खेल


एक महिना नबित्दै थ्री स्टारबाट निकालिए सन्तोष साहुखल

एक महिना नबित्दै थ्री स्टारबाट निकालिए सन्तोष साहुखल

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १९:२१, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखललाई एउटा घटनाका कारण ए डिभिजन क्लब थ्री स्टारले निष्कासित गरेको छ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलपछि ड्रेसिङ रुममा खेल भावनाविपरीतको गतिविधि गरेपछि ४२ वर्षीय उनलाई क्बलबाट ‘फायर’ गरिएको जानकारी प्रशिक्षक मेघराज केसीले दिए। 

ए डिभिजन लिगकै सन्दर्भमा मंगलबार आयोजित पत्रकारहरुसँगको संवादका क्रममा उनले यस्तो जानकारी दिएका हुन्। पछिल्ला वर्ष जापानमा बसिरहेका सन्तोष त्यहाँबाट फर्किएर थ्री स्टारमा आवद्ध भएका थिए। 

‘सन्तोषलाई हामीले क्लबबाट ‘फायर’ गरिसक्यौँ। उसबाट जे आशा गरेका थियौँ, त्यसको ठ्याक्कै विपरीत गतिविधि गरेपछि क्लबबाट निष्कासित गरेका हौँ’, केसीले भने, ‘उसले फुटबल नै थाहा नभएको जस्तो काम गर्‍यो। उसले आफूलाई मेन्टेन गर्न नसकेको हुन सक्छ। या सिनियर भनेर घमण्ड देखाएको हुन सक्छ।’

केसीका अनुसार च्यासल मैदनमा खेलका क्रममा ब्रेकका समयमा सन्तोषले ड्रेसिङ रुममा जर्सी फ्याक्नेदेखि भित्ता लात्ती हान्नेसम्मका काम गरेका थिए। 

‘टिमले अहिलेसम्म अनुशासन कायम गरेको छ। कोचको हिसाबले मैले केही बढी बोलेँ होला तर हामीबीच एउटा अनुशासन छ’, उनले भने, ‘ग्राउन्डभित्र खेलाडीमा आत्मीयता हुन्छ। ग्राउन्डभित्र खेलाडीबीच अनुशासन चाहिन्छ।’

खेलका क्रममा ग्राउन्डभित्र सामान्य आक्रोशित हुँदै अन्य खेलाडीले सपोर्ट गरन भनेको कुरालाई लिएर सन्तोषले खेल भावनाविपरीतको हर्कत गरेको केसीले बताए। 

‘च्यासल मैदानमा खेलको ब्रेक भएपछि खेलाडीहरु ड्रेसिङ रुमतिर आउने क्रममा ठूलो आवाज सुनेँ। उसले भित्तामा किक हानेछ। भित्र उसको जर्सी पनि भुइँमा पछारेर ड्रेस चेन्ज गरेछ’, केसीले अगाडि भने, ‘त्यसले ड्रेसिङ रुमको माहोल नै अर्कै भएछ, तनावपूर्ण भएछ।’

केसीले यति हुँदा हुँदै पनि आफूले सन्तोषलाई गाली नगरेको बताए। ‘मैले बरु अरु खेलाडीलाई गाली गरेँ। अरु खेलाडीहरुलाई कराउँदा सन्तोषलाई केही भनेको थिएन’, उनले भने, ‘तर सन्तोष क्लबको जर्सी त्यहीँ फ्याकेर ड्रेस चेन्ज गरेर हिँड्यो। मैले उसको ठाउँमा अर्कोलाई खेलाएँ।’

उनले त्यति ठूलो विवाद हुँदा पनि मिल्ने आशमा आफूले सार्वजनिक रुपमा केही नभनेको बताए। ‘त्यो सकिएपछि मैले मिडियासँग केही भनिनँ। मैले भोलिपल्ट पनि केही भनिनँ,’ उनले भने, ‘सन्तोषले चाहिँ कप्तान विक्रम लामासँग मलाई क्लबले फोन पनि गरेन भनेछ। उसले अनुशासन तोडेको हो अब कसले किन फोन गर्ने?’

उक्त घटनापछि क्लबसँग रिसाएर हिँडेका सन्तोषलाई विक्रमले प्रशिक्षक रिसाएको बताएका थिए। त्यसपछि क्लबको सम्पर्कमा आएका उनला आफूले मात्रै राख्न सक्ने निर्णय दिन नसक्ने बताएको केसीले खुलाए। 

उक्त विवादपछि क्लबमा आएका उनलाई त्यस घटनामा कम्तीमा सरी भने मात्रै अघि बढ्न सकिने जवाफ दिएको पनि बताए। 

तर उनले खेल भावनाविपरीतको घटनामा गल्ती महसुस नगरेपछि कारबाही गरेर क्लबबा निकालिएको केसीले बताए। आफूसँगै ल्याएका एक जापानी महिलाले सन्तोष जस्तो भेट्रान खेलाडीले माफी माग्ने कुरा नहुने बताएको पनि केसीले दाबी गरे। 

भेट्रान स्ट्राइकर सहुखलले गत चैतमा मात्रै सहिद स्मारक ए डिभिजन लिग खेल्ने गरी थ्री स्टार क्लबसँग सम्झौता गरेका थिए। 

साहुखल पछिल्लो समय जापानमा थिए। उनले नेपाल आए पूर्व क्लब थ्री स्टारसँग लिगका लागि सम्झौता गरेका थिए।

थ्री स्टारले आफ्नो पूर्वस्टार खेलाडीलाई ७ वर्षपछि क्लबमा अनुबन्धन गरेको जनाएको थियो। तर उनी एक महिनामै क्लबबाट निकालिएका छन्। 

अघिल्लो सिजन च्यासल युथबाट खेलेका उनले क्लबलाई रेलिगेशनबाट जोगाउन असफल रहे। उनी ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता पनि हुन्।

४२ वर्षीय साहुखलले थ्री स्टार र च्यासलसँगै मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबाट पनि खेलेका थिए। उनले नेपालका लागि २९ खेल खेल्दै ४ गोल गरेका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .