ad ad

खेल


टि २० का ‘बादशाह’ गेलः जसले आइपीएलको एकै ओभरमा ३७ रन जोडे

टि २० का ‘बादशाह’ गेलः जसले आइपीएलको एकै ओभरमा ३७ रन जोडे

एजेन्सी
माघ १६, २०७६ बिहिबार ९:३८,

आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले खेल्ने भएका छन्। गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो।

टेस्ट क्रिकेटको पहिलो बलमै छक्का प्रहार गर्ने अनि विश्वकपको खेलमा दोहोरो शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। टेस्टमा तेहोरो शतक, एकदिवसीयमा दोहोरो शतक र टि–२० मा शतक प्रहार गर्ने उनी एक्ला खेलाडी हुन्। उनले इण्डियन प्रिमियर लिग(आइपीएल)को एउटै ओभरमा ३७ रन समेत हिर्काएका थिए।

उनले २०११ मा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि कोची टाँस्कर केलाराविरुद्ध एकै ओभरमा ३७ रन हिर्काएका थिए। पहिलो बलमा छक्का हिर्काएका उनले दोस्रो नो बलमा पनि छक्का हिर्काए। पुन: त्यही बलमा चौका हिर्काए। तेस्रो बलमा चौका, चौथो र पाँचौं बलमा लगातार छक्का र छैटौं बलमा गेलले चौका हिर्काएका थिए।

कसरी उदाए गेल?

४१ वर्षे टेक्ने गेलले वेष्ट इण्डिजको टिममा दुई दशक बिताए। उनलाई फलो गर्ने जो सुकैले पहिलोपटक गेललाई भेट्दा चन्चले स्वभाव, केही अहंकार, अबेर रातिसम्म खेल हेर्न बाध्य बनाउने तथा हरेक समय कीर्तिमानमाथि धावा बोल्ने खेलाडीका रुपमा चिन्छन्। तर, गेलसँग गम्भीर समय बिताउदा यो सबै कुराको खण्डन हुन्छ।

उनी आज जे छन्, त्यसका लागि उनको विगत बुझ्न जरुरी छ। वेष्ट इण्डिजको जमैका राज्यको किङ्सटोनको पूर्वी क्षेत्रमा रोलिङटन शहर अवस्थित छ। उक्त शहरको पश्चिम क्षेत्रमा सबिना पार्क क्रिकेट ग्राउण्ड छ। जुन लर्डस(क्रिकेटको मक्का)बाट टाढा त छ नै, भौतिक पूर्वाधार तथा सुविधाहरुबाट पनि निकै नै टाढा छ। त्यहाँ क्रिस गेल जन्मिएको घरको अझैपनि पनि उस्तै हालत छ।

एक तल्लो घर, टिनको छाना, काठको भित्ता, झ्यालमा कपडा झुण्डाइएको, तीन भागमा बाडिएको र तीनै भागमा एकपरिवार बस्ने घरमा गेल हुर्किए। क्रिस गेलको परिवार बस्ने भागतिर भने दुई कोठाहरु छन्। एउटा उनका बुबा आमाका लागि। अर्को कोठामा दुई वटा सिंगल बेड छन्। जसमा गेलका पाँच भाईहरु बस्थे। त्यसमध्येको एउटा बेड प्रायः उनकी दिदी मिसेलले प्रयोग गर्थिन्। बाँकी एउटा बेडका लागि गेलका चारभाईबीच तछाडमछाड हुन्थ्यो।

कुखुरी काँको आवाज र छेउमै भएको चक कारखानाको आवाजसँगै उनीहरुको दिन सुरु हुन्थ्यो। अर्को त्यहाँ बिहानै सुनिने आवाज बलले टिनमा लागेपछि आउने आवाज थियो। रोलिङटन शहरका प्रत्येक बच्चाहरु क्रिकेट खेल्थे। घरमै बनाएका बासका लौरीहरु उनका ब्याट हुन्थे, घरको भित्तामा कोर्दै उनीहरु स्टम्प्स बनाउँथे। स्कुल पहिले, स्कुल लागिरहँदा र स्कुलपछि जतिबेला पनि त्यो दृश्य देखिरहन्थ्यो।

त्यो समय फर्कदा गेल आफूलाई भाग्यमानी ठान्छन्, किनकी उनको घरको सिधा पछाडी लुकास क्रिकेट क्लब थियो। तर, लुकासको गेटबाट भित्र छिर्दा यो मैदानमा खासै केही देखिन्न। स्कोरबोर्डमा पेन्ट गर्न आवश्यक छ। पवेलियनहरु सेक्युरिटीका लागि जस्ताका बारले घेरिएका छन्। आउटफिल्डमा घाँसभन्दा ज्यादा धुलो छ। पीचलाई पनि माटोले ढाकिएको छ।

तर, वेष्ट इण्डिज क्रिकेटमा भने यो मैदान विशेष छ। यही मैदानमा जर्ज हिड्ले(वेष्ट इण्डिजका महान क्रिकेटर)ले विश्वयुद्धका दौरान आफ्नो प्रतिभा तिखारे। वेष्ट इण्डिज टेस्ट टिमका पहिलो कालो वर्णका कप्तान फ्रान्स वोरिल पनि यही मैदानबाट उदाए। यही मैदानबाट क्रिस गेलको पनि भाग्योदय भयो। ‘यदि त्यहाँ लुकास हुन्थेन् भने मलाई पनि थाहा छैन्, म कहाँ हुन्थे। सायद म सडकमा हुन्थे होला,’ आफ्नो क्लबलाई सम्झदै गेल भन्छन्।

लुकास क्लबबाट निरन्तरको मेहनतपछि गेलले जमैकाका टोलीबाट १९ वर्षको उमेरमा पहिलोपटक घरेलु प्रतियोगिता खेल्न पाए। त्यसको ११ महिनापछि उनको वेष्टइण्डिजबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे। त्यसपछि वेष्ट इण्डिजको टोलीमा गेल छुटेका छैनन्। अन्तर्राष्ट्रिय क्रिकेटमा गेलको सुरुवात सुस्त भयो।

तर, २००२ मा भने उनले आफूलाई सुदृढ गरे। त्यहीवर्ष भारतविरुद्ध तीन शतक प्रहार गर्दै एउटै क्यालेण्डर वर्षमा वेष्टइण्डिजबाट एक हजार रन पूरा गर्ने भिभिन रिकार्डस र ब्रायन लारापछिका तेस्रो खेलाडी बने। २००६ को च्याम्पियन्स ट्रफीमा गेल म्यान अफ द सीरिज नै चुनिएका थिए। अष्ट्रेलियामा फाइनलमा पराजित हुँदै उपविजेता बनेको वेष्ट इण्डिजबाट उनले ४ सय ७४ रन बनाएका थिए। जुन उक्त प्रतियोगितामा अन्य ब्याट्सम्यानले बनाएको भन्दा १ सय ५० रन बढी थियो।

२००७ मा भएको पहिलो टि–२० विश्वकपमा शतक प्रहार गर्दै उनी टि–२० अन्तर्राीष्ट्रयमा शतक बनाउँने पहिलो खेलाडी बनेका थिए। यस्तै २००९ मा भएको दोस्रो संस्करणको प्रतियोगितामा श्रीलंकाविरुद्ध अन्तिमसँगै खेल्दै उनी यस फम्र्याटमा नटआउट रहने पहिलो खेलाडी बने। सन् २०१२ मा बंगलादेशविरुद्धको टेस्टमा पहिलो बलमै छक्का प्रहार गर्दै उनले टेस्ट क्रिकेटको पहिलो बलमै छक्का प्रहार गर्ने कीर्तिमान राखेका थिए।

छक्का उत्पादन गर्ने कारखाना ‘यूनिभर्स बोस’का रुपमा आफूलाई चिनाउने क्रिस गेलले जबर्जस्त बलिया पाखुराले अनेकौं कीर्तिमान भंग गरेका छन्। वेष्ट इण्डिजले जारी विश्वकप पुछारमा रहेको अफगानिस्तान भन्दा माथिल्लो स्थानमा रहँदै अन्त्य गर्यो। जारी विश्वकपमा दुई अर्धशतक प्रहार गरेका गेलले विश्व क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने र लामा–लामा छक्का प्रहार गर्ने खेलाडीको पहिचान बनाएका छन्।

गेल आफूलाई स्वयम् पनि छक्का उत्पादन गर्ने कारखानाका रुपमा चिनाउँन चाहन्छन्। तीनवर्षअघि प्रकाशित उनको अटो बायोग्राफीको नाम समेत ‘सिक्स मेसिन–आई डन्ट लाइक क्रिकेट, आई लभ इट’ थियो। शीर्षकबारे प्रष्टाउँदै उनले भनेका छन्, ‘कारखानामात्रै हैन्, ठूलो कारखाना नै हो। मैले सात सय बढी छक्काहरु प्रहार गरिसके। मैले प्रहार गरेका छक्काहरुप्रति मानिसहरु आकर्षित हुन्छन् र मनोरञ्जित हुन्छन्। उनीहरुले नै मलाई ‘छक्का मेसिन’ को नाम दिएका हुन्।’

अन्तर्राष्ट्रिय क्रिकेटको दुई दशकमा गेलले ५ सय २९ छक्का प्रहार गरेका छन्। जुन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गरेको कीर्तिमान समेत हो। टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान गेलकै नाममा छ। टि–२० अन्तर्राष्ट्रियमा १ सय ५ छक्का प्रहार गरेका गेलले त्यसबाहेक विभिन्न देशका घरेलु फ्रेन्चाइजी लिगहरुमा उनले छक्काको छडि नै लगाएका छन्।

इण्डियन प्रिमियर लिग(आइपीएल)मा तीन हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। आइपीएलमा सबैभन्दा बढी ६ शतक प्रहार गर्ने पनि उनी एक्ला हुन्। बिगबास लिगका उनले १२ बलमै अर्धशतक प्रहार गर्दै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान युवराज सिंहसँग बराबरी गरेका थिए। यस्तै फ्रेन्चाइजी लिगको एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत उनको नाममा छ।

२०१७ मा बंगलादेश प्रिमियर लिगमा १ सय ४६ रनको इनिङ खेल्ने क्रममा उनले १८ छक्का प्रहार गरेका थिए। टि–२० अन्तर्राष्ट्रियमा शतक, वानडे अन्तर्राष्ट्रियमा दोहोरो शतक र टेस्ट क्रिकेटमा तेहोरो शतक प्रहार गर्ने गेल एक्ला खेलाडी हुन्। २०१५ को विश्वकपमा उनले जिम्बाबेविरुद्ध २ सय १५ रन प्रहार रेका थिए। सोक्रममा उनले १६ छक्का प्रहार गरे। यो एउटै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत हो।

क्रिस गेल वेष्ट इण्डिजबाट वान डे अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी समेत हुन्। २०१९ मार्चमा भएको वेष्ट इण्डिजविरुद्धको शृंखलाका क्रममा उनले १९ बलमै अर्धशतक प्रहार गरेका थिए। सो क्रममा उनले ६ छक्का र ४ चौका प्रहार गरे। सोही शृंखलामा ३९ छक्का प्रहार गर्दै एउटै शृंखलामा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत गेलले आफ्नो नाम लेखाएका थिए।

याे पनि : क्रिस गेलः छक्का उत्पादन गर्ने कारखाना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .