ad ad

खेल


विश्वकप प्रिभ्यु : बंगलादेशसँग दशकको भेट, बदला लिने अवसर

विश्वकप प्रिभ्यु : बंगलादेशसँग दशकको भेट, बदला लिने अवसर

नेपालखबर
असार २, २०८१ आइतबार २०:५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार बंगलादेशविरुद्ध खेल्दै छ। 

नेपाल र बंगलादेशबीचको खेल सोमबार बिहान सवा ५ बजे वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भेल स्टेडियममा हुनेछ। 

यसअघि नै विश्वकपबाट बाहिरिसकेको नेपाल बंगलादेशविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने योजनामा छ। उता बगंलादेशको नजर भने सुपर ८ मा छ। यद्यपि बंगलादेशका लागि सुपर ८ खेल्ने सम्भावना त्यति सहज पनि छैन। 

शनिबार भएको खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि नेपाली टोलीको विश्वकपको सुपर ८ खेल्ने सपना अधुरै रहेको थियो। 

नेपालको हारसँगै बंगलादेशको सुपर ८ खेल्ने सम्भावना बलियो भएको थियो।

यद्यपि सोमबार बिहानको खेलमा बंगलादेश नेपालसँग पराजित भए र नेदरल्यान्ड्सले श्रीलंकाविरुद्ध जित निकाल्दै नेट रनरेटमा अघि रहे बंगलादेश पनि विश्वकपबाट बाहिरिनेछ। 

त्यसैले पनि बंगलादेश नेपालविरुद्ध केही दबाबमा हुनेछ। विश्वकपबाट बाहिरिसकेको नेपाल भने सान्त्वना जितको खोजीमा खुलेर खेल्ने अपेक्षा गरिएको छ। 

त्यसैले बंगलादेश नेपालविरुद्ध जित निकाल्ने रणनीतिमा हुनेछ। नेपाल भने बंगलादेशविरुद्ध जित निकाल्दै सुखद अन्त्यको योजनामा छ। 

दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शनका कारण बंगलादेशले नेपाली टोलीलाई कमजोर रुपमा लिएको छैन। 

दशकको भेट, बदलाको अवसर
टी२०आईमा नेपाल र बंगलादेश दोस्रो पटक भेट गर्दै छन्। सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। नेपाली टोली भोलि बिहानको खेलमा त्यो हारको बदला लिने दाउमा समेत हुनेछ। 

बंगलादेशका लागि लेग स्पिनर रिसद हुसैन सरप्राइज प्याकेज हुन्। बंगलादेशलाई दृढ राख्न उनको प्रदर्शन सम्झनलायक बन्दै आइरहेको छ। 

यद्यपि नेपाली टोली ‘फुल अफ सरप्राइज’ टोली हो। नेपालका ओपनर कुशल भुर्तेलले ओपनिङमा मात्र हैन लेग स्पिनरका रुपमा समेत आफूलाई स्थापित गर्दै अलराउन्डर प्रदर्शन गर्दै आएका छन्। दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शन नेपाली टोलीका लागि जितको आधार बन्दै आएको छ। 

वेस्ट इन्डिजमा जारी विश्वकपमा सन्दीप लामिछानेको प्रवेशले समेत नेपाली टोली थप मजबुत बनेको छ। 

आशिफ शेख विकेट किपिङमा मात्र हैन ब्याटिङको जादु पनि विश्वकपमा देखाइरहेका छन्। बंगलादेशविरुद्ध पनि कुशल र आशिफको जोडी नै ओपनिङमा आउनेछन्। 

अंक तालिकामा ३ खेलबाट १ अंक भएको नेपाल चौथो स्थानमा छ। समान खेलबाट श्रीलंकाको पनि १ अंक नै छ। 

समान ३ खेलबाट बंगलादेशको चार र नेदरल्यान्डस्को २ अंक छ। अपराजित रहेको दक्षिण अफ्रिका ८ अंकमा शीर्ष स्थानमा रहँदै सुपर ८ खेल्नेछ। 

नेपाली ब्याटर। तस्बिर : क्यान

नेपालको प्रदर्शन
विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपाली टोलीका लागि श्रीलंकाविरुद्धको खेल रद्द हुनु पनि खराब संकेत हो। 

नेपाल र श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द हुँदा यी दुई टोलीले एक एक अंक बाँडेका थिए। दक्षिण अफ्रिकाविरुद्ध अन्तिम बलमा गुल्सन झा रन आउट हुनु नेपालका लागि दुर्भाग्य बन्यो। गुल्सन रन आउट नभएको भए खेलले अर्कै मोड लिने थियो। तर उनी रन आउट हुँदा नेपालले इतिहास कोर्ने ठूलो अवसर गुमाउन पुग्यो। 

सन् २०१४ पछि विश्वकपमा पुगेको नेपालका लागि दक्षिण अफ्रिकाविरुद्धको खेल चर्चामा रह्यो। टेस्ट राष्ट्रविरुद्ध नेपालको प्रदर्शनको सबैले खुलेर तारिफ गरेका थिए। त्यसैले एसोसियट राष्ट्र भईकन पनि नेपालले आफ्नो छुट्टै छाप छोड्दै विश्वकपबाट बाहिरिएको छ। 

नेपाली टोली
नेपाल 
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी,सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमल सिंह ऐरी, सन्दीप लामिछाने

वैकल्पिक खेलाडीः प्रतिश जि.सी

बंगलादेशको टोली
नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुद उल्लाह रियाद, जाकेर अली अनिक, तन्वीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तान्जिम हसन साकिब

वैकल्पिक खेलाडीः अफिफ हुसेन, हसन महमुद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .