खेल


विश्वकप उपविजेता फ्रान्सका गोलरक्षक लोरिसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

विश्वकप उपविजेता फ्रान्सका गोलरक्षक लोरिसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

नेपालखबर
पुस २६, २०७९ मंगलबार ८:२४, काठमाडौँ

कतार विश्वकपको उपविजेता टोली फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। 

टोटनह्यामका कप्तान ३३ वर्षीय लोरिसले विश्वकप सकिएको तीन सातापछि फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो। 

लोरिसको कप्तानीमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो। 

लोरिसले भने, ‘मैले सबैथोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय फुटबलको यात्रा यहीँ रोक्ने निर्णय गरेको छु।’ 

फ्रान्सेली पत्रिकासँग कुरा गर्दै लोरिसले थपे, ‘मलाई लाग्छ- यो घोषणा गर्नु महत्वपूर्ण छ, किनकि युरो कप २०२४ को छनोट सुरु हुँदै छ।’ 

युरोकप २०२४ को छनोटमा फ्रान्स जिब्राल्टर, ग्रिस, नेदरल्यान्ड्स र आयरल्यान्ड रहेको समूहमा छ। 

लोरिसले सन् २००८ को नोभेम्बरमा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलमा २१ वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। 

लोरिसले फ्रान्सका लागि १ सय २१ खेलको राष्ट्रिय टोलीको कप्तानी गर्दै कीर्तिमान आफ्नो नाममा गराएका थिए। विश्वकपको फाइनलमा लोरिसले फ्रान्सका लागि १४५औँ क्याप जितेका थिए। जुन फ्रान्सको टोलीका कीर्तिमान पनि हो। 

लोरिसले अगाडि भने, ‘मैले विश्वकपको अन्त्यमा नै यसबारेमा सोचिरहेको थिएँ, अहिले प्रतियोगिताहरु बढ्दै गएकाले यो निर्णय लिन बाध्य भएँ।’ 

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो सम्झौता २०२६ सम्म लम्ब्याएपछि लोरिसले सन्न्यास लिने घोषणा गरेका हुन्। डिडियर र लोरेन्सको सम्बन्ध त्यति राम्रो नभएको चर्चा यसअघि पनि चल्ने गरेको थियो। 

लोरिसले भने, ‘एउटा समय आउँछ जब फ्रान्सेली टोली कुनै एक व्यक्तिका लागि हैन। अब फ्रान्सको टोली हेर्नका लागि माइक गैगनन पनि तयार छ। एउटा खेलाडी साढे १४ सिजनल फ्रान्सको गोलकिपर हुनु ठूलो कुरा हो। तर अब म मानसिक रुपमा थकित भइसकेको छु, त्यसैले आफ्ना लागि केही समय निकाल्न सकेको अवस्थामा केही वर्ष उच्च लयमा खेलिरहन सक्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .