ad ad

खेल


लिगले तान्न सकेन दर्शक, एन्फाले ल्यायो आकर्षक पुरस्कारहरु

लिगले तान्न सकेन दर्शक, एन्फाले ल्यायो आकर्षक पुरस्कारहरु

लक्ष्मी जि.सी
पुस ८, २०७६ मंगलबार १२:४७,

काठमाडौमा यतिबेला शहिद स्मारक ए डिभिजन लिग जारी छ। लिग अन्तर्गत २ चरणका खेल सम्पन्न भइसक्दा समेत दशरथ रगंशाला होस् वा सातदोबाटोस्थित एन्फा मैदान दुवैमा न्यून दर्शक छन्।

दशरथ रगंशाला त्यही मैदान हो, जहाँ २ साताअघि १३औं दक्षिण एशियाली खेलकुद (साग) हुँदा दर्शक अटाईनअटाई थिए। नेपालमा लामो समय खेल नहुँदा पनि फूटबलप्रति दर्शकको ‘क्रेज’ चाहिँ उस्तै छ भन्ने सागले प्रमाणित गरको थियो।

सागको समयमा १७ हजार क्षमता रहेको रगंशाला खचाखच भरिएको थियो भने अहिले मुस्किलले २ सय दर्शक खेल हेर्न आउने गरेका छन्।

ललितपुर सातदोबाटोको एन्फा मैदानमा ३ हजार क्षमताको प्यारापिटको हालत पनि उस्तै छ।

गतवर्ष रेलिगेशन बिनाको लिग आयोजना गरेर ४ वर्षपछि पुनः लिगलाई निरन्तरता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसवर्ष रेलिगेसन हुने नियमसहित लिग आयोजना गरेर दर्शक फर्काउने अपेक्षा गरेको थियो।

तर दर्शकको उपस्थिती कम भएपछि एन्फाले विभिन्न पुरस्कारको घोषणा गरेर दर्शकलाई लोभ्याउन खोजेको छ। एन्फा महासचिव ईन्द्रमान तुलाधर भने दर्शक कम भएको मान्न तयार छैनन्।

LeagueFootball111

उनले भने, ‘हामीलाई त्यस्तो लाग्दैन, लिगमा जति दर्शक छन् त्यो अपेक्षा गरे अनुसार नभएपनि सन्तोषजनक नै छन्। लिगमा यस्तै हुने हो, पहिले पनि यस्तै हुन्थ्यो।’
उनले थपे, ‘दर्शकको पनि चाहना हुन्छ, कुन खेल हेर्ने कुन नहेर्ने, उनीहरुको चाहना अनुसार आएका छन्। त्यसैले कम भन्न मिल्दैन। अझै थुप्रै खेलहरु बाँकी छन् दर्शक आउँछन्।’

दशरथ रगंशालामा लिग फर्कदा खेलाडी र खेल पदाधिकारीमा छुट्टै उत्साह थियो। तर, त्यो उत्साह खेल सुरु भएपछि देखिदैन।

लिग खेल्नकै लागि जापानबाट आएका च्यासल युथ क्लवका खेलाडी सन्तोष शाहुखल पनि यसमा सहमत छन्। ‘अहिले दर्शक निकै कम छन्। पहिले लिग भन्ने वित्तिकै दर्शकको जुन उत्साह थियो त्यो अहिले देखिदैन। अहिले त दर्शक नै छैनन् भन्दा पनि हुन्छ,’ उनले थपे।

सागका बेला दर्शकको भेल उर्लंदा रगंशालाको प्यारापिटमात्र भरिएन, त्रिपुरेश्वर चोकमा समेत सयौं दर्शकले बाहिर राखिएको ठूलो स्क्रिनमा हेरेर रमाएका थिए।

‘हामीपनि सन्तुष्ट छैनौं। तर लिगमा हुने यस्तै हो। देशकै टिम खेल्दा जति दर्शक हुन्छन् त्यति क्लवको खेलमा हुदैनन्।’ एन्फा प्रवक्ता किरण राई भन्छन्, ‘कारण हामी राष्ट्रप्रेमी धेरै छौ, त्यसैले देशको खेलमा राष्ट्रियता धेरै झल्कने भएर दर्शकको उपस्थिती बढ्ने हो। तर क्लवमा यस्तो हुदैन त्यही भएर अहिले क्लवको खेल हुँदा उनीहरु भएनन् त्यसैले कम देखिएको हो।’

दर्शक संख्या कम भएको प्रवक्ता राई पनि स्वीकार्छन्। ‘जति दर्शक हुनुपर्ने हो त्यो नभएको हामीले पनि महसुस गरेका छौ। त्यसैले एन्फाले विभिन्न प्याकेजको घोषणा गरेको छ।’ दर्शक त पहिलेका जस्तै हुन्। तर धेरै दर्शक हामीले आर्कषित गर्न सकेनौं। उनीहरुलाई रगंशालासम्म कसरी लाने भनेर छलफल गरिरहेका छौ।

यसबाट लिगमा क्लवको समर्थन बढाउनुपर्ने आवश्यकता देखिएको राईको बुझाई छ। ‘लिगमा क्लवको खेल हुने हो। क्लवको समर्थक कम भएका कारण पनि दर्शकको संख्या पनि कम भएको हो। अब हामीले क्लवसँग बसेर पनि छलफल गर्नेछौ।’

दर्शक तान्न एन्फाको प्याकेज
एन्फाले दर्शकलाई मैदानसम्म तान्न पुरस्कारको घोषणा गरेको छ। गत मंसिर २८ गतेदेखि शुरु भएको लिगमा दर्शकको उपस्थिती कम भएपछि एन्फाले पुरस्कार दिने घोषणा गरेको हो। एन्फाले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै दर्शकलाई हरेक खेलपछि र प्रत्येक राउण्ड सकिएपछि पुरस्कार दिने जनाएको हो।

anfa officialsमंगलबार पुरस्कार घाेषणा गर्दै एन्फाका अधिकारीहरू।

एन्फाले प्रत्येक राउण्डको समाप्तीमा २ सयको टिकट खरिद गर्ने २० जनालाई आकर्षक पुरस्कार दिने निर्णय गरेको छ।

त्यस्तै ५ सयको टिकट किन्ने ५ जना दर्शकलाई राष्ट्रिय टोलीको जर्सी प्रदान गर्ने एन्फाका महासचिव ईन्द्रमान तुलाधरले जानकारी दिए।

एन्फाले तेस्रोदेखि १३औं राउण्डसम्म २ सय ७५ जना दर्शकलाई पुरस्कार दिने घोषणा गरेको हो। यस्तै लिग सकिएपछि २ सय र ५ सयको टिकट खरिद गर्ने १–१ जनालाई नेपाली राष्ट्रिय टोलीसँग विदेश भ्रमण गर्ने अवसर दिनेछ।

यस्तै २ सय र ५ सयको टिकट किन्ने १५ जनालाई विश्पकप छनोट अन्तर्गतको नेपाल र अष्ट्रेलियाबीचको म्याचको भिआइपी प्यारापिटको टिकट दिनेछ।

साथै २ सय र ५ सयको टिकट किन्ने ५०–५० जनालाई साधारण प्यारापिटको टिकट दिइनेछ। साथै नेपाल र चाइनिज ताइपेईको म्याचका लागि पनि २ सय र ५ सयको टिकट किन्ने ५०–५० जनालाई साधारण प्यारापिटको टिकट उपलब्ध गराउनेछ।

एन्फाले घोषणा गरेको यो योजनाले दर्शक तान्नेमा एन्फा प्रवक्ता राई ढुक्क छन्। उनले भने, ‘कम्तीमा ५–७ हजार दर्शक दैनिक मैदानमा आए सन्तुष्ट हुन सकिन्थ्यो, हेरौ के हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .