नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपालले काठमाडौँमा शनिबार सुरु आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विजय सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको दोस्रो खेलमा पुलिस क्लबले सुदूरपश्चिम स्पोर्ट्स् काउन्सिललाई सोझो सेटमा हराएको हो।
पुलिस क्लबले सुदुरपश्चिमलाई २५–२०,२५–१५ र २५–१६ ले हरायो।
आजै भएको लिगको पहिलो खेलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा हराएको हो।
हेल्प नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेट भने २७–२९ ले गुमाउन पुग्यो। चौथो सेट २५–२२ ले जित्दै लिगमा विजयी सुरुवात गरेको हो।
प्रतियोगितामा शनिबार पुरुषतर्फका ४ र महिलातर्फका २ खेल हुनेछन्।
गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गर्नेछन्।
पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोट्स् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी छन्।
महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्।
दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Shares
प्रतिक्रिया