पेरिस सेन्ट जर्मन छाड्ने संकेत गरेपछि इडिसन काभानीलाई भित्र्याउन म्यानचेस्टर यूनाइटेड, चेल्सी र एथलेटिको मड्रिडबीच प्रतिस्पर्धा देखिएको छ।
काभानीको परिवारबाट मड्रिडमा जान सल्लाह आएपनि चेल्सीले उनलाई राम्रो अफर गरिरहेको थियो। त्यहीबीच पछिल्लो समय म्यानचेस्टरले पनि काभानीलाई भित्र्याउन आन्तरिक तयारी तीव्र पारेको हो।
उरुग्वेका स्टार काभानीको यसै सिजनको अन्त्यमा पीएसजीसँगको सम्झौता सकिदैँछ। परिवारले मड्रिड जान सल्लाह दिएपनि उनको भ्यालुएसन अनुसार १२.६ मिलियन पाउण्ड तिर्न चेल्सी तयार छ।
म्यानचेस्टर पनि क्लबमा उनको वजनअनुसारको स्थान र पैसा दिने भन्दै रेसमा आएको हो। गत जनवरीमा मुख्य टार्गेट गरिएका इर्लिङ हालान्डलाई भित्र्याउन नसकेपछि काभानी म्यानचेस्टरको पहिलो प्राथमिकतामा छन्।
काभानीले ५७७ क्लबका खेलहरु खेल्दै ३५१ गोल गरिसकेँ। उरुग्वेका लागि उनले ११६ खेल खेल्दै ५० गोल गरेका छन्।
काभानीको बढ्दो उमेर र चोटका कारण भने क्लबहरु चिन्तित हुने गर्छन्। अर्को महिना ३३ वर्ष पुग्ने काभानीले यस सिजनमा चोटका कारण जम्मा १४ खेलमात्रै खेलेका छन्।

प्रतिक्रिया