ad ad

खेल


साउदीविरुद्ध विशाल जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

साउदीविरुद्ध विशाल जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १३:५, काठमाडौँ

अर्जुन कुमालको कीर्तिमानी शतक र दीपेश कडेलको घातक बलिङमा साउदी अरेबियाविरुद्ध विशाल जित हासिल गर्दै नेपाल एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। 

बिहीबार भएको खेलमा नेपालले साउदीलाई ३ सय १ रनको विशाल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो।

समूह एमा रहेको नेपाल अपराजित रहँदै समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो। नेपालले ३ खेलबाट ६ अंक बनाउँदै समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको हो। 

नेपालसँगको हारसँगै साउदी दोस्रो स्थानमा रहेर बाहिरिएको छ। बहराइन तेस्रो र इरान चौथो स्थानमा रहँदै उनीहरुले प्रिमियर कपको यात्रा सकाएका छन्।

नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा मात्र ४६ रनमा अलआउट भयो। 

नेपालका दीपेश कँडेल एक्लैले ६ विकेट लिए। घातक बलिङ गरेका उनले ९.१ ओभरमा मात्र १८ रन खर्चे। आकाश चन्दले २ तथा सुवास भण्डारीले एक विकेट आफ्नो नाममा गरे। 

नेपालका बलरसामु साउदीका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालविरुद्ध साउदीका वरुण सराभननले बनाएको ११ रन नै साउदीका लागि सर्वाधिक रह्यो। अब्दुल सिराजले ९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

साउदी एक समय ९.५ ओभरमा ६–१८ को दयनीय अवस्थामा पुगेको थियो। 

त्यसअघि मलेसियाको वांगीमा साउदीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रनको विशाल योगफल तयार पारेको हो। 

साउदीविरुद्ध ओपनर अर्जुन कुमालले १ सय ४२ रनको शतकिइ पारी खेले। १ सय ११ बलको सामना गरेका अुर्जनले १७ चौका र २ छक्का हाने। 

यू १९ टोलीबाट दुई शतक हान्ने अजुर्न दोस्रो खेलाडी हुन्। यसअघि कप्तान देव खनालले दुई शतक हानेका थिए। 

अर्जुनले यसअघि गत फागुनमा भएको आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रन हानेका थिए। अर्जुन यू १९ मा दोस्रो शतक हान्ने पहिलो ओपनर हुन्। 

योसँगै अुर्जनले एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन्। यसअघि चीनमा भएको १९औं एसियाडमा कुशल मल्ले मंगोलियाविरुद्ध १ सय ३७ रन बनाएका थिए। 

दोस्रो विकेटका लागि अजुर्न र आकाशले १ सय ६२ बलमा १ सय ८९ रनको आक्रमक साझेदारी गरे। 

अर्जुन ३९ औं ओभरको तेस्रो बलमा मोहम्मद अहमद राजाको बलमा मुहम्मद गायोर अहमदको हातबाट क्याच आउट भए। 

आकाश ९ रन बनाउँदा क्याच आउट भए। ९ बलको सामना गरेका आकाशले ६ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि ओपनर दीपक बोहोरा २९ रनमा क्याच आउट भएका थिए। पहिलो विकेटका लागि अर्जुन र दीपकले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। दीपकप्रसाद डुम्रे १४ रन बनाउँदा एलबीडब्लु धरापमा परे। दीपेश कँडेल १४ रनमा क्याच आउट भए। मिलन बोहोरा ९ रनमा एलबीडब्लु धरापमा नै पर्दै पवेलियन फर्के।

मात्र २ बलको सामना गरेका कप्तान देव खनाल शुन्य रनमा नै क्याच आउट भए। 

विशाल विक्रम केसी २४ रनमा नटआउट रहे। 

कुवेतका मुहम्मद राजा र मुहम्मद गायोर हमदलले समान २ विकेट लिए। जुहैर मुहम्मद र शाजिद शहमाले एक–एक विकेट आफ्नो नाममा गरे। 

प्रिमियर कपको समूह चरणमा ३ सयभन्दा बढी रन कटाउने नेपाल पहिलो टोली हो। प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसामु ३ सय ५३ रनको योगफल तयार पारेको थियो। 

समूह चरणको पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा इरानलाई ७ विकेटले हराएको थियो। 

प्रिमियर कपमा चार समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

फाइनलमा पुग्ने २ टोली र तेस्रो स्थानमा रहने टोली गरी तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्। 

सेमिफाइनल खेल कार्तिक ५ गते हुनेछ।

पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष स्थानमा रहने टोलीबीच स्पर्धा हुनेछ। 

दोस्रो सेमिफाइनलमा समूह बी र सी का शीर्ष स्थानमा रहने टोली भिड्नेछन्। 

फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .