो दौडमा उनी सफल भइन्। त्यसपछि हो- दौडप्रति उनको लगाव अझ बढ्यो।
दौडका क्रममा उनी विभिन्न देश पुगेकी छन्। हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसको ५० किमि दौडमा उनी पहिलो भइन्। उनी दौडकी कारण आफू सङ्कुचित हुन नपाएको बताउँछिन्। दौडमार्फत प्रकृतिको अवलोकन गर्न पाएको र त्यससँगै आफूलाई जोडुन पाएको उनको बुझाइ छ। उनले पहिलो दौडमा लगाएको कन्भर्स जुत्ताले बनाएको घाउको अझै पनि सम्झना आउँछ। पछिल्लो समय उनले भाग लिएको काठमाडौँ भ्याली रिम च्यालेन्जमा उनी पहिलो बनिन्। रासस
Shares
प्रतिक्रिया