ad ad

खेल


पारसको ‘दोस्रो इनिङ्स’ : खेल मैदानको ‘क्रेज’ क्यानको नेतृत्वमा दोहोर्‍याउलान्?

पारसको ‘दोस्रो इनिङ्स’ : खेल मैदानको ‘क्रेज’ क्यानको नेतृत्वमा दोहोर्‍याउलान्?

क्यानका नवनिर्वाचित सचिव पारस खड्का। तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
असोज ७, २०८० आइतबार १८:११, काठमाडौँ

नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन खेलाडी र कप्तानका रुपमा झन्डै दुई दशक मैदानमा  बिताएका पारस खड्काले अर्को जोखिम उठाएका छन्। 

त्यसका लागि उनी योजनाबद्ध अघि बढेर सफलता पनि प्राप्त गरे। क्रिकेट व्यवस्थापकको भूमिकामा जाने इच्छा देखाएको दुई वर्षमै उनी जिल्लादेखि प्रदेश हुँदै केन्द्रकोे कार्यकारी पदमा पुग्न सफल भएका छन्। छिटो छिटो सफलतासँगै जोखिम उठाउन तयार रहेको सन्देश उनले शनिबार पनि दिए।

दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित  सन्न्यास लिने  क्रममै उनले नेपाल क्रिकेट संघ (क्यान)मा जाने इच्छा रहेको बताएका थिए। क्यानको विधान अनुसार अन्तर्राष्ट्रिय  क्रिकेट खेल्न छाडेको दुई वर्ष पूरा भएपछि मात्रै कार्यसमितिमा प्रवेश पाउने प्रावधान छ। 

संयोग पनि त्यस्तै पर्यो, खड्काले सन्न्यास लिएको दुई वर्षभन्दा केही बढी बित्यो। उनले काठमाडौं जिल्ला  क्रिकेट संघको निर्विरोध सदस्य हुँदै व्यवस्थापकीय भूमिकामा प्रवेश पाए। त्यसपछि बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भए। तर, उनको यात्रा त्यतिमै रोकिएन,  पहिलो  प्रयासमा उनी क्यानको दोस्रो ठूलो कार्यकारी पद सचिवमा निर्वाचित हुन सफल भए।

पूर्वकार्यवहाक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का क्यान सचिव बनेका हुन्। त्यसअघि नै दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष बनेका चतुरबहादुर चन्दको पनि उनलाई दह्रो साथ थियो। 

काठमाडौंबाट क्रिकेटरका रुपमा करिअर यात्रा थालेका उनलाई यही काठमाडौं जिल्लाले नै दरिलो साथ दिँदै अघि क्यानको सचिवसम्म बनाउन सफल भयो। 

यद्यपि क्यानका नेतृत्वका लागि उनले देशव्यापी दौडधूप पनि गरे। त्यसैले निर्वाचित भएपछि उनले भनेका थिए, ‘बाहिरबाट हेरे जस्तो जत्न सजिलो थिएन। पछिल्लो चार महिना निकै मिहिनत गरेका थियौँ।’ 

आफ्नो  टिमका सबैजना आउन नसके पनि निर्वाचितहरुसँग सहकार्य गरेर अघि  बढ्न तयार रहेको खड्काले बताएका छन्। 

सचिवका रुपमा निर्वाचित हुनु जति चुनौतीपूर्ण थियो, त्यति नै आफ्ना लागि अवसर पनि भएको उनले बताएका छन्।

‘मेरो लक्ष्य नेपाली क्रिकेटलाई अहिलेको स्तरभन्दा माथि लैजाने हो, खेलाडी जीवनको अनुभवका आधारमा जिल्लादेखि प्रदेशमा नतिजा आउने गरी संरचना बनाउने हो’, उनले भने, ‘महत्वपूर्ण कुरा भनेको घरेलु क्रिकेटको संरचना बलियो बनाउनु हो, पहिलो प्राथमिकता ग्रासरुट क्रिकेट तथा जिल्ला र प्रदेशको संरचनालाई अघि बढाउने छ।’ 

सफल खेलाडी र कप्तानको छविका साथ सक्रिय खेल जीवनबाट अलग भएका खड्काले जोखिम आफ्ना लागि मात्रै होइन, अन्य खेलाडीका तर्फबाट पनि उठाएका छन्। खेलाडीले खेलाडीको मर्म बुझ्न सक्छ, त्यसैले खेलाडीले नेतृत्व गर्नुपर्छ भन्ने बुझाईलाई सार्थक बनाउने जिम्मेवारी अब खड्काको काँधमा आएको छ। 

तपाईंलाई असफल हुने छुट छ त भन्ने प्रश्नमा खड्काको जवाफ थियो, ‘असफल बिनाकारण भइँदैन। यदि असफल भएँ भने कारण पनि भन्नेछु। तर मेरो प्रयास सफलताका लागि हुनेछ।’

खड्का मैदानमा उत्रिँदा जसरी समर्थकको भरोसा पाउँथे, त्यस्तै साथ यसपटक क्यानको नेतृत्वमा जाने इच्छा राखेदेखि उनले पाउँदै आएका छन्। 

त्यसलाई बुझेका उनले  भने, ‘ममाथि धेरैको आशा छ।  त्यो बुझेको छु। तर, म एकजना होइन, क्यानमा एउटा समूह छ। अब संयुक्त रुपमा अघि बढ्नेछौँ।’

नेपाली क्रिकेट टोलीले पछिल्लो समयको सफलतालाई निरन्तरता दिन क्यानसँगै राष्ट्रिय खेलकुद परिषद् र सरकारले पनि ध्यान दिनुपर्ने उनले जोड दिएका छन्।

सधैँ नेतृत्वको भूमिकालाई लिएर प्रश्न गर्दै आएका खड्का अब आफैँ जवाफ दिने ठाँउमा पुगेका छन्। उनले व्यक्तिगत सम्बन्ध र क्षमतालाई नेपाली क्रिकेट विकासमा खर्चिने विषय पनि भन्न छुटाएनन्। ‘अब म क्यानको सचिव बनिसकेँ, दायित्व बढेको छ। अरुले उठाउने प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। त्यसलाई मनन गरेर अघि बढ्नेछु’, उनले आफ्नो दायित्व सम्झिए।   

क्रिकेट विकासका लागि व्यवसायिक क्रिकेटको संरचना तयार पार्नुपर्ने खेलाडीका रुपमा आवाज उठाउँदै आएका उनी अब आफ्ना तीनै सल्लाह कार्यान्वयन गर्ने तहमा पुगेका छन्। आगामी दिनमा धेरैको ध्यान उनमा केन्द्रित हुनेछ। क्यानका कामको जस अपजस अध्यक्ष चन्दसहित सामूहिक हुने भए पनि त्यसको बढी भार खड्काकै काँधमा जाने निश्चित छ। अब खड्का प्रश्नबाट भाग्न पाउने छैनन्। भविष्यमा आफ्नो पनि आलोचना हुनेतर्फ संकेत गर्दै भने, ‘म त्यसका लागि तयार हुनुपर्दछ।’

कप्तानका रुपमा जसरी खड्काले सफल नेतृत्व गरे, त्यसकै आधारमा भविष्यमा उनले क्यानलाई पनि सामूहिक रुपमै अघि बढाउने आशा गर्न सकिन्छ। तर, त्यसका लागि उनको भूमिकामा धेरै कुरा निर्भर रहन्छ। मैदानभित्र सफल भएका खड्काको दोस्रो इनिङ अर्थात मैदान बाहिरको यात्रा धेरैका लागि चासोको विषय बनेको छ।

यो यात्रा उनका लागि पहिले भन्दा झन् कठिन हुने सम्भावना छ।  सम्भवतः ती सबै चुनौतीको आँकलन गरेर उनी नेतृत्वमा बढेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .