खेल


कोरोना संक्रमित देशमा जाँदै नेपाली क्रिकेट टोली, कसरी जोगिने?

कोरोना संक्रमित देशमा जाँदै नेपाली क्रिकेट टोली, कसरी जोगिने?

यज्ञराज जोशी
फागुन १३, २०७६ मंगलबार ८:५३,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक माधव कर्माचार्यलाई शनिबारबाट थाइल्याण्डमा शुरु हुने एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाली टोलीको नतिजाबारे चिन्ता त छँदैछ।

तर, त्योभन्दा बढि चिन्ता विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिद–१९)को जोखिमबाट टोलीलाई कसरी बचाउने? भन्ने छ।

नेपालसहित इस्टर्न रिजनको प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, हङकङ, सिंगापुर र मलेसियाका ५ टोलीको सहभागिता छ।

सबै टोलीले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली अगष्टमा हुने एसिया कप छनोटका लागि छानिने छन्।

Image may contain: 2 people, people playing sports and outdoor

प्रतियोगिताका अन्य टोली तुलनात्मक रुपमा नेपालभन्दा केही कमजोर रहेकाले नेपालले प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने लक्ष्य लिएको छ।

‘हामी जित्नका लागि नै प्रतियोगितामा सहभागी हुदैँछौं,’ नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलको भनाईले पनि त्यही बताउँछ।

डेढ हप्ताको बन्द प्रशिक्षण पश्चात ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार नेपालमा अन्तिम अभ्यास खेल खेल्दै सिंगापुर उड्ने तयारीमा छ।

‘ओभरअल हाम्रो तयारी राम्रो छ। हाम्रो लक्ष्य सामान्य छ हामी च्याम्पियन भएर आउने हो,’ टोलीका प्रशिक्षक जगत टमाटाले पनि प्याकुरेलकै कुरा दोहोर्याए।

विपक्षीबाट त्यति डर नभएपछि विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमले भने नेपाली टोलीमा केही चिन्ता थपिएको छ। शुरुमा यही प्रतियोगिता खेल्न ठिक्क परेको चीन, भुटान र म्यानमारले पनि कोरोना संक्रमण फैलिएकै कारण आफ्नो नाम फिर्ता लिएका छन्।

त्यही कारण एसियन क्रिकेट काउन्सिलले प्रतियोगिता दुई दिन पछि सार्दै नयाँ खेल तालिका समेत सार्वजनिक गरेको थियो। ‘एसीसीले पनि जोखिम लिएर प्रतियोगिता थाइल्याण्डमा आयोजना गर्दैछ। नेपालजस्तो संक्रमण नदेखिएको ठाउमा सारेको भए ढुक्क भएर सहभागि हुन पाइन्थ्यो,’ नेपाली टोलीका व्यवस्थापक कमाचार्यले बताए।

Image may contain: 4 people, people standing, grass and outdoor

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतियोगितामा सहभागी ५ वटै देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ। नेपालमा यसअघि एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यद्यपी अहिले उनलाई निको भैसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

नेपालबाहेक प्रतियोगितामा सहभागिता जनाउने हङकङमा कोरोनाको संक्रमण सबैभन्दा बढि छ। त्यहाँ कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ भने ८१ जनालाई संक्रमण देखिएको छ। यस्तै आयोजनास्थल थाइल्याण्डमा ३७ जना, सिंगापुरमा ९० जना र मलेसियामा १६ जनामा संक्रमण देखिएको छ। यो हिसाबले यस प्रतियोगितामा सहभागी राष्ट्रहरुमध्ये सबैभन्दा सुरक्षित नेपाल देखिन्छ।

एसीसीको सावधानी पत्र
आयोजक एसीसीले सोमबारमात्रै कोरोना संक्रमणबाट सतर्क रहने जानकारीसहितको पत्र प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई पठाएको छ।

क्यानका सचिव प्याकुरेलका अनुसार कोरोनाबाट अहिले श्रृजना भएको स्थितिले कुनैपनि टोलीलाई असर नपरोस भनी टोलीलाई होटलदेखि मैदान र मैदानदेखि होटेलबाहेक दायाँबायाँ घुमफिर नगर्न आह्वान गरेको छ। बाहिर खानेकुरा खाँदा जोखिम हुने भएकाले खेलाडीहरुको खानाको व्यवस्था पनि होटेलमै गरिएको उनले बताए।

‘एसीसीले थाइल्याण्डको स्वास्थ्य अधिकारीहरुसँगको समन्वयनमा नै यो प्रतियोगिता आयोजना गरिरहेको छ,’ क्यान सचिव प्याकुरेलले भने, ‘एसीसीले पनि मैदानबाट होटल र होटलबाट मैदानबाहेक हिँडडुल नगर्न भनेको छ। खेलाडीहरुको खाना पनि होटलमै व्यवस्था गरेको छ।’

Image may contain: 7 people, people sitting, people playing sports and outdoor

क्यानले समेत खेलाडीहरुलाई अभिमुखीकरण गर्ने र बिफ्रिङ गराउने उनले बताए।

‘खेलाडीहरु समेत केटाकेटी हैनन्। उनीहरुपनि आफ्नो सावधानी अपनाउने नै छन्,’ प्याकुरेलले भने, ‘बिहीबार नेपाली टोली त्यसतर्फ जादैँछ। त्यसअघि हामीले उनीहरुलाई यस विषयमा सचेत गराउनेछौं।’

टोली व्यवस्थापक कर्माचार्यले खेलाडी तथा सपोर्टिभ स्टाफका लागि विशेष मास्कको व्यवस्था पनि गर्न लागिएको बताए। 

कोरोनाबाट कसरी जोगिने?

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हालसम्म विश्वमा २७ सय जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने यसबाट ८० हजार मानिसहरु संक्रमित छन्।

रुघा र खोकी लाग्नु, १००.४ डिग्री फरेनहाउट भन्दामाथि ज्वरो आउनु, श्वास प्रश्वासमा समस्या देखिनु कोरोना भाइरसका केहि प्रमुख लक्षणहरु हुन्।

कोरोना संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने, फ्लु जस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने, खोक्दा वा हाछ्यु गर्दा नाक मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिने जो कोहीको सम्पर्कबाट टाढा रहनुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोला ट्रान्जिटमा धेरै मानिसहरुको सम्पर्कमा आउनबाट टाढा बस्न सल्लाह दिन्छन्।

उनले पछिल्लो समय नेपाली खेलाडीहरु खेल्न जान लागेको थाइल्याण्डमा कोरोनाका नयाँ बिरामीहरु नदेखिएपनि लापरवाही गर्न नहुने बताए।

‘पछिल्लो समय थाइल्याण्डमा नयाँ संक्रमित देखिएका छैनन। त्यो खुशीको कुरो हो,’ उनले भने, ‘तर, देखिएका छैनन् भनेर लापरवाही गर्नु हुँदैन। रुघाखोकी देखिएमा वा श्वास प्रश्वासमा समस्या देखिए तत्काल जचाउँनुपर्छ। अरु देशका खेलाडीहरुमा पनि त्यस्तो लक्षण देखिए सकभर टाढै रहनुपर्छ।’

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, र किशोर महतो

नेपालकाे खेल तालिका
फागुन १७– नेपालविरुद्ध मलेसिया, फागुन १८– नेपालविरुद्ध हङकङ, फागुन २१– नेपालविरुद्ध थाईल्यान्ड, फागुन २३– नेपालविरुद्ध सिंगापुर

यो पनि: ६ वर्षपछि राष्ट्रिय प्रतियोगिताको तयारीमा क्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad