ad ad

खेल


साहुखललाई ‘नर्भस ९९’ को अवरोध

साहुखललाई ‘नर्भस ९९’ को अवरोध

लक्ष्मी जि.सी
पुस १६, २०७६ बुधबार १२:३१,

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबको प्रदर्शन पछिल्ला केही खेलमा खस्किएको छ। सुरुवाती खेलमा बलियो देखिएको च्यासलले लिग चरणका ४ खेल सक्दा लगातार दोस्रो हार बेहोरेको छ।

क्लबका कप्तान सन्तोष साहुखल १ सय गोल गर्नबाट १ गोल मात्र टाढा छन्। ९६ गोलबाट लिगको सुरुवात गरेका कप्तान सन्तोषले सुरुवातको २ खेलमा ३ गोल गर्दै यो संख्यालाई ९९ पुर्‍याएका थिए।
पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयताका दुई खेलमा गोल गर्न सकेका छैनन्।

धेरैले ‘नर्भस ९९’ अर्थात् दबाबका कारण उनको मात्रै होइन क्लबकै प्रदर्शनमा असर परेको अनुमान लगाएका छन्।

तर च्यासलका प्रशिक्षक बालगोपाल साहुखल र कप्तान सन्तोष दुवै यसमा सहमत छैनन्। प्रशिक्षक बालगोपालले टोलीले राम्रो प्रदर्शन गर्न नसक्दा नै हार बेहोर्नुपरेको बताए।

‘बल पोजिसन मिलाउन सकेनौँ, जापानी खेलाडी बलियो नहुँदा पनि टोलीले गतिलो प्रर्दशन गर्न सकेको छैन,’ जावलाखेलसँग हारेपछि उनले भने, ‘खेलाडी बलमा राम्रोसँग भिडिरहेका छैनन्। मनोबल नै गिरेको हो कि भन्ने देखिएको छ र अब प्रशिक्षणमा केही मिहिनेत गर्नुपर्ने देखिन्छ।’

जावलाखेलविरुद्धको खेलमा अत्यन्त कम मौका पाएका सन्तोषले दोस्रो हाफमा गरेको प्रहार पोस्टबाट बाहिरियो।

‘सन्तोषको काँधमा बढी जिम्मेवारी आएको कारण पनि केही प्रेसरमा देखिएको छ। हामीले अहिलेसम्म टोलीमा सन्तोषको गोललाई लिएर छलफल गरेका छैनौं। हाम्रो टोली पछिल्लो समय केही अल्छी पनि देखिएको छ,’ प्रशिक्षक बालगोपालले भने।

सन्तोषले पनि टोलीको प्रदर्शन खस्कँदा आफू फरवार्ड भएपनि पछाडि आएर खेल्न बाध्य भएको बताए। ‘टोलीको प्रदर्शन खस्केको कारण आफैंलाई पनि गाह्रो भइरहेको छ। फरवार्ड भएपनि अझ तल झरेर टोलीलाई सहयोग गर्नुपरेको छ। यसले गर्दा गोल गर्न सकिरहेको छैन,’ उनले भने।

२०६० देखि लिग खेल्न थालेका सन्तोषले ४ फरक क्लबबाट घरेलु लिगमा खेलेका छन्। उनले खेल्न सुरु भएयता लिग आयोजना हुन थालेको यो १० औँ पटक हो। सय गोल पुर्‍याउने पहिलो खेलाडी बन्ने क्रममा रहेका सन्तोषलाई टोलीका अन्य खेलाडीले पनि गोलका लागि सघाइरहेका देखिन्छन्। तैपनि उनले गोल गर्न नसकिरहेकाले उनीमाथि सयौँ गोलको मनोवैज्ञानिक दबाब परेको अनुमान गर्न सकिन्छ।

च्यासल अब सोमबार विभागीय नेपाल पुलिस क्लबसँग भिड्दैछ। दशरथ रंगशालामा हुने सो खेलमा सन्तोषले इतिहास बनाउने अवसर पुनः पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .