ad ad

खेल


एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ४:५८, काठमाडौँ

एशोसियट क्रिकेटमा एल क्लासिको नामले चिन्न थालिएको नेपाल र यूएई बीचको खेलमा चिर प्रतिद्वन्द्वी टोली फेरि एक पटक आमने सामने हुँदैछन्। 

ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्न लागेका हुन्।

एशोसियट राष्ट्रको बादशाह नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन्। यी दुई टोलीलाई एक अर्काको सबल र कमजोर पक्ष राम्रोसँग थाहा छ। 

त्यसैले दुवै टोली रणनितिक रुपमा बलियो भएर आजको खेलमा मैदान उत्रनेछन्। 

टी २० होस् वा ओडिआई यी दुई टोलीको खेल क्रिकेट समर्थकका लागि बहुप्रतिक्षित खेल हो। 

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। 

युएईलाई हराउँदै फाइनलको यात्रा तय गर्नु त छँदै छ सन् २०२२ मा भोगेको हारको बदला लिने अवसर समेत नेपाली टोली सामु छ।  

सन् २०२२ को फेब्रुअरीमा यही मैदान (अल अमरेत क्रिकेट मैदान टर्फ १) मा नै भएको आईसीसी टि २० विश्वकप छनोटमा युएईसँग पराजित हुँदै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा रहेको नेपाली टोलीको बाटोमा युएई बाधक बन्न पुग्यो।  

नेपाली टोली आजको खेलमा दुई वर्ष अघि सोही मैदानमा भोगेको हारको बदला लिने दाउमा छ। 

त्यसो त टी–२० क्रिकेटमा नेपाल र युएई ५ महिनापछि भेट हुन लागेका हुन्। यी दुई टोली पछिल्लो पटक गत मंसिरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा भेट भएका थिए। 

माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै १० वर्षपछि विश्वकपको ढोका खोलेको थियो। 

नेपालले घरेलु मैदानमा नै युएईलाई रोक्दै विश्वकपको ढोका त खोल्यो तर त्यो बेलाको हारको बदला यही मैदानमा लिने उत्कृष्ट अवसर समेत छ।

युएई भने आजको खेलमा ५ महिना अघिको हारको बदला लिर्दै प्रिमियर कपको फाइनलमा पुग्न चाहान्छ। तर नेपाली टोली भने आफ्नो लयलाई कायम राख्दै अपराजित रहेर फाइनल खेल्ने दाउमा छ। 

प्रिमियर कपको समुह ए मा रहेको नेपाल अपराजित रहेर सेमिफाइनल खेल्न लागेको हो। युएई भने समुह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। 

नेपालले समुह चरणका चार खेलमा चार जित निकालेको हो। युएई भने समुह चरणमा ओमानसँग मात्र हार व्यहोरेको थियो। 

आजै हुने दोस्रो सेमिफाइनलमा समुह बी को विजेता ओमानले समुह ए को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे सुरु हुनेछ। 

प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछन्। एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन्। 

हेड टु हेड
टी– क्रिकेटमा नेपाल र युएई अहिलेसम्म ९ पटक भेट भएका छन्। ति भेटमा युएईविरुद्ध नेपाल हावी देखिएको छ। 

नेपालले ५ खेलमा जित निकाल्दा युएईले भने चार खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। पछिल्ला ५ भेटलाई हेर्ने हो भने नेपालले ३ खेलमा जित निकालेको छ। युएईले भने दुई खेलमा मात्र विजयी भएको छ। 

नेपालको टोली 
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा।

यूएईको टोली
मोहम्मद वासिम (कप्तान)  आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .