बगर भाइ खलक नेपालको आयोजनामा पोखरामा सञ्चालन हुने ‘तेस्रो रञ्जित गुरुङ स्मृति, नवौँ बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल’ प्रतियोगितामा २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
‘स्वास्थ्यका लागि एक घण्टा ब्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने नारासहित खलकले यही माघ ६ देखि ११ गतेसम्म पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेल मैदानमा नवौँ संस्करणको अन्तरराष्ट्रिय भेट्रान्स प्रतियोगिता सञ्चालन गर्न लागेको हो। नेपालका पोखरा, काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, कैलालीलगायतका शहरबाट पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टोली तथा भारतको कोलकत्ता र कञ्चनजंगा भेट्रान्सका दुई गरी २८ टोलीले प्रतियोगितामा सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा खलकका अध्यक्ष एवं मूलआयोजक समितिका संयोजक दिलबहादुर गुरुङले बताए।
अग्रज खेलाडीको सम्मान, समकालीनलाई ब्यायाम तथा नयाँ पिँढीलाई खेलकूद र स्वास्थ्यप्रति जागरुक बनाउँदै ४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा देशका लागि आवश्यक राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०६८ देखि निरन्तर प्रतियोगिता गरिँदै आइएको छ।
समाजका प्रत्येक क्षेत्रका व्यक्तिलाई स्वास्थ्यप्रति जागरुक बनाइ कम्तीमा पनि दिनमा एक घण्टा आफ्नो स्वास्थ्यका लागि ब्यायाम गर्नुपर्दछ भन्ने सन्देश अभियानका रुपमा अघि बढाउनुसमेत प्रतियोगिता आयोजनाको उद्देश्य रहेको गुरुङको भनाइ छ। प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार, रनिङ सिल्ड, पदक र प्रमाणपत्र तथा द्धितीय हुनेले रु ५५ हजार ५५५ पुरस्कार पाउनेछन्।
सेमिफाइनल प्रवेश गर्ने टोलीलाई रु १० हजारका दरले पुरस्कार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई समेत रु १० हजार पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट गोल किपर, डिफेन्स, मिडफिल्डर र फरर्वाडलाई रु पाँच हजारका पुरस्कार प्रदान गरिने बताइएको छ। प्रतियोगिता उद्घाटनका अवसरमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं पूर्व राष्ट्रिय मुख्य प्रशिक्षक खड्कबहादुर रानाभाटलाई खेल क्षेत्रमो योगदान दिएबापत सम्मान गरिने आयोजकले जनाएको छ।
सातौँ संस्करणदेखि आयोजकले पोखरा रत्न एवं खेलकर्मी रञ्जित गुरुङको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। पृथ्वीनारायण क्याम्पसका खेल शिक्षक गुरुङले पोखरामा टेनिस, हकी, बास्केटबल, क्रिकेट, फुटबल, भलिबललगायतका खेलकूदको विकासमा योगदान गरेकाले महानगरपालिकाले उनलाई पोखरा रत्नबाट सम्मान गरेको थियो। ऐतिहासिक टुँडिखेल मैदान संरक्षण तथा तारजाली लगाउँदै मैदान संरक्षण गर्ने कार्यमा समेत खलकले योगदान गरेको बताइन्छ।
खलकका अध्यक्ष गुरुङको अध्यक्षतामा सरोकार भएका सम्मिलित उपभोक्ता समितिले हालै रु १६ लाख २५ हजार ४६९ लागतमा मैदानमा तार जाली लगाएको थियो। मैदान संरक्षणमा संस्थाकातर्फबाट रु एक लाख ५१ हजार सहयोग गरेको बताइन्छ। बगर भाइ खलकमा पूर्व राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी, खेलकूद पदाधिकारी, खेलप्रेमी एवं विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्ति आवद्ध छन्। रासस

प्रतिक्रिया