ad ad

खेल


किरण राईको चुनौती : भ्रष्टाचार पुष्टि भए सजाय भोग्न तयार छु

किरण राईको चुनौती : भ्रष्टाचार पुष्टि भए सजाय भोग्न तयार छु

नेपालखबर
फागुन ४, २०८० शुक्रबार २०:१२, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आफूमाथि लगाइएको आरोप पुष्टि भए जे सजाय भोग्न पनि तयार रहेको बताएका छन्।

महासचिव राईले भ्रष्टाचार गरेको आरोप लगाउँदै सरिता परियारले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएकी छिन्।  

भ्रष्टाचारको आरोप लगाउँदै अख्तियारमा उजुरी परेपछि महासचिव राईले नेपालखबरसँगको कुराकानीमा भने, ‘यो पहिलो पटक हैन अख्तियारमा हालेको साथीहरूले यसअघि पनि निरन्तर यस्तो आरोप लगाइरहनु हुन्थ्यो, असक्षम देखि लिएर भ्रष्टाचारसम्म। यसअघि पनि कीर्तेहरु गरेको के के आइरहन्छ।’

आफूमाथि लागेको आरोपको खण्डन गर्दै महासचिव राईले यो घटना फुटबलमाथिकै षडयन्त्र भएको बताए।

‘वैधानिक रुपमा एन्फा अध्यक्ष, महासचिवलाई जोडेर यो फुटबल माथि गरिएको षडयन्त्रको रुपमा हेरेका छौँ, अब त्यो भन्दा अघि केही छैन’ उनले भने, ‘कानुनी रुपमा उहाँहरुले पुष्टि गर्नुभयो भने जे सजाय भोग्न पनि तयार छौँ।’

अहिले आफू छलफलमा रहेका बताउँदै उनले ‘एक्सन’ कसलाई लिने भन्ने बारेमा कानुनी परामर्श लिएर अघि बढ्न बताए।

‘अहिले साह्रै चरित्र हत्याको कुरा आयो, यसकारणले गर्दा सम्बन्धित निकायमा सफाइ दिन वा कहाँ जानु पर्ने हो जाउँला। हैन भने मैले के गर्नुपर्ने भन्ने कुरा यहाँ सोच्दैछु’ उनले भने।

उनले नेपालको फुटबलमाथि छद्म नामबाट प्रहार गर्न खोजिएको दाबी गरे। सरिता परियारको नामबाट अख्तियारमा उजुरी परेपनि यस्तो कुनै मान्छे नै नभएको उनको भनाई छ।

‘यो सबै षड्यन्त्र गर्ने कुरा हो। आइडीबाट नै सबै थाहा हुन्छ। अहिलेसम्म बाहिर आउन सक्दैन, यसकारणले गर्दा यो नेपाली फुटबलमाथिको सिंगो प्रहार हो’ उनले भने, ‘उहाँहरुले यो प्रहार कार्यसमिति आएको भोलिपल्टदेखि गर्न थाल्नु भएको हो। हेटौँडा महाधिवेशनमा पुगेर उहाँहरु बिसर्जन हुनुभएको हो। अहिले फेरि सुरु गर्नु भएको छ।’

महासचिव राईले थपे, ‘पूर्वअध्यक्षज्यूको स्ट्याटस पनि हेर्दै थिएँ। तर उहाँहरू कुनैपनि षड्यन्त्रमा सफल हुनुहुन्न। अहिले एन्फा भित्र, बाहिरका एन्फाको नेतृत्वसँग र मसँग फरक मत राख्ने, हामीलाई बदनाम गर्न सबै मिल्नुभएको छ।’

केटीएमसिटीसँगको प्रसंग जोड्दै आधारबिना समाचार बनाउन र बदनाम गर्नका लागि मुद्दा हालिएको दाबी गरे।

उनले भने, ‘केटीएमसिटी कम्पनीको मान्छेले मलाई मुद्दा हाल्नुभएको छ। उहाँहरुको प्रस्ताव अस्वीकार गरेका कारणले पोलिटिकल साथीहरुसँग मिलेर एकमुष्ट गरेको षड्यन्त्र हो यो। यसकारणले गर्दा कुनै आधारबिना समाचार बनाउन र बदनाम गर्नका लागि मुद्दा हालिएको मात्र हो। यो पुष्टि हुने कुनै आधार छैन।’

उनले आफूमाथि आरोप लगाउनेसँग प्रमाण नभएको दाबी पनि गरे। विरोधीले आफू र आफ्नो टिमको चरित्र हत्या गर्न गरिरहेको प्रयास सफल नहुने उनले बताए।

‘सबैकुराको प्रमाण हुनुपर्यो यो सबै कुराको कुनै अर्थ छैन। उहाँहरुलाई पनि थाहा छ यो केही हुँदैन भन्ने। तर उहाँहरुले गर्न खोजेको र हुने भनेको बदनाम गर्ने, बेइज्जत गर्ने, चरित्र हत्या गर्नेमा उत्रिनु भएको छ’ राईले भने, ‘यो मलाई मात्र हैन शृङखलावद्ध रुपमा अहिलेको नेतृत्वकको पक्षधर साथीहरुलाई गर्नुभएको छ। यो सुरुवात मात्र हो। उहाँँहरुले अझै धेरै गर्नुहुन्छ भन्ने मलाई थाहा छ। तर यसको कुनै अर्थ छैन। यो षड्यन्त्र सफल हुँदैन।’

महासचिव राईले पटक पटक गरि २५ लाख रुपैयाँ लिएको आरोप लागेको छ।
 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .