ad ad

खेल


किन घट्यो फेन्चाइज क्रिकेट लिगको लोकप्रियता?

किन घट्यो फेन्चाइज क्रिकेट लिगको लोकप्रियता?

लक्ष्मी जि.सी
पुस १६, २०७९ शनिबार ९:४४, काठमाडौँ

क्रिकेट नेपालमा केही लोकप्रिय खेल मध्येमा पर्छ। राष्ट्रिय क्रिकेट टोलीले प्राप्त गरेको सफलता, टी२० विश्व कपमा सहभागिता, एक दिवसीय मान्यतालगायतका सफलताले क्रिकेटप्रति दर्शकको रुचि बढेको विश्वास गरिन्छ। नयाँ पुस्तामा पनि क्रिकेट प्रति विशेष लगाव देखिन्छ। 

अझ फ्रेन्चाइज लिग आयोजनाले क्रिकेटको लोकप्रियतालाई थप उचाई दिएको थियो। काठमाडौंमा ईपीएल, धनगढीमा डीपीएल र पोखरामा पीपीएल आयोजनाले क्रिकेटको लोकप्रियता थप विस्तार भएको थियो। विश्व क्रिकेटमा नाम चलेका खेलाडीको सहभागिताले पनि त्यो रौनकलाई बढाएको थियो। फ्रेन्चाइज लिग सञ्चालनका दौरान चर्चा पनि त्यतिकै हुने गरेको थियो।

नीजि स्तरमा हुने गरेका ती तीनै वटा फ्रेन्चाइज लिग स्थगित भएको छ भने नयाँ लिग सुरु भएको छ। एउटा देशमा एउटा मात्र फ्रेन्चाइज लिग गर्न सकिने भन्दै नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) आफैंले नेपाल टी २० लिग आयोजना गर्ने निर्णय लियो।

त्यही लिग अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ। तर, क्रिकेटका लागि दुर्भाग्य नै भन्नुपर्छ, विगतमा हुने जस्तो फ्रेन्चाइज लिगको चर्चा यसपटक हुन सकेको छैन। त्यसमा विविध कारण हुन सक्छन्। तर मुख्यतः यो लिग आयोजनाको घोषणादेखि पटकपटक स्थगित, कानुनी अड्चन, अनेक शंका उपशंका, कमजोर व्यवस्थापन र अहिले दर्शकको कम उपस्थितिले क्यानको प्रयास सफल हुनेमा शंका देखिएको छ। 

ईपीएलको फाइनलमा क्षमताभन्दा बढी दर्शक कीर्तिपुर पुगेको इतिहास पनि छ। अहिले दर्शकको उपस्थिति न्यून रहेन गरेको छ। यसपटक सुरुमा ३ सय रुपैयाँ टिकट दर तोकिदा दर्शकको उपस्थिति शून्य भएपछि नि:शुल्क प्रवेश दिन समेत आयोजक बाध्य भएको थियो।

दर्शकको उपस्थित, खेलाडीको प्रदर्शन र प्रचार प्रसारले लिग लोकप्रिय हुने गर्थ्यो। समाजिक सञ्जालमा पनि त्यतिकै चर्चा हुने गर्थ्यो। यसपटक भने त्यस्तो रोमाञ्चकता देखिएको छैन। 

क्यानले आयोजनाको घोषणादेखि नै अन्योल र विवादमा परेको नेपाल टी२० लिगको व्यवस्थापन पनि भद्रगोल देखिएको छ। क्यानले बिना टेण्डर भारतिय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग ८ वर्षका लागि ३३ करोडमा रुपैयाँमा नेपाल टी२० आयोजनाको सम्झौता गरेको थियो। 
पूर्व निर्धारित मिति तीनपटकसम्म सरेर लिग गत साता सुरु भएको थियो। अन्यौलताका बिचमा सुरु भएको लिगमा टोलीहरुको प्रदर्शन पनि न सोचे जस्तो छ न त दर्शकको उपस्थिति नै। 

सुरुवातका खेलमा टिकट काट्ने दर्शकभन्दा पर्खाल बाहिरबाट हेर्ने दर्शक संख्या धेरै थियो। त्यसैलाई मध्यनजर गर्दै हुनुपर्छ सेभेन थ्री स्टोर्टस्ले प्रवेश निशुल्क गरेको थियो। तर शुक्रबारदेखि फेरि दर्शकले लिग हेर्नका लागि टिकट लिनुपर्ने भएको छ।  यसपटक टिकटको मूल्य १ सय रुपैयाँ तोकिएको छ। शुक्रबार र शनिबार बिदा परेकाले दर्शकको संख्या बढ्ने अपेक्षाका साथ टिकट काट्नुपर्ने गरिएको अनुमान गर्न सकिन्छ। 

टिकट किनेर क्रिकेट हेर्न पुगेका दर्शकबाट फ्रेन्चाइज टोलीको प्रर्दशन उत्साहपूर्ण हुन नसकेको गुनासो सुनिन्छ। यसअघि जस्तो प्रचार हुन नसकेर पनि दर्शकको उपस्थिति कम भएको हुन सक्छ। 

विगतमा फ्रेन्चाइज लिग हेर्ने गरेका दर्शकका लागि यसपटकको नेपाल टी२० लिग प्रदर्शनका हिसाबले पनि खल्लो लागेको हुन सक्छ। विराटनगर सुपर किंग्सका उपकप्तान रोहित पौडेलले पनि आफूहरुले राम्रो प्रर्दशन गर्न नसकेको कारण पनि दर्शकको संख्यामा कमी आएको बताएका थिए। 

यस्तै काठमाडौ किंग्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफूहरुले राम्रो खेल खेल्न नसकेका कारण नै दर्शक कम भएको सुनाए। उनले थपे, ‘खेलमा जित्दा मात्र हैन हार्दा पनि सर्पोट गर्न दर्शकलाई आग्रह गर्न चाहन्छु।’

यस्तै उनले दर्शकलाई मैदानमा आएर खेल हेरिदिनसमेत अनुरोध गरेका छन्।

घरेलु मैदानमा नेपाली ब्याटर जम्न नसक्दा विदेशी खेलाडीको ब्याट भने चलिरहेको छ। मार्की तथा राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन सोचे जस्तो हुन सकेको छैन। व्यवस्थापन निकै फितलो देखिन्छ। सुरुमा टेलिभिजनलाई समाचारका लागि भिडियो खिच्न दिने भनिएको थियो। पछि त्यसमा प्रतिबन्ध लगाएर आयोजक आफैंले भिडियो फुटेज पठाउने गरेको छ। 

कानुनविपरीत विदेशी खेलाडीलाई श्रम स्वीकृति विना खेलाएका कारण पनि क्यानको आलोचना भइरहेको छ। लिगको व्यवस्थापनमा सेभन थ्री स्पोर्टसका जिम्मेवारहरु हाबी हुँदा क्यानका पदाधिकारी भूमिकाविहीन छन्। 

कतिपयले लिग गर्नका लागि गरेको आरोप क्यानमाथि लगाउने गरेका छन्। स्थापित ३ फ्रेन्चाइज लिगलाई रोकेर आफैंले आयोजना गरेको लिगबाट क्यानले जसभन्दा बढी अपजस पाएको छ। यस्तै अवस्था रहने हो भने फ्रेन्चाई लिगको लोकप्रियता बढ्नुको सट्टा अझै घट्ने खतरा छ। यसले समग्र क्रिकेटको लोकप्रियतामा असर पर्न सक्छ। तस्बिरहरु- क्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .