नेपाल टी २० लिगको आधा खेल सकिँदा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ। लगातार पाँच खेलमा हार व्यहोरेको पोखराले लिगमा पहिलो जितको स्वाद लिन पाएको हो। जितसँगै पोखराले लिगको प्ले अफ खेल्ने सम्भावना जीवित राखेको छ।
फारवेष्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले ५ बल अगावै ७ विकेट गुमाएर भेट्टायो। शुक्रबार भएको खेलमा पोखराले फारवेष्टलाई ३ विकेटले पराजित गर्दै अंक तालिकामा २ अंक जोडेको छ। फारवेष्टले भने लिगमा चौथो हार व्यहारेको छ।
पहिलो विकेटका लागि ओपनर सुमित महर्जन र आशिफ शेखले ६५ रनको साझेदारी गरे। २२ बलको सामना गरेका सुमितले ५ चौका र २ छक्का हाने।
तेस्रो विकेटका लागि आशिफ शेख र कुशल मल्लले ५२ रनको साझेदारी गरे। ३३ बलको सामना गरेका आशिफ २ चौका र २ छक्का हान्दै करण केसीको हातबाट क्याच आउट भए।
कुशल मल्लले ४० रनको योगदान दिए। उनले २२ बलमा ५ छक्का हाने। सिद्धान्त लोहनी २३ रन थपे। अमिर हम्जाले १२ तथा कप्तान उपुल थरांगा ९ रनमा आउट भए।
फारवेष्टका करण केसी, प्रकाश जैसी र उमेर अलिले समान २ विकेट लिए। भुवन कार्कीको नाममा एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको फारवेष्टले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो।
फारवेष्टका उमैर अलीले सर्वाधिक ४२ रनको योगदान दिए। २६ बलको सामना गरेका उनले ५ छक्का हाने। ओपनर देव खनाल ३३ र हसिम अन्सारी १७ रनमा पवेलियन फर्के। ३१ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने।
हसिमले ७ बलमा २ चौका र १ छक्का हाने। कप्तान हस्मतुल्लाह शाहिदी ४ रनमा आउट भए। भिम सार्की १७, विनोद भण्डारी ११ र हरिशंकर शाह ५ रनमा आउट भए।
रसिद खान ३२ र प्रकाश जैसी शुन्य रनमा क्याच आउट भए। करण केसी १२ रनमा नटआउट रहे।
पोखराका लागि जहिर खान एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चे। तुल थापा र अमिर हम्जाले समान २ विकेट झारे।
विपिन खत्री र कुशल मल्लले एक एक विकेट आफ्नो नाममा गरे।
Shares

प्रतिक्रिया