ad ad

खेल


काखेबच्चासँग खेल्न छाडेर मैदान उत्रिएकी बिनु बुढा मगर

काखेबच्चासँग खेल्न छाडेर मैदान उत्रिएकी बिनु बुढा मगर

तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
चैत १९, २०७९ आइतबार १२:२०, काठमाडौँ

घरमा साढे २ वर्षकी छोरी र १ वर्षका छोरा। आमा बिनु उनीहरुलाई ‘मिस’ गर्दै मैदानमा ब्याट घुमाइरहेकी छिन्, बल फ्याँकिरहेकी छिन्।  

क्रिकेटर बिनु बुढा मगरको खेलाडी जीवन यसैगरी चलिरहेको छ। 

बाहिर चर्चा कम भए पनि नेपाली क्रिकेटमा उनी राम्रै परिचित छिन्। नेपाली क्रिकेटको पहिलो पुस्ताकी बिनु सन् २००७ बाट निरन्तर क्रिकेटमा सक्रिय छिन्। 

गत बिहीबार त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्स कप टी–२० प्रतिस्पर्धा चलिरहेको थियो। जुन प्रतियोगितामा बिनुको क्लब सशस्त्र प्रहरीको एपीएफले उपाधिमाथि ह्याट्रिक गर्दैगर्दा बिनुले २ विकेट हात पारिन्। 

खेल सकिनासाथ मैदानमा उनले दुई सन्तानसँगै अनुहारमा मुस्कान मिसाएर तस्बिर खिचाइन्। 

आमा बनिसकेपछि कमै खेलाडी मैदानमा फर्किएका छन्। तिनैमध्ये पर्छिन् बिनु। 

पहिलो सन्तानपछि २०७७ मा मैदान फर्किएकी बिनु त्यो बेलामा उत्कृष्ट बलर नै बनेकी थिइन्। अर्को वर्ष उनले फेरि अर्को बच्चा पाइन्। र, फेरि अहिले उनी मैदानमा सक्रिय हुने प्रयास गरिरहेकी छिन्। 

‘अब बच्चाहरु पनि हुर्किँदै छन्, त्यसैले पनि खेल्छु जस्तो लाग्छ’, बिनु सुनाउँछिन्। 

परिवारको सपोर्ट
बिनुसामु बच्चा, घरपरिवारबाहेक आफ्नो प्रदर्शनमा निखारता थप्ने चुनौतीको पहाड छिचोल्नु छ। 

तर यी कुराले बिनुलाई कहिल्यै रोकेको छैन। सबैमा ध्यान दिँदै राम्रोसँग आफूलाई व्यवस्थित गर्न सकेकोमा उनी खुसी छिन्। 

‘परिवारको पनि राम्रो साथ छ। टोलीका साथीहरुले पनि राम्रो मद्दत गर्छन्’, उनले भनिन्, ‘जसले गर्दा खेलमा ध्यान दिन पाएकी छु।’ 

दुई साना काखेबालकलाई छाडेर हिँड्नुपर्दा बिनुलाई नराम्रो लाग्छ। तर उनको पारिवारिक ‘सपोर्ट’ले बिनुलाई शान्त मन र दिमागले निस्किन दिएको छ। 

‘बच्चाहरु पनि ज्ञानी छन्। घरबाट निस्किँदा पनि उनीहरु हाँसिरहेका हुन्छन्’, हाँस्दै बिनुले थपिन्, ‘फर्किँदा पनि उस्तै देख्छु, लाग्छ– उनीहरुले पनि सपोर्ट गरिरहेका छन्।’ 

घरका सबै सदस्यले बच्चा हेरिदिने गरेको उनी बताउँछिन्। प्रशिक्षणमा जाँदा पनि उनलाई परिवारको राम्रो साथ छ। 

बिनुका श्रीमान पनि एपीएफकै कार्यरत छन्। जो बिनुको खेल जीवनको सबैभन्दा ठूलो साझेदार बनेका छन्। 

‘फरक फिल्ड भए पनि उहाँ बुझ्ने हुनुहुन्छ। त्यही साथको कारण पनि खेल्न पाइरहेको छु’, बिनुले नेपालखबरसँग भनिन्।  

राष्ट्रिय टोलीमा फर्किने चाहना
बिहीबार कोशी प्रदेशमाथि एपीएफले धावा बोल्दै गर्दा बिनुले ४ ओभरमा १८ रन दिएर २ विकेट झारिन्। 

एपीएफले खेलेको पाँच खेलमा बिनुले तीन खेलमा ब्याटिङ र बलिङको मौका पाएकी थिइन्। जहाँ ४ विकेट आफ्नो नाममा गरिन्। 

बिनुभित्र त्यस्तो क्रिकेट मोह छ जसलाई उनी छाड्न सक्दिनन्। त्यही कारण उनी पुनः खेल जीवनलाई सक्रिय बनाउन हरतरहले लागिपरेकी छिन्। राष्ट्रिय टोलीमा फर्किनका लागि कोशिस गरिरहेकी छिन्। 

पछिल्लो समय बिनु टोलीको प्रारम्भिक प्रशिक्षणमा परे पनि टोलीमा स्थान बनाउनसकेकी छैनन्। 

बिनुले सन् २०१० मा चीनको ग्वान्झाउमा एसियन गेम्समा हङकङसँग खेलेकी थिइन्। जुन खेल नेपालले ७ विकेटले जितेको थियो। एसियन गेम्सकै जापानसँगको खेलमा बिनु एक रनमा आउट भएकी थिइन्।  

त्यसयताको राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेकी बिनु अझै पनि टोलीमा पर्न सक्छु भन्नेमा विश्वस्त छिन्। जसको लागि उनले कडा मिहिनेत गरिराखेकी छिन्। 

नेपाली र एपीएफ क्लबको पहिलो ब्याचकी खेलाडी बिनु जुनियर र सिनियर खेलाडीको मिक्सअपले टोलीले राम्रो प्रदर्शन गर्ने बताउँछिन्। 

खेलाडीको औसत सूचीमा परे पनि आफू टोलीको आवश्यकताअनुसार बलिङ र ब्याटिङ दुवैमा योगदान गर्न उनी तयार छिन्।

पहिले र अहिलेको नेपाली क्रिकेट 
नेपाली क्रिकेटको पहिलो पुस्ताकी बिनु पहिले र अहिलेको क्रिकेटमा धेरै नै फरक रहेको सुनाउँछिन्। 

खेलाडीले व्यक्तिगत रुपमा धेरै मिहिनेत गरिरहेको उनको अनुभव छ। 

‘पहिले नेपाली टोली धेरै राम्रो थियो। तर बीचमा केही खस्किएजस्तो देखिएको थियो’, उनले भनिन्, ‘तर अहिले धेरै राम्रो छ। खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन्।’ 

सन् २००७ र २००८ को समयमा नेपालले थुप्रै उपाधि जितेको थियो। त्यसले निरन्तरता नपाए पनि विजयको त्यो इतिहासमा आफूलाई पनि पाउँदा उनलाई गर्व लाग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .