ad ad

खेल


आहा! रारा पोखरा गोल्डकपको फाइनल आज: इतिहास रच्ने दाउमा आर्मी र थ्री-स्टार

आहा! रारा पोखरा गोल्डकपको फाइनल आज: इतिहास रच्ने दाउमा आर्मी र थ्री-स्टार

नेपालखबर
माघ २०, २०८० शनिबार ८:३५, काठमाडौँ

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा! रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज (शनिबार) हुँदै छ। उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्री-स्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदै छन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। 

त्रिभुवन आर्मी क्लबले हालसम्म चारपटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन। प्रतियोगितामा पाँचौँपटक उपाधि नजिक पुगको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिंदा च्याम्पियन बनेर इतिहास रच्ने उसको मुख्य लक्ष्य हुनेछ। 

थ्री-स्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्छ। मनाङ मर्स्याङ्दी क्लबपछि आहा राराको सर्वाधिक उपाधि जित्ने टोली हो- थ्री-स्टार। थ्री-स्टारले हालसम्म पाँचपटक उपाधि जितिसकेको छ भने आज छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ। 

थ्री-स्टार यस अर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन। बाँकी सबैमा सफलता पाएको छ। आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर चारैपटक उसले उपाधि जित्न सकेन। पछिल्लो पटक आर्मी र थ्री-स्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए। 

तत्कालीन समयमा  टाइब्रेकरमा थ्री-स्टार च्याम्पियन बनेको थियो। उपाधि भिडन्तमा पाँच वर्षपछि थ्री-स्टारसँग बदला लिने मौका आर्मीलाई छ। थ्री-स्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ। 

प्रतियोगितामा हालसम्म सातपटक फाइनल पुगेको थ्री-स्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हारेको थियो। पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्री-स्टार। प्रतियोगितामा छैटौँपटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान बनाउने लक्ष्यमा थ्री-स्टार हुनेछ। 

आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई विर्सदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउँछन्। पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुसी दिने आफ्नो योजना रहेको उनले सुनाए।

‘हामी इतिहास दोहोर्‍याउँदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ’, उनले भने। 

प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने उल्लेख गरे। टोलीमा केही इन्जुरीको समस्या रहे पनि खेलाडी पर्याप्त रहेको उनले बताए। 

थ्री-स्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए। उपाधि जित्ने योजना बनाएको उनको भनाइ छ। प्रशिक्षक लामाले भने,‘आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्रो हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौँ।’

लामा आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने बताउँछन्।

पोखरामा जारी प्रतियोगितामा आर्मी प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनलमा पुगेको हो। थ्री-स्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई जित्दै फाइनलमा स्थान बनाएको हो। 

सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि जारी प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्। उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन्। प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। राससको सहयोगमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .