माइकल भान लिंगेनले शतकीय पारी खेलेपछि आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले घरेलु टोली नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भयो।
नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए। करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए। सन्दीप लामिछानेले ३ विकेट लिए।
१० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे। सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए।
नेपालविरुद्ध विशाल योगफल तयार पार्ने क्रममा नामिबियाका माइकल १ सय ३३ रन बनाउँदै पवेलियन फर्के। लामो सट खेल्ने धुनमा रहेका माइकल करणको बलमा दिपेन्द्र सिंह ऐरिबाट क्याच आउट हुन पुगे।
१ सय ३७ बलको सामना गरेका माइकलले ९ चौका र ५ छक्क हान्दै १ सय ३३ रनमा आउट भए। नामिबियाका लागि सर्वाधिक रन हान्ने उनी दोस्रो खेलाडी समेत बनेका छन्। यसअघि माइकलले १ सय २१ रन हानेका थिए।
माइकलले १ सय १८ बलमा ६ चौका र ४ चौका मद्दतमा शतक प्रहार गरे। माइकलले आफ्नो करियरको तेस्रो शतक प्रहार गर्ने क्रममा नेपालविरुद्ध लगातार दोस्रो शतक हानेका हुन्।
तेस्रो विकेटका लागि माइकल भान लिन्गेन र कप्तान जिहार्ड इरास्मस १ सय २४ रनको साझेदारी गरेपछि नेपाल दबाबमा आएको थियो।
कप्तान इरास्मस ५६ रनमा पवेलियन फर्के। ७० बलको सामना गरेका उनले २ चौका र ३ छक्का हाने। कप्तान कुशल मल्लको बलमा सन्दीप लामिछानेले क्याच गर्दै साझेदारी तोडेका थिए।
लो–हान्ड्रे लोरेन्स ५ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए।
कार्ल ब्रिकेनस्टोक १३ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए।
जान फ्राइलिंक १३ रनमा करण केसीको बलमा बोल्ड आउट भए।
जान निकोन ८ रनमा आउट भए।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया