ad ad

खेल


कता जालान् इन्जो फर्नान्डेज? भित्र्याउने दौडमा चार ठूला क्लब

कता जालान् इन्जो फर्नान्डेज? भित्र्याउने दौडमा चार ठूला क्लब

अर्जेन्टिनी फुटबलर इन्जो फर्नान्डेज। तस्बिर : एजेन्सी


नेपालखबर
पुस १५, २०७९ शुक्रबार १८:३७, काठमाडौँ

युरोपमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा धेरै चर्चामा रहेका खेलाडी हुन्– बेन्फिकाका मिडफिल्डर इन्जो फर्नान्डेज।

कतारमा आयोजित फिफा विश्वकपअघि उनको अवस्था यस्तो थिएन। तर, यो विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन गरेको प्रदर्शनपछि धेरै क्लबले उनलाई भित्र्याउन चाहेका छन्। 

२१ वर्षीय फर्नान्डेज यो सिजनमा बेन्फिका र अर्जेन्टिनाको टोलीमा निकै व्यस्त छन्। यस क्रममा उनले आफ्नो लयमा एकरुपता पनि कायम गरेका छन्।

यो सिजनमा उनले चार गोलका लागि भूमिका निर्वाह गरेका छन्। च्याम्पियन्स लिगको छनोट र समूह चरणमा उनले ९ खेल खेलेका छन्। त्यस क्रममा उनले चार गोलमा प्रत्यक्ष भूमिका निर्वाह गरेका छन्। 

उनी गत जुलाईमा मात्रै रिभर प्लेटबाट बेन्फिकामा आवद्ध भएका थिए। उनलाई बेन्फिकाले रिभर प्लेटबाट केवल १२ मिलियन युरोमा भित्र्याएको थियो।

निकै छिटो बेन्फिकामा लय समातेका उनी एक सिजनमै अर्को क्लबमा जान सक्ने सम्भावना देखिएको छ। उनलाई भित्र्याउन कुन क्लब गम्भीर छ त? 

तर विश्वकपमा चम्किएपछि बेन्फिका आएको पाँच महिनामै उनको मूल्य १२० मिलियन युरो आसपास पुगेको छ।

उनलाई भित्र्याउनका लागि बेन्फिकाले मागिरहेको यति ठूलो रकम तिर्न इङ्लिससहितका ठूला क्लब तयार भइरहेका छन्। 

१. चेल्सी 
इन्जो फर्नान्डेजलाई भित्र्याउन इङ्लिस क्लब चेल्सी इच्छुक देखिएको छ। चेल्सी जनवरी ट्रान्सफर विन्डोमा कम्तीमा एकजना मिडफिल्डर ल्याउने दाउमा छ।

उसले फर्नान्डेजलाई बेन्फिकाले तोकेको १२० मिलियन युरो तिर्न तयार भएको गोलडटकमले जनाएको छ। विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएसँगै उनको मूल्य आकाशिएको हो।

जसमा जुड बेलिङ्घमका लागि प्रयास गरिरहेको चेल्सीले फर्नान्डेजका लागि पनि कुरा अघि बढाइरहेको छ। जर्जिन्हो र माटेओ कोभाकिकप्रति चेल्सीका प्रशिक्षक ग्राहम पोटरको विश्वास कमजोर बन्दै गएको देखिन थालेको छ।

अर्कातिर एनगोलो कान्टे पनि क्लब छाड्ने तरखरमा छन्। यस्तो अवस्थामा चेल्सीमा फर्नान्डेजको लागि पर्याप्त स्थान हुनेछ। चेल्सी उनलाई टोलीमा ल्याउन वित्तीय रुपमा पनि बलियो छ।

२. म्यानचेस्टर युनाइटेड 
स्पेन र अर्जेन्टिनाका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार म्याचेस्टर युनाइटेड पनि फर्नान्डेजलाई टोलीमा ल्याउने प्रयासमा छ। यद्यपि यी मिडफिल्डरलाई युनाइटेडले कसको स्थानमा राख्न सक्छ भन्ने स्पष्ट छैन। अहिले नै युनाइटेडको मिडफिल्डमा क्रिस्टियन एरिक्सन र क्यासमिरोजस्ता खेलाडी छन्। 

त्यसमाथि म्यानचेस्टर युनाइटेडले समरमा आफ्नो अधिकांश रकम मुख्य स्टाइकरको लागि खर्च गर्न सक्छ। क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि अब जनवरीमा युनाइटेडले उल्लेख्य रकम खर्च गरेर टोलीमा मुख्य स्टाइकर ल्याउने तयारी गरिरहेको छ। यद्यपि युनाइटेडले फर्नान्डेजलाई पनि क्लबमा ल्याउने सक्ने सम्भावना कायमै छ। 

३. रियल मड्रिड 
अहिलेको अवस्थामा रियल मड्रिड बेलिंघम वा फर्नान्डेजमध्ये एकजनालाई टोलीमा ल्याउने तयारीमा छ। लोस ब्लान्कोस अहिले टोलीका मिडफिल्डर लुका मोड्रिच र टोनी क्रुजबिनाको टोली निर्माण तयारीमा छन्। आगामी सिजन वा दुई सिजनपछि यी दुई खेलाडीले मड्रिड छाड्न सक्ने अनुमान गरिएको छ। 

औरेलियन चोउमेनी र एडुवार्ड कामाभिङ्गा पनि टोलीमा रहेको अवस्थामा फर्नान्डेजलाई भित्र्याउन सकेको अवस्थामा रियलको टोली थप बलियो र ऊर्जावान् हुन सक्छ।

४. लिभरपुल 
लिभरपुल पनि रियल मड्रिडकै पोजिसनमा छ। यो टोलीको मिडफिल्डमा पनि एक युवा र गतिशील खेलाडी आवश्यक छ।

यसले थियागो र जोर्डन हेन्डर्सनको जोडीलाई थप ऊर्जा प्रदान गर्न सक्छ। यद्यपि लिभरपुलले फर्नान्डेजभन्दा पनि बेलिंघमलाई ल्याउनेतर्फ धेरै जोड दिइरहेको छ।

उसको दोस्रो रोजाइ अवश्य पनि फर्नान्डेज हुन्। उनी लिभरपुल आएमा राम्रो प्रदर्शन गर्नुका साथै लिभरपुलको मिडफिल्डलाई सन्तुलित बनाउन सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .