खेल


हालान्डले कीर्तिमान बनाउँदा आर्सनललाई म्यानचेस्टर सिटीको धक्का

हालान्डले कीर्तिमान बनाउँदा आर्सनललाई म्यानचेस्टर सिटीको धक्का

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १३:३७, काठमाडौँ

अर्लिङ हालान्डले कीर्तिमान बनाउँदा इंग्लिस प्रिमियर लिगको उपाधि होडमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आर्सनललाई धक्का दिएको छ।

सिजनको सुरुवातदेखि नै उपाधिका लागि अग्रस्थानमा रहेको आर्सनललाई झट्का दिने क्रममा एक पक्षीय नतिजा निकालेको सिटीले ४ गोल गर्‍यो। आर्सनलले एक मात्रै सान्तवना गोल फर्काउन सक्यो। 

लामो समयदेखि प्रिमियर लिगको उपाधि जित्न नसकेको आर्सनललाई पीडादायी हार चखाउने क्रममा केभिड डी ब्रुएनले दुई गोल गरे। 

यी दुवै गोलका लागि हालान्डले असिस्ट गरेका थिए। ब्रुएनलाई दुई गोलका लागि पास दिएका हालान्डले खेलको अन्तिममा व्यक्तिगत एक गोल गर्दै प्रिमियर लिगमा नयाँ कीर्तिमान पनि बनाएका छन्। 

सिटीलाई जिताउँदा हालान्ड र ब्रुएनाको उत्कृष्ट तालमेल देखियो। सिटीको जितमा डि ब्रुएनाले २ गोल, डिफेन्डर जोन स्टोन्स र हालान्डले १-१ गोल गर्न सफल भए।

सिटीका लागि खेलमा ७ औँ मिनेटमा हालान्डको पासमा ब्रुएनाले गोल गरेर अग्रता दिलाए। त्यसपछि जोन स्टोन्सले पहिलो हाफको अन्तिम समयमा हेडबाट गोल गर्दै अग्रता बढाए। 

उनको गोललाई रेफ्रीले अफसाइड दिएका थिए। तर भीएआरले गोललाई मान्यता दिएपछि सिटीको अग्रता फराकिलो भयो। 

पहिल हाफमा २ गोल गरेपछि दोस्रो हाफमा पनि सिटीले दबाब बढायो। खेलको ५४ औँ मिनेटमा डि ब्रुएनाले हालान्डको पासमै अग्रता ३-० बनाए।

तर आर्सनलका लागि रोब होल्डिङले ८६ औँ मिनेटमा गोल गरे अग्रता ३-१ मा झारे। त्यसपछि हालान्डले खेलको अन्तिम समयमा गोल गर्दा आर्सनल निराश भयो।

एक पक्षीय जित दिलाउने क्रममा इन्जुरी समयमा सिटीका लागि हालान्डले  चौथो गोल गरेसँगै नयाँ कीर्तिमान बनेको छ। 

यससँगै उनले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। 

हालान्डले लिभरपुलका मोहम्मद सालाको रेकर्ड तोडे। सालाले सन् २०१७-१८ को सिजनमा ३८ खेलबाट ३२ गोल गरेका थिए। तर हालान्डले प्रिमियर लिगमा सिटीले अझै ७ खेल खेल्न बाँकी हुँदै सालाको कीर्तिमान तोडेका हुन्। 

हालान्डले यो रेकर्ड प्रिमियर लिगको ३१ खेलमै ३३ गोल गरेर आफ्नो नाममा बनाएका छन्। जारी सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगसहित सबै प्रतियोगितामा हालान्डले ४९ गोल गरिसकेका छन्। 

आर्सनललाई हराएपछि सिटी अब उपाधि होडमा २ अंक पछि छ। तर आर्सनलले २ खेल बढी खेलिसकेको अवस्थामा उपाधि सिटीतर्फ गएको विश्लेषण गर्न थालिएको छ। 

यस्तोमा सिटीले ३१ खेलबाट ७३ अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ। उता ३३ खेल खेलिसकेको आर्सनल ७५ अंकसहित पहिलो स्थानमा छ। 

अब सिटीले आगामी आइतवार लिगको १० औँ स्थानमा रहेको फुलह्यामविरुद्ध खेल्नेछ। यदि त्यसमा विजयी भए सिटी लिगको शीर्ष स्थानमा पुग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .