ad ad

खेल


टिममा परे पनि ललित र कमलले पाएनन् विश्वकप खेल्ने मौका

टिममा परे पनि ललित र कमलले पाएनन् विश्वकप खेल्ने मौका

उजिर कार्की
असार ३, २०८१ सोमबार १८:३०, काठमाडौँ

गत वैशाख १९ गते नेपाल क्रिकेट संघ (क्यान) ले टी२० विश्वकप क्रिकेट खेल्ने १५ सदस्यीय टोली घोषणा गर्‍यो। टोलीका नियमित सदस्य स्पिनर ललित नारायण राजवंशी समेटिँदा मध्यम गतिका बलर कमलसिंह ऐरी पनि टोलीमा फर्किए। 

वैशाख २२ गते राति अमेरिका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सोमबार वेस्टइन्डिजमा पुगेर टुंगियो। समूहका चारमध्ये नेपालले तीन खेल खेल्यो। हरेक खेलमा खेलाडी परिवर्तन गरियो पनि। 

तर नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका ललितले भने अमेरिका र वेस्टइन्डिजमा कुनै मौका पाएनन्। उनकै जस्तो कमलसिंह ऐरीको पनि विश्वकपमा डेब्यु गर्ने सपना यसपटकलाई अधुरै भयो। 

अमेरिका पुगेको ठिक एक महिनापछि नेपालले विश्वकपको पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको थियो। समूहमा अन्य टोलीको तुलनामा नेपालकै हैसियतको टोली हो नेदरल्यान्ड्स। 

१० वर्षपछि नेपाल विश्वकपको मैदानमा उत्रँदै गर्दा ललित र कमलसँगै सन्दीप जोरा पनि टोलीबाहिर थिए। टोलीसँगै अमेरिका पुगेका प्रतिस जिसी भने अन्तिम टोलीमा थिएनन्। पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेलाई लैजाने कोसिस भइरहेकाले अन्तिम १५ खेलाडीको सूचीमा सन्दीपलाई राखेर प्रतिसलाई टोली बाहिर राखिएको थियो। 

यससँगै प्रतिसको विश्वकप खेल्ने सम्भावना लगभग नरहेको पहिल्यै तय थियो। तर ललित र कमल भने बेन्चमा बसेर टोलीको प्यास मेटाउँदै गर्दा अर्को खेलमा मैदानमा हुने सपना देखिरहेका थिए। 

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो। अमेरिकाको डलासमा पानी पर्दा खेल ढिला सुरु भयो। अमेरिकाको पिच फिल्डिङ अनुकूल थियो। नेपालले टस हारेर पहिले ब्याटिङ गर्नु पर्दा मात्रै १०६ रनको स्कोर बनाउन सक्यो। 

तर नेदरल्यान्ड्सले मात्रै ४ विकेट गुमाएर त्यो खेलमा नेपालले दिएको लक्ष्य पूरा गर्‍यो। त्यो खेलमा सोमपाल, दीपेन्द्र र अविनासले विकेट लिए। एक विकेट सोमपालले नै रनआउट गराउन बाहेक नेदरल्यान्ड्सका ब्याटरलाई क्रिजबाट फर्काउन नेपाल असफल रहँदा खराब नतिजा हात लाग्यो। 

यसपटक मौका नपाएका ललितले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने ६ वर्षअघि नेदरल्यान्ड्सविरुद्ध नै डेब्यु गरेका थिए। २९ जुलाई २०१८ मा त्रिदेशीय सिरिजमा नेदरल्यान्ड्सविरुद्ध उनले राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका थिए। उनले २० खेलमा १८ विकेट लिएका छन्। 

ललितले २०१९ को साउथ एसियन गेम्समा माल्दिभ्सविरुद्ध मात्रै ६ रन खर्चिएर ३ विकेट लिएका थिए। यही उनको सर्वोत्कृष्ट प्रदर्शन हो। सन् २०२४ मा टि २० का ७ खेल खेलेका ललितले ६ विकेट लिएका थिए। 

उनको सबैभन्दा खराब प्रदर्शन नेदरल्यान्ड्सविरुद्ध नै छ। उनले त्रिदेशीय सिरिजमा नेदरल्यान्ड्सविरुद्ध बिनाविकेट ४२ रन खर्चिएका थिए। उनले ब्याटिङमा अहिलेसम्म ७ रन मात्रै बनाएका छन्।

अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी क्रिकेट रंगशालामा तय भएको श्रीलंकासँगको खेल रद्द भयो। खेल रद्द हुँदा नेपाल र श्रीलंकाले एकएक अंक पाए। 

त्यसपछि नेपाल बाँकी दुई खेलका लागि वेस्टइन्डिज प्रस्थान गर्‍यो। अमेरिकाबाट टोली जानुअघि नै सन्दीप लामिछाने वेस्ट इन्डिज पुगिसकेका थिए। 

शनिबार बिहान नेपाल र दक्षिण अफ्रिका आमने–सामने भए। सुपर ८ मा स्थान बनाउनका लागि नेपाललाई त्यो खेल जित्नै पर्ने थियो। नेपालले टस जितेर फिल्डिङ रोज्यो। 

नेदरल्यान्ड्ससँग भिडेको टोलीमा नेपालले एक मात्रै परिवर्तन गर्‍यो। सागर ढकालको स्थानमा सन्दीप लामिछानेले मौका पाए। सागरलाई प्रतिस्थापन गरेर टोलीमा स्थान बनाएका सन्दीपको पनि नतिजा भने सागरकै जस्तो रह्यो। उनी यो खेलमा विकेट लिन असफल भए। 

विश्व कीर्तिमानका लागि पनि सन्दीपलाई यो खेलमा दुई विकेट चाहिएको थियो। यदि दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिएको भए सन्दीपले सबैभन्दा छिटो सय विकेट लिने अफगानिस्तानका रसिद खानको कीर्तिमान बराबरी गर्ने थिए। 

सन्दीप टोलीमा फर्किएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालको फिल्डिङमा सुधार देखियो। नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो। तर मध्यक्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गर्न नसक्दा एक रनले नतिजा सुम्पिन पुग्यो। 

जुन खेलमा दीपेन्द्र सिंह ऐरीले ३ र कुशल भुर्तेलले ४ विकेट लिए। यो खेलमा नेपालका ५ बलर विकेटविहीन हुन पुगे। कुशल, दीपेन्द्र र सन्दीपले पूरै चार ओभर बलिङ गर्दा नेपालले फास्ट बलरको ओभर घटायो। दक्षिण अफ्रिकाविरुद्ध सोमपालले २ र करणले १ ओभर मात्रै बलिङ गरे। 

नेपालले हरेक खेलमा एकएक मात्रै परिवर्तन गर्दै गयो। अघिल्ला खेलमा बेन्चमा बसेर टोलीलाई पानी ओसारेका सन्दीप जोराले सोमबार समूहको अन्तिम खेलमा भने स्थान बनाए। यो खेलअघि नै नेपालको विश्वकप यात्रा यहीँ टुंगिने तय भइसकेको थियो। 

तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेर नेपालले सन्दीप जोरालाई मैदानमा उतार्‍यो। जोराको विश्वकपमा डेब्यु गर्ने सपना पूरा भए पनि उनको ब्याटिङ भने सम्झन लायक रहेन। ८ बल खेल्दा मात्रै एक रनमा आउट भए। कप्तान रोहितले पनि एक रन नै जोडेको यो खेलमा अनिल साह, गुल्सन झा, सोमपाल कामी र अविनास बोहरा शून्य रनमै आउट भए। 

सन्दीप लामिछानेले एक बल पनि सामना गर्न पाएनन्। ब्याटिङ गर्न नपाएका सन्दीपले बलिङतर्फ भने यही खेलमा सबैभन्दा छिटो सय रन पूरा गर्ने विश्वकै दोस्रो खेलाडीको कीर्तिमान बनाए। 

टी२० विश्वकपमा सबैभन्दा कम रनको लक्ष्यमा रोक्दै कीर्तिमान बनाएको बंगलादेशले भने सुपर ८ को यात्रा तय गर्‍यो। नेपालको भने यो विश्वकपको यात्रा यहीँ टुंगियो। ललित र कमलको विश्वकपको मैदानमा उत्रिने सपना पनि अधुरै रह्यो।

२३ वर्षका कमलले टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा २२ अप्रिल २०२१ मा डेब्यु गरेका थिए। कीर्तिपुर मैदानमा मलेसियाविरुद्ध उनले पहिलो खेल खेलेका थिए। सो खेलमै १६ रन मात्रै खर्चिएर ३ विकेट हात पारे। यो उनको करिअरकै दोस्रो राम्रो प्रदर्शन थियो।

दुई वर्षअघि ओमानविरुद्ध १५ रन खर्चिएर ३ विकेट लिँदै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले नेपालबाट खेलेका १० खेलमा १५ विकेट लिएका छन्। 

२०२२ पछि उनी नेपाली टोलीबाहिर थिए। २०२२ अप्रिल २ मा त्रिदेशीय सिरिजमै मलेसियासँग खेलेपछि उनी नेपाली टोलीमा अटाएका थिएनन्। उनको खराब प्रदर्शन भनेको २०२२ मै यूएईविरुद्ध छ। ओमानमा भएको त्रिदेशीय सिरिजमा ४२ रन खर्चिंदा उनी विकेटविहीन रहे। विश्वकप छनोटको खेलमा पनि सन् २०२२ मै युएईविरुद्ध ३० रन खर्चिएर विकेटविहीन भएका थिए।

यसबाहेक सबै खेलमा उनी विकेट लिन सफल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .