चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडले उत्पादन गरेको वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।
आईसीसी टी-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनबापत सीजी फुड्सले रकम हस्तान्तरण गरेको हो।
नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।
त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो। त्यसैगरी सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो।

सोही घोषणाबमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थपेर हस्तान्तरण गरिएको छ।
बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।

‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ। अहिले हाम्रो राष्ट्रिय टिम टी-२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धि मान्छु’, पुडासैनीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपालको क्रिकेट बामे सर्दै गर्दा प्रायोजन गरेकोमा अहिले खुसी हुने ठाउँमा पुगेका छौँ।’
चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने बताए।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटलाई बलियो बनाउन चौधरी ग्रुपले पुर्याउँदै आएको योगदान उच्च रहेको बताए।

खड्काले नेपालले साउथ अफ्रिका र बंगलादेशसँग राम्रो खेलेर हराउन सक्ने सन्देश दिएको बताए। चौधरी ग्रुपले २ दशक बढी समयदेखि सहयोग गर्दै आएकोमा आभार व्यक्त गरे।
क्रिक्रेटर सन्दीप लामिछानेले चौधरी ग्रुपको सहयोगले खेलाडीलाई प्रोत्साहन मिलेको बताए।
वाइवाइले प्रायोजन गरेको यू-१९ प्रतियोगितामा आफूले वाइवाइको जर्सी लगाएर मैदानमा खेलेको राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका खड्काले स्मरण गरे।

नेपाल आईसीसी टी-२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरुष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख नेपाल क्रिकेट संस्थालाई सहयोग गर्ने घोषणा पनि गरेको छ।
उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने जानकारी दिएको छ।
यसैगरी वाइवाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट प्रेडिक्ट एन्ड विन कन्टेस्टेन्ट सञ्चालन गरेको थियो।

जस अन्तर्गत प्रथम अनुज कुमार, दोस्रो प्रविण रूपाखेती, तेस्रो पुरस्कार सोम्बा केसीले हात पारे। विजेताहरुले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
टुर्नामेन्ट प्रेडिक्टसनअन्तर्गत ४ जना प्रत्येक विजेतालाई १५ हजार नगद पुरस्कार दिइएको थियो। जुन रिया प्रजापति, राम सिपाही, आदित्य ध्वज अधिकारी र सार्गुन पाण्डेले पाए।














सबै तस्बिर : सरोज नेपाल
Shares

प्रतिक्रिया