भोजपुरका विजय भुजेललाई ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले अनुबन्ध गरेको छ।
अघिल्लो सिजन अर्को 'ए' डिभिजन लिग फुटबल क्लब थ्री स्टारबाट खेलेका उनी यो पटक लिग च्याम्पियनमा आवद्ध भएका हु्न्।
भोजपुरमै फुटबल सिकेर आफूलाई निखारेका भुजेलले गत सिजन थ्री स्टारबाट खेल्दा आफ्नो प्रतिभा देखउने प्रयास गरेका थिए।
गतिलो खेल पूर्वाधार नभए पनि उनले पाएका अवसरलाई सदुपयोग गर्दै राष्ट्रियस्तरको फुटबलमा स्थान बनाउन सफल भएका हुन्।
विङ्गर र स्ट्राइकरका रुपमा फुटबल कौशल देखाउँदै आएका भुजेल भोजपुरबाट ए डिभिजन लिग खेल्ने सम्भवत: पहिलो खेलाडी हुन्।
जिल्लाबाट आउने फुटबलरहरुको यात्रा प्राय सी डिभिजनबाट सुरु हुने गरेको छ। आफ्नो खेल कौशलकै कारण २५ वर्षीय विजय थ्री स्टारपछि लिग च्याम्पियन मच्छिन्द्रको रोजाइमा परेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का जिल्ला कोच बिनम श्रेष्ठले विजयले आफ्नो क्षमताकै कारण ए डिभिजनका उत्कृष्ट क्लबमा अवर पाएका हुन्।
विजयको ए डिभिजन यात्राले भोजपुरका अन्य खेलाडीलाई पनि हौसला दिएको उनले बताए। कोच श्रेष्ठकै अगुवाइमा अहिले भोजपुरमा ग्रासरुट फुटबल प्रशिक्षण चलिरहेको छ।
प्रतिक्रिया