क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको रिट निवेदनमा आजै सुनुवाइ हुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा रिट अन्तिममा पेसी तोकिएको छ।
खतिवडाको इजलासमा आज १५ वटा रिट छन्। ती मध्ये १३ वटाको सुनुवाई सकिएको छ। साढे २ बजेअघि खाजा ब्रेक रहेकाले त्यसपछि बाँकी दुई रिटमा सुनुवाई हुनेछ। अब एउटा रिटको सुनुवाईपछि सन्दीपको रिटको सुनुवाइमा पालो आउनेछ।
उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि बिहीबार निवेदन दिएका थिए।
जबरजस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
२० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएको छ।
विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्न उनले माग गरेका छन्। सन्दीपको पक्षमा आदेश आए शनिबार टोलीसँगै युएई प्रस्थान गर्नेछन्।
धरौटी बुझाएर फर्किएका सन्दीप राष्ट्रिय टिमबाट खेलिसकेका छन्। उनले आईसीसी लिग २ का चार खेलसमेत नेपालमा खेले। तर सोमबारदेखि यूएईमा हुने सिरिजमा भने जान नपाएपछि निवेदन दिएका छन्।
सन्दीपबिनै नेपाली टोली शनिबार यूएई प्रस्थान गर्ने तयारीमा छ। सर्वोच्चले सन्दीपमाथीको विदेश जान लागेको प्रतिवन्ध हटाए लैजाने क्यानको तयारी छ।
Shares
प्रतिक्रिया