राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्र्तगत बिहीबार २ खेल हुँदै छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्याङ्दी क्लब तथा काठमाडौंस्थित दशरथ रंगशालमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छन्।
गत सिजनको विजेतासमेत रहेको मनाङ बीबीसीलाई पराजित गर्दै शीर्ष स्थानमा फर्कने लक्ष्यमा हुनेछ। खेल मध्याहन १२ बजे सुरु हुनेछ। अपराजित रहेको मनाङको दुई खेलबाट ६ अंक छ। गोल अन्तरमा दोस्रो स्थानमा छ।
मनाङले लिगको पहिलो खेलमा एपीएफलाई २-० तथा आर्मीलाई १-० गोल अन्तरले पराजित गरेको थियो। बीबीसी पनि मनाङलाई स्तब्ध पार्दै ३ अंक जोड्ने दाउमा छ।
राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लामो समय मनाङमा बिताएका अनिलको कप्तानीमा रहेको ब्रिगेड मनाङलाई कडा टक्कर दिने लक्ष्यमा छ। पहिलो खेलमा मछिन्द्रसँग २-० ले पराजित बीबीसीले दोस्रो खेलमा फ्रेन्ड्सलाई २-० ले हराएको थियो। ब्रिगेड एक जित र एक हारसहित ३ अंक बटुलेको छ।
यस्तै बिहीबारै हुने अर्को खेलमा जावलाखेल र संकटाबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ। थ्रीस्टारसँग पहिलो खेलमा अंक खोस्न सफल जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरको थियो।
च्यासलसँग २-० पराजित संकटाले दोस्रो खेलमा एनआरटीलाई १-० ले हराएको थियो। जावलाखेलको २ खेलबाट ४ अंक छ। संकटाको २ खेलबाट ३ अंक छ।
प्रतिक्रिया