समाज


प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

पाल्पाको पर्यटकीय रानीमहल


नेपालखबर
फागुन २, २०७९ मंगलबार १२:३७, रामपुर (पाल्पा)

आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। प्रेमीप्रेमीकाको आज विशेष दिन। युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन्। 

प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन्। नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ।

आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ। कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज। यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन्। वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन्।

पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रमिल जोडी आकर्षित हुने गरेका छन्। यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन्। यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन्।

रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए। नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ। 

यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउँछन्। पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु ५० प्रवेश शुल्क कायम गरिएको छ। 

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल। करिब ११ रोपनी क्षेत्रफलमा रहेको यो रानीमहलमा २४ कोठा छन्। यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ। विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad