ad ad

खेल


एसिया कपमा नेपालको रणनीति : ठूला टोलीलाई ‘अपसेट’ गर्दै अघिल्लो चरण पुग्ने


लक्ष्मी जि.सी
असार २१ , काठमाडौँ

आगामी जुलाई १९ देखि हुने एसीसी महिला एसिया कप २०२४ का लागि यतिबेला नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणमा व्यस्त छ।

भिडिओ-

गत फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग भएपछि नेपाली टोलीले एसिया कप खेल्ने मौका गुमाएको थियो। प्रिमियर कपको फाइनलमा पुगेको यूएई र मलेसियाले भने सिधै एसिया कपमा स्थान बनाएका थिए। 

तर एसीसीले एसिया कपमा ८ टोली सहभागी गराउने भनेसँगै नेपालले मौका पाएको हो। 

नेपाल रहेको समूह ‘ए’मा भारत र पाकिस्तानसँगै यूएई छ। जुलाई १९ मा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र यूएई भिड्नेछन्। 

दोस्रो खेलमा पाकिस्तानसँग २१ जुलाई र समूह चरणको अन्तिमा खेलमा भारतसँग २३ जुलाइमा खेल्ने तालिका छ। समूह ‘बी’मा भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन्। 

सन् २००४ देखि सुरु भएको एसिया कप चार सस्करण ५० ओभरमा भएको थियो। सन् २०१२ देखि भने टी–२० ढाँचामा हुँदै आएको छ। 

एसिया कपको नवौँ संस्करणसम्म आइपुग्दा भारत सात पटक च्याम्पियन भएको छ। सन् २०१८ मा मलेसियामा भएको एसिया कपको उपाधि बंगलादेशले उचाल्दा भारत उपविजेतामा सीमित भएको थियो। 

२ टेस्ट राष्ट्र रहेको बलियो समूहमा यो पटक नेपाल परेको छ। तर भारत र पाकिस्तानजस्तो टोली भनेर नाममा जानुभन्दा पनि खेलमा ध्यान दिन जरुरी रहेको र महिला टोली कसरी राम्रो गर्न सक्छौँ भन्नेमा ध्यान दिइरहेको रुविना क्षेत्रीले बताइन्। 

उनले भनिन्, ‘यो प्रतियोगिता हाम्रो लागि अवसर पनि हुनसक्छ वा बहाना र दुःखदायी पनि हुनसक्छ तर हामी यसलाई अवसर बनाउन चाहन्छौँ।’ 

विश्वकपमा एसोसिएट टोलीले पनि राम्रो खेल्न सक्छ भन्ने पुरुष टोलीले उदाहरण दिइसकेकोले महिला टोलीले पनि राम्रो खेल्ने उनले बताइन्। 

‘टी–२० मा जे पजि हुन सक्छ। राम्रो क्रिकेटचाहिँ खेल्नुपर्ने रहेछ भन्ने सेल्फ मोटिभेट गरिरहेका छौँ। हामी को कहाँ खेल्दै छ भन्दा पनि आफैँलाई कसरी स्थापित गर्ने र त्यसले के परिवर्तन गराउन सकिन्छ भनेर ध्यान दिने हो’, उनले थपिन्। 

सन् २०१२ मा चीनमा भएको पाँचौँ संस्करणमा नेपाली टोलीले एसिया कपमा डेब्यु गरेको थियो। पहिलो सहभागितामा समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम पटक सन् २०१६ मा खेलेको थियो। थाइल्यान्डमा भएको छैटौँ संस्करण खेलेयता महिला टोली एसिया कपका लागि छनोट हुनसकेको थिएन। 

चुनौती हैन, अवसर 
तेस्रो सहभागितामा महिला टोली राम्रो नतिजा ल्याउने योजनामा छ। समूह चरणमा नै भारत र पाकिस्तान रहेकाले केहीले यसलाई अवसरका रुपमा हेरेका छन् भने केहीले चुनौतीको रुपमा लिएका छन्। 

टोलीकी कप्तान इन्दु वर्माले यो एसिया कपलाई चुनौतीभन्दा पनि अवसरको रुपमा हेरिरहेको बताइन्। 

कप्तान इन्दुले भनिन्, ‘यति वर्ष खेलेको भारत पाकिस्तानसँग खेल्नका लागि नै हो। त्यसैले उच्च मनोबलमा जानुपर्छ जस्तो लाग्छ। सिनियर खेलाडीको अनुभव र नयाँ खेलाडीको आगमनले टोली बलियो छ। हाम्रो लक्ष्य भनेको भारत र पाकिस्तानलाई अपसेट गराउनु नै हो। त्यसको लागि नै काम गरिरहेका छौँ।’ 

अघिल्ला प्रतियोगिता र प्रिमियर कपमा महिला टोलीको फिटनेसलाई लिएर निकै आलोचना हुँदै आएको थियो। त्यसैले यो पटक फिटनेसलाई ध्यानमा राख्दै टोली निर्माण गरिएको छ। 

कप्तान बर्माका अनुसार फिटनेसमा सबैले काम गरिरहेका छन्। पहिलाको तुलनामा अहिले खेलाडीहरु फिट पनि छन्। 

उनले थपिन्, ‘२ महिनाको प्रशिक्षणले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो तयारी गरिरहेका छौँ।’ 

बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये तीव्रगतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर रुवि पोदारसहित एलिशा खडिया, अप्सरी बेगम र लक्ष्मी साउद टोलीबाट बाहिरिएका छन्। 

अलराउन्डर राजमती ऐरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा बायाँ हाते स्पिनर कृतिका मरासिनीले टोलीमा पुनरागमन गरेकी छिन्। 

उत्साहित छन् नयाँ खेलाडी 
पहिलो पटक टोलीमा स्थान बनाउँदा राजमती उत्साहित छिन्। 

‘सपनाजस्तो लागिरहेको छ। केही टुर नहुँदा एसिया कपका लागि सिधै छनोट हुँदा एकदम खुसी लागेको छ। पहिला जति दुःख गरे त्यसको फल पाएजस्तो लागेको छ’, नेपालखबरसँग उनले भनिन्, ‘सिनियर खेलाडीले एकदम मोटिभेट गरिरहनुभएको छ। एपीएफमा खेलिरहेको कारण बन्डिङ राम्रो छ। तयारी राम्रो नै भइरहेको छ।’ 

टोलीले विश्वास गरेर मौका पाएको अवस्थामा आफूलाई अब्बल साबित गर्न हरसम्भव प्रयास गर्नेमा उनी दृढ छिन्। एसिया कपमा सिनियर खेलाडीलाई चुनौती धेरै रहेको सीता रानामगर सुनाउँछिन्। 

उनी भन्छिन्, ‘सिनियर खेलाडीलाई चुनौतीसँगै जिम्मेवारी पनि धेरै नै छ। धेरैको रोलमोडल हुँदा राम्रो प्रदर्शन गर्नुपर्छ भन्ने छ। लामो समयको प्रशिक्षणले राम्रो भएको छ।’ 

एसिया कपमा चुनौती धेरै नै रहेको उनको भनाइ छ। 

‘भारत हाम्रो समूहमा नै छ। उनीहरु उच्च फर्ममा छन्। हाम्रो लक्ष्य भनेको हाम्रो लेभलभन्दा राम्रो खेलेर लेभल अप गर्ने हो’, उनले भनिन्, ‘यही प्रतियोगिताबाट हामीले राम्रो गरेका छौँ भनेर देखाउने पनि हो।’ 

समूह चरणमा पाकिस्तान र यूएईलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने योजनामा महिला टोली छ। 

के भन्छन् प्रशिक्षक? 
टोलीका मुख्य प्रशिक्षक मनोज कट्वाल यसपटक विगतको कमीलाई सुधार्ने मौका पाएकाले टोली उच्च मनोबलमा रहेको बताउँछन्। 

‘फिटनेसमा देखिएको समस्यालाई ध्यानमा राख्दै त्यसमा ध्यान दिएका छौँ। फिटनेसमा ध्यान दिदा फिल्डिङ पनि उत्तिकै राम्रो भएको छ’, टोलीको तयारीबारे उनले भने, ‘समूह चरणमा पाकिस्तान र भारत जस्ता टेस्ट राष्ट्र छन्। सहभागिताका लागि मात्र हैन, यूएई र पाकिस्तानलाई हराउने लक्ष्य छ।’ 

यी दुई टोलीलाई हराउनेबित्तिकै अर्को चरणमा जाने भएकाले एक टेस्ट टोलीलाई हराउने रणनीति उनले बनाएका छन्। 
‘तयारी हेर्दा राम्रो प्रदर्शन गर्छौँजस्तो लाग्छ’, उनले भने। 

त्यसो त कप्तानीको दबाबबाट हटेपछि रुविनाको ब्याट खुलिरहेको छ भने कप्तानी जिम्मेवारी पाएपछि इन्दुको ब्याट पनि राम्रो चलिरहेको छ। 

सिनियर खेलाडीको अनुभव र जुनियर खेलाडीको उत्साहले नेपाली टोली उच्च मनोबलमा छ। 

महिला टोलीसँग अहिले ‘ए’ टोलीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले ब्याटिङ कन्सल्टेन्टको रुपमा काम गरिरहेका छन्। 

यस्तै राष्ट्रिय टोलीका खेलाडीहरु महिला टोलीको प्रशिक्षणमा पुगेर हौसला बढाइरहेका छन्। 

महिला टोलीलाई अहिलेजस्तो सुविधा र प्रशिक्षणको व्यवस्था पहिला नै दिएको भए टोलीको अवस्था अर्कै हुनेमा खेलाडीहरु सहमत छन्। 

पर्याप्त सम्भावना भएर पनि उपेक्षामा पर्दा महिला टोलीले आशा गरेजस्तो उचाइ लिन सकेन। 

तर अहिलेको क्यान नेतृत्वले महिला टोलीलाई ध्यानमा राख्दै प्रशिक्षणको व्यवस्था गरिरहेको छ। 

एसिया कपअघि महिला टोलीले श्रीलंकामा केही अभ्यास खेल खेल्नेछ। त्यसले पनि टोलीको प्रर्दशनमा सुधार हुने अपेक्षा गरिएको छ।

नतिजाको मात्र आशा गर्ने तर शून्य लगानी हुँदा महिला टोलीले क्षमता भएर पनि नतिजा दिन सकिरहेको छैन। 

अब नतिजाभन्दा पहिला आवश्यक लगानीमा ध्यान दिने हो भने महिला टोलीले नेपाली क्रिकेटलाई अर्को उचाइमा पुर्याउनेमा कुनै शंका छैन। 

एसिया कप खेल्ने महिला टोली 
इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ (विकेटकिपर), रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी 

 

महिला एसिया कपको तयारी। तस्बिर/भिडिओ : सरोज नेपाल

असार २१, २०८१ शुक्रबार ७:२५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .