ad ad

खेल


लगातार दोस्रो जितपछि कप्तान रुविनाले भनिन्– देशकै जीवन परिवर्तन गर्ने खेल

लगातार दोस्रो जितपछि कप्तान रुविनाले भनिन्– देशकै जीवन परिवर्तन गर्ने खेल

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १३:४५, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा लगातार दोस्रो जित हासिल गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलवासेले यसको श्रेय टोलीका सम्पूर्ण सदस्यलाई दिएकी छन्। 

खेलपछि टोलीकी कप्तान रुविनाले भनिन्, ‘एसिया क्षेत्र छनोटका लागि हामीले लामो समयदेखि अभ्यास गरिरहेका थियौँ। यो जित नेपाली टोलीको मात्र हैन, नेपालकै जीवन परिवर्तन गर्ने खेल हो।’

कप्तान रुविनाले नेपाली समर्थकलाई पनि धन्यवाद दिएकी छन्। उनले थपिन्, ‘हामी जहाँ जान्छौँ, हाम्रा दर्शक त्यहीँ पुग्छन्। किनकि नेपाली टोलीलाई दर्शकको ठूलो समर्थन छ।’

शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा सहजै भेट्टायो। 

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको थियो। अब समूह चरणको तेस्रो खेल नेपालले आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समूह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ। 

समूह ‘ए’मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्। 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ शुक्रबार हुनेछ। फाइनल खेल २३ गते हुनेछ।
फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .